Logo
Logo

वर्षाले हुम्लामा २० घर भत्किए, एक सय घर उच्च जोखिममा



हुम्ला । आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।

घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । घर भत्किए पनि मानवीय क्षति भने नभएको उहाँले जानकारी दिए । ६ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल वर्षाले एक घर भत्किएको छ भने लाखौँको क्षति भएको छ । यता सर्केगाड गाउँपालिका–४ साँयामा ११ घरमा क्षति गरेको बताइएको छ । अदानचुली गाउँपालिका–१ कल्खेमा तीनवटा घरमा पहिरोले क्षति गरेको छ ।

वर्षाका कारण वडा नं १ दशरथ महतारा, धनलाल भियाल र मानबहादुर महाताराको गरी तीनवटा घरमा क्षति गरेको बताइएको छ ।

यस्तै हुम्लाका विभिन्न स्थानीय तहमा रहेका १०० घर पहिराको उच्च जोखिममा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ को थालीमा रहेका ५० घर पहिराको उच्च जोखिममा रहेको स्थानीय तारावीर रावलले जानकारी दिए ।

उनका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाले थालीगाउँका ५० घरधुरी पहिराको उच्च जोखिममा पर्नुका साथै उनीहरूलाई आफन्तको घरमा सारिएको छ । पहिराले खेतीयोग्य जमिनसमेत बगाइसकेको र घर पनि पहिराको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दामा सङ्कट सिर्जना भएको छ ।

यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–४ लौठीमा ३० घरपरिवार पहिरोको उच्चमा परेका छन् । लौठीगाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहे पनि अहिलेसम्म क्षति नगरे पनि उच्च जोखिममा रहेको यहाँका स्थानीय जयराज सज्यालले जानकारी दिए । वर्षाले यस क्षेत्रमा भौतिक संरचनादेखि अन्य बालीनालीसमेत क्षति गरेको उनले बताए ।

यस्तै अदानचुली–२ खलेसेरा गाउँका २० घर पहिराको जोखिममा परेका छन् । गत वर्ष यस क्षेत्रका चार घर पहिरो परी पूर्णरूपमा क्षति भएको थियो । पहिरो पिडीतलाई सम्बन्धित निकायले कुनै सहयोग नगरेको यहाँका लगबहादुर बुढाले बताए । अहिले पनि २० घर पहिराको जोखिममा रहेको उनले बताए ।

यसपटकको वर्षाले हुम्लामा कृषकले घर भित्र्याउन लागेको धानबाली, गहुँ, जौँमा क्षति पुगेको छ । पाकिसकेको बाली खेतमै रहेको र लगातरको वर्षाले कुहिएर खेर जाने भन्दै यहाँका किसानले चिन्ता व्यक्त गर्न थालेका छन् ।

वडा–२ को खलेसेरामा धानबाली, मकै, कोदोलगायत अन्य तरकारीजन्य खाद्यान्नसँगै जमिनसमेत बगाएको छ । यता अदानचुली वडा ३ मा रहेको हालै मात्र बनाएको महिला भवनसमेत भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस्