विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ « Drishti News – Nepalese News Portal
Logo
साहित्य

विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ


श्याम रिमाल


काठमाडौं । बितेर जानेहरूका सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्ने चलन बढ्दै गएको छ । वर्तमान र भावी पुस्तालाई तिनका योगदानबारे सम्झाउन गरिने यस सिर्जना कर्मले इतिहासको पनि संरक्षण गर्न भूमिका खेल्छ । प्रौढ व्यक्तिको लामो इतिहास होला, युवाको छोटो । तथापि, ती समाजका सम्पत्ति हुन् र यस्तो प्रकाशन कठिन काम भएपनि अनिवार्य देखिन्छ ।

नेपाली राजनीतिमा कमैमात्र राजनीतिक कार्यकर्ता वा राजनीतिकर्मी वा राजनीतिज्ञ विकासकाबारे बहस चलाउन रुचि राख्थे वा राख्छन् । धेरैजसो राजनीतिकर्मी राजनीतिक सिद्धान्त, दर्शन वा इतिहासमा रुचि राख्ने खालका हुन्छन् । राष्ट्रिय जनवादका प्रणेता तुल्सीलाल अमात्य अर्थशास्त्री भएकाले उनी पञ्चायती व्यवस्थाको विरोध अर्थतन्त्रका तथ्यांक प्रस्तुत गरेर गर्दथे ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालमा पनि त्यो खुबी थियो र छ । नेता डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी आदिको विद्यावारिधि नै अर्थशास्त्रमा भएकाले स्वाभाविक रूपमा अर्थतन्त्रमा बहस गर्न सक्नेमा परिहाले । छोटो समयमै दिवंगत नेकपा एमालेका नेता रवीन्द्रप्रसाद अधिकारी (२०२६–७५)ले पनि त्यो सम्भावना देखाइरहेका थिए ।

युवा वामनेता अधिकारीका सम्झनामा प्रकाशित ‘स्मृतिमा रवीन्द्र अधिकारी’ (रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान, पोखरा, २०७७)ले नेपालको वामपन्थी आन्दोलन र संसद् गतिविधिका धेरै कुरा समेटेको छ । त्यसभन्दा बढी नेपालको विकास र समृद्धिकाबारे निकै सूचना पस्केर राजनीतिलाई विकाससँग जोड्ने प्रयास गरेको छ । विद्यालय जीवनदेखि नै मेहनती र प्रतिभाशाली अधिकारी कलेज जीवनमा जुझारू भएर निस्कनुभयो र आफ्ना क्षेत्रमा आफ्ना समयमा केन्द्रविन्दु बन्न सफल भए ।

‘उत्कृष्ट सांसद’ अधिकारी समितिमा काम गरेकै कारण मिडियामा छाइरहे । आफ्नै योग्यताले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका अधिकारी मन्त्रित्वकालका पनि केही अविष्मरणीय विषय छन् । आफ्नो नियुक्ति (२०७४ चैत ३)को केही दिनमै उनले हरेक जिल्लामा एउटा पर्ने गरी सय गन्तव्य घोषणा गरे ।

स्कूल र कलेजमा विभिन्न जिम्मेवारीका साथ विद्यार्थी र राष्ट्रिय राजनीतिमा सँगसँगै लागेका अधिकारी कतिपय राजनीतिक, शैक्षिक र सामाजिक आन्दोलन चलाएबापत चर्चित थिए । विसं २०४५ मै भुर्जुङखोला बलात्कार प्रकरणका विरोधमा नेतृत्व लिएका उनले २०५७ को गायक प्रवीण गुरुङ हत्याकाण्डका विरोधमा हस्ताक्षर संकलन गरी राजदरबारमा बुझाउने कामको नेतृत्व लिएपछि त चर्चित नै चए ।

त्यसअघि कालापानी मार्च अभियान (२०५५) र मेची महाकाली अभियान (२०५६)को नेतृत्व गरका उनलाई यातायात, स्वास्थ्य र मनोरञ्जनका क्षेत्रमा विद्यार्थी सहुलियत दिलाउने श्रेय पनि जान्छ । विद्यार्थी संगठनका पत्रिका प्रकाशन र नेताहरूको शालिक निर्माण, लेखरचना छपाइ जस्ता सिर्जनशील काम गर्ने उनी ‘समृद्ध नेपाल’ (२०७२), द रोड टु प्रोसपेरिटी (२०७३) र ‘संविधानसभा, लोकतन्त्र र पुनर्सरचना’ (२०६३) का लेखक पनि हुन् । जुन कृति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराकै जग बन्न पुग्यो ।

