Logo
Logo

नक्कली स्टिकरमा मुछियो बालुवाटार



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दुई नम्बरिया’व्यापारीहरुलाई ‘ब्ल्याकमेलिङ’ गर्न अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याए । त्यसको दुरुपयोग अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेका छन् । मदिरामा टाँस्ने अन्तःशुल्क विभागको नक्कली स्टिकर काण्डमा मुछिएका क्रिष्टल डिष्टिलरीका मालिक फुलसिंह क्षेत्रीलाई बालुवाटारको सेटिङमा उम्काइएको छ । क्षेत्रीले राजनीतिक संरक्षणमा पटक–पटक नक्कली स्टिकरको धन्दा गरे पनि उम्कँदै आएका छन् ।

यसपटक पनि उनी नक्कली स्टिकर प्रकरणमा जेल पर्ने डरले देउवाको शरणमा परे । देउवाका पिए भानु देउवाले ठाडै राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई फोन गरेर जोगाए । उता, धनगढीमा नक्कली स्किटरसहित पक्राउ परेका हरकेश सिंह, संक्राम सिंह साउद, विजय गुप्ता र राजकुमार साहलाई राजस्व न्यायाधीकरण धनगढीको अध्यक्ष केशवराज जोशीले कम धरौटीमा रिहा गरेका छन् ।

नक्कली स्टिकरजस्तो जघन्य अपराधमा मुछिएका अभियुक्तहरु कम धरौटीमा छुटेपछि यसमा जोशीको मिलेमतो देखिएको आरोप छ । २०७८ भदौ १८ गते नक्कली स्किटर प्रकरणमा पक्राउ परेका अभियुक्तहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढीले जनही सात करोड २९ लाख ५६ हजार धरौटी तोकेको थियो । तर, राजस्व न्यायाधीकरणले जनही १ करोड धरौटीमा छाडेको छ । यस घटनाबाट पनि नक्कली स्टिकरको धन्दा गर्ने मदिरा उद्योगको सेटिङ माथिदेखि तलसम्म भएको स्पष्ट छ ।

अन्तःशुल्कको नक्कली स्टिकर बनाएर क्रिष्टल डिष्टिलरीलाई सप्लाई गर्ने बाबुराजा कसोधन र एजेन्ट कुलप्रसाद पण्डित ‘भीम’ पनि पक्राउ परिसकेका छन् । नक्कली स्टिकर प्रकरणमा सुरुदेखि अहिलेसम्म पक्राउ परेका अभियुक्तहरुको वयानका आधारमा पनि राजस्व अनुसन्धान विभागले क्षेत्रीलाई कारबाही गर्नु पनि हो । तर, प्रधानमन्त्री, गृहमन्त्रीका कारण विभागले फाइल अड्काएर राखेको छ ।

गत भदौ ५ गते आन्तरिक राजस्व कार्यालय लेखिएको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकरसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल डण्डा बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल नक्कली स्टिकर बरामद गरेको थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरापलिका–३ दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले खानतलासी गरी स्टिकर बरामद गरेको थियोे । यसमा अन्तशुल्क मात्र नभएर आयकरसमेत छलेको हुने हुँदा करिब ५ करोडको राजस्व छलि भएको अनुमान गर्न सकिन्छ । ५० युपी १८० मिलीलिटरको २ लाख ४० हजार थान स्टिकरमध्ये आयकरको १० लाख बराबर, मूल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबैभन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर बरामद गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न एक कर्मचारीका अनुसार यो स्टिकर कुन उद्योगले प्रयोग ग¥यो भन्ने सम्बन्धमा गहिरो अनुसन्धान भइरहेको र सिसीटिभी, सेन्सर सबै प्रयोग हुने जानकारी दिँदै भने– अनुसन्धानले लोकेसन भैरहवा क्षेत्रतिर देखिएको छ ।

नक्कली स्टिकरसँगै सिद्धार्थनगर नगरपालिका ३ दरखसवाका २३ वर्षीय साहिद अन्सारी र सोही ठाउँका २४ वर्षीय अमानत अलि पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्तिहरूको बयानकै आधारमा उक्त सामान ढुवानी गर्न प्रयोग गरिएको लुु२च २५० नम्बरको गाडी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्