Logo
Logo

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : पौडेल



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन् ।

नेपाली कांग्रेस भिमाद नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताएका हुन् ।

‘कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।’ उनले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।’

उनले दुई तिहाई मत प्राप्त कम्युनिष्ट पार्टी विभाजित भए पनि कांग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताए । ‘कांग्रेसको प्रमुख विपक्षी कम्युनिष्ट पार्टी हो’, उनले भने ‘अरु फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ । हामी आफैमा सजग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्