Logo
Logo

एमालेमा जन्मिए लीन प्याओहरू



नेपाली वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक रापतापमा गालेर चिन्तन र व्यवहारको नयाँ बाटो देखाउने आशा गरिएका घनश्याम भुसालहरुले ओलीको पाउमा आफ्नो चेत र चेतना समर्पण गरिदिएपछि बहसको केन्द्रमा नेपाली लीन प