Logo
Logo

मेरो सरकार भन्नु ठिक हो—ओली


- दृष्टि न्युज/संवाददाता


राष्ट्रपतिको भाषणमा मेरो सरकार भन्नु सही भएको प्रधानमन्त्री ओलीले वताउनु भएकोछ ।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाउनु ठिक छ भन्दै उहाँले भारतको उदाहरण दिनु भएकोछ । तर यो सर्वथा अनुचित तर्क हो ।

भारतको नराम्रो कुरा नेपालमा पनि लागु गर्नु ठिक हो भन्ने सही तर्क हुन सक्दैन । भारतीय राष्ट्रपतिले मेरो सरकार भन्नु पनि वेलायती राजतन्त्रको कुप्रभाव हो ।

 

वुर्जुवाहरुले र राजा महाराजाहरुले मेरो सरकार भनेपनि कम्युनिष्ट प्रधानमन्त्रीले कम्युनिष्ट राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाउनु सर्वथा अनुचित काम हो ।

नेपालको संविधान कानून अनुसार त्यसरी राष्ट्रपतिले मेरो सरकार भन्नु गलत छैन भन्ने तर्क पनि आएको छ । तर नेपालको संविधानको धारा ७५ को उपदफा ३ मा भनिएकोछ,“नेपालको संघिय कार्यकारिणी सम्वन्धी सम्पूर्ण काम नेपाल सरकारको नाममा हुनेछ ।”

यहाँ नेपाल सरकारको नाममा संघीय सरकारका सबै काम हुनेछ भनेर स्पष्ट शब्दमा उल्लेख गर्नुको गम्भीर कारण रहेकोछ । पहिले राजाले मेरो सरकार भन्ने गर्दथे र सबै सरकारी काममा श्री ५को सरकार लेखिनु पर्ने संवैधानिक वाध्यता थियो । तर राजतन्त्र हटे संगै मेरो सरकार वा श्री ५ को सरकार हटाई नेपाल सरकार भन्ने संवैधानिक व्यवस्था गरिएको हो ।

तसर्थ राष्ट्रपतिले पनि नेपाल सरकार भन्ने संवैधानिक शब्द नै प्रयोग गर्नु पर्दछ । तर सामन्ती अवशेष रुपी मेरो सरकार प्रयोग गरिनुले प्रधानमन्त्रीले गैर संवैधानिक र सामन्ती काम गर्नु गराउनु भएकोछ ।

यसले उहाँमा रहेको भारतीय, वेलायती र नेपाली सामन्ती चलन प्रतिको मोह देखाउँछ । यसमा कमजोरी भएकोमा आत्मालोचना गर्नुले उहाँलाई नै राम्रो गर्दैथ्यो । तर गलत तर्कहरु अगाडि सारेर प्रधानमन्त्री स्वयम् वहसमा उत्रनुले आगामी दिनहरुमा थप संकट ल्याउने हुनसक्दछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्