Logo
Logo

‘अब जनता र बैरीका बीचमा लडाइँ सुरू हुन्छ’



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र बैरीका बीचमा लडाइँ सुरू हुन लागेको बताएका छन् ।
शुक्रबार चितवनमा अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

राजनीतिक अस्थिरता देशले थेग्न नसक्ने भएपछि समाजवाद उन्मुख विकासको एउटा मोडल दिनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ ।’ उनले यसपटकको लडाइँ हिंसात्मक नभएर राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने बताए ।

‘हामीले सपनाहरु जे देखेका थियौँ, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने भन्ने त्यो सपनालाई ओली प्रवृत्तिका कारण पूरा गर्न सम्भव भएन’ उनले भने ।

जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुने उनले बताए । ‘कौरवलाई जिताउने कि पाण्डवलाई, त्यसको फैसला तपाईंहरूले गर्ने हो,’ प्रचण्डले भने, ‘ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ ।’ माओवादी आगामी निर्वाचनबाट ठूलो शक्ति बनेर उदाउने दाबी पनि समेत उनले गरे ।

अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति एउटा निरंकुश, एकाधिकारवादी र प्रतिगामी भएको बताए । प्रचण्डले ओली प्रवृत्तिविरुद्ध सडकमा जानुपर्ने अवस्था बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्