Logo
Logo

सञ्चारगृह सरकारप्रति होइन, जनतामा उत्तरदायी बन्नुपर्छ : सञ्चारमन्त्री


- दृष्टि न्युज/संवाददाता


२६औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौ आयोजित कार्यक्रममा सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारिता सेनानी पुरस्कारबाट पत्रकार धर्मेन्द्र झालाई सम्मान गर्दै ।

काठमाडौं, २० बैशाख । सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन, जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन् ।
१६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । उनले प्रेसमाथि अंकुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने भन्दै आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने दावी गरे । उनले सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने पनि बताए ।
सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने उनले बताए । मन्त्री बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त भएको बताए । साथै, समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वासआर्जन गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संख्यात्मक हिसाबले नेपाली मिडिया बढेको बताउँदै संख्या बढेसँगै गुणस्तर खस्किएको बताए ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्ष हरिहर विरहीलगायतले शसस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारबाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए । प्रेस स्वतन्त्रता उल्लंघन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उनीहरुको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्