अनेरास्ववियु, नेकपा एमाले, माले र नेकपाका नेता उनी जनप्रिय हुनाको नाताले तीन पटक (२०६४, ०७० र ०७४) प्रतिनिधिसभामा निर्वाचित भई विकास समितिका सभापति (२०७०) बनेपछि झनै चर्चित भए । ‘विकास समितिको सभापतिको भूमिकामा रहेर नेपालको विकास बहसलाई नयाँ उचाइमा पुर्याउने श्रेय स्वर्गीय रवीन्द्र अधिकारीलाई जान्छ’, पूर्वाधारविद् डा सूर्यराज आचार्यको तर्क छ ।

उनको पूर्वाधार विकासमा जोड थियो भने समन्वय गरेर मात्र काम अगाडि बढाउनुपर्ने मान्यता थियो । विकास समितिको सभापति भएका बेला गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापना, भारत र चीनसँग समानान्तर व्यापार तथा पारवहन सुविधा, कालीगण्डकी र कर्णाली करिडोर, उत्तरदक्षिण सडक सञ्जाल, पोखरा–बेनी–जोमसोम–कोरोला, रसुवा, तातोपानी र किमाथांका नाका, हुलाकी राजमार्ग, दु्रतमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मेलम्ची खानेपानी आयोजना, पूर्वपश्चिम तथा चीन–भारत विद्युतीय रेल, विद्युत् चुहावट नियन्त्रण, सडक सुरक्षा कार्ययोजना, त्रिभुवन, पोखरा र भैरहवा विमानस्थल, पत्रकारको न्यूनतम पारिश्रमिक, कलाकारको संगीत रोयल्टी, विद्यालय र उच्च शिक्षामा व्यावसायिक एवं प्राविधिक शिक्षा, ग्रामीण दूरसञ्चार विकास कोष, नेटवर्क विस्तार, सुधार र गुणस्तरलगायत विषयमा दिएका निर्देशन स्मरणीय छन् । मिडिया पनि काम नगर्नेको खोजी गर्दै हिँड्दैन, हलचल ल्याउनेकैपछि कुद्छ ।

‘उत्कृष्ट सांसद’ अधिकारी समितिमा काम गरेकै कारण मिडियामा छाइरहे । आफ्नै योग्यताले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका अधिकारी मन्त्रित्वकालका पनि केही अविष्मरणीय विषय छन् । आफ्नो नियुक्ति (२०७४ चैत ३)को केही दिनमै उनले हरेक जिल्लामा एउटा पर्ने गरी सय गन्तव्य घोषणा गरे । तीन विमानस्थलका स्तरोन्नति तथा निर्माण र आयोजनालाई तीव्रता दिइयो ।

धनगढी, विराटनगर, भद्रपुरलगायत विमानस्थललगायत सातमा रात्रि उडान सुरु, बन्द भएका राजविराजलगायत दुई विमानस्थल पुनः सञ्चालन, चीनसँग नयाँ हवाई रुट, भैरहवा, जनकपुर सीमा वारपार हवाई प्रवेशविन्दु, फेक रेक्स्यु छानबिन, त्रिभुवन विमानस्थल बिहानदेखि २१ घण्टा चालु, सम्पदा पुनःनिर्माण, लुम्बिनीमा अन्तरराष्ट्रिय ध्यान तथा सभागृह शिलान्यास, आइकाओबाट नेपाललाई गम्भीर सुरक्षा सूचीबाट अन्त्य, अन्तरराष्ट्रिय उडान दुर्घटनामा नेपालीलाई विदेशीसरह बीमा रकम, नेपाल हवाई सुरक्षा योजना लागू, मानित पर्यटन विश्वविद्यालय स्थापनाको मस्यौदा, टुरिजम सेटलाइट एकाउण्ट तयार, फेक रेक्स्यु बीमा विवाद समाधान, नेपाल एयरलायन्सको रणनीतिक साझेदारमार्फत विकास योजना जस्ता कार्य अधिकारी कार्यकालका मुख्य उपलब्धि हुन् ।

फ्रान्सबाट ल्याइएका दुई वाइड बडी जहाज खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे उहाँका कार्यकालमा कुरो उठेपनि प्रायः सबै काम अघिल्ला सरकारकै पालामा भएको थियो र उनका पालामा अन्तिम किस्ता मात्र तिरिएको थियो । तैपनि अधिकारीलाई विवादमा तान्ने काम भइरह्यो ।

विवाद छिनोफानो नभइ अभियुक्तलाई दोषी सावित गर्ने एकथरि विरोधी प्रायः जहाँ पनि हुने गर्छन् । विवादको निष्पक्ष छानबिनपछि मात्र को दोषी हो भन्ने निक्र्योल होला । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘त्यो वाइड बडी कान्ड रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराको प्रसङ्ग ल्याएर उहाँको नाम बद्नाम गर्ने कोसिस गरे । उहाँ त्यसमा निर्दोष हुनुहुन्छ । उहाँको त्यसमा कुनै संलग्नता रहेको छैन ।’

युवा अवस्थामै चर्चित काम गरेर मुलुकलाई योगदान दिने योगेशकुमार भट्टराई, रामनाथ ढकाल, गोकणर्राज विष्ट, रामकुमारी झाँक्री, गगनकुमार थापाकै हाराहारीका अधिकारीले गर्नुपर्ने काम धेरै नै थिए । आफ्नो उमेरले भ्याउनेभन्दा बढी काम गर्नेलाई समाज र राष्ट्रले नसम्झनै कुरै भएन । राप्रपाका अध्यक्ष तथा पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले त उनको विचार र काम गराइ देखेर उनलाई ‘चीनका उदारवादी नेता देङ सियाओपिङ जस्तै लाग्ने’ बताएका छन् ।

अधिकारीको व्यक्तित्व निर्माणमा ठूलो योगदान गरेका उनकी पत्नी विद्या भट्टराई (उपप्राध्यापक, पछि सांसद) उनीहरू दम्पतीभन्दा पनि साथी, मानव–मानवका रूपमा रहेको बताउँछन् । आफ्ना जीवनसाथीले आफूलाई सधैँ आदरार्थी शब्द नै प्रयोग गरेको, आदेश कहिल्यै नदिएको र विवाह गरेर अर्कै घरमा आएको भन्ने महसुस कहिल्यै नभएको बताउँदै आफूहरू आदर्श दम्पतीका रुपमा रहेको उनले उल्लेख गरेका छन् ।

नेपाली समाज कृतघ्न छैन । ‘आँखामा राखे पनि नबिझाउने लालगेडी’ अधिकारीका प्रशंसामा माधवकुमार नेपाल, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाबुराम भट्टराई, वामदेव गौतम, सुवास नेम्वाङ, शंकर पोखरेल, गंगाप्रसाद उप्रेती, जगमान गुरुङ, जर्ज जोन, कनकमणि दीक्षित, किशोर नेपाल, कृष्णमुरारी भण्डारी, विन्दा पाण्डे, शिवानीसिंह थारूलगायतले समेत समय खर्चेका छन् ।

उनीसँगका संस्मरणबाहेक उनले विभिन्न पत्रपत्रिकामा दिनुभएका अन्तर्वार्ता, उनलाई दिइएका शब्द श्रद्धाञ्जलि, तस्वीरआदि खोजेर ग्रन्थलाई पूणर्ता दिन सम्पादक प्रा डा हेमनाथ पौडेल, झलक सुवेदी, शार्दूल भट्टराई, सीता ओझा र ज्ञानराम श्रेष्ठ तथा कार्यकारी सम्पादक रश्मि आचार्यले निकै मेहनत गरेका थिए ।

विषयवस्तुको पुनरुक्ति, वणर्विन्यासका अशुद्धि, केही मितिमा गल्ती जस्ता सामान्य समस्या कृतिमा देखिएका छन् । नेपाली लेखमा अंग्रेजी बाक्य पनि घुसाइएको सुहाउँदिलो भएन । ग्रन्थले उनको व्यक्तिगत जीवनका पाटा मात्र नभएर नेपालको राजनीति, विद्यार्थी एवं वाम आन्दोलनका केही कालखण्ड, पर्यटन तथा हवाई क्षेत्र पनि समेटेकाले सो विषयमा रूचि राख्नेलाई कृति निकै उपयोगी हुने छ ।

प्रतिक्रिया दिनुहोस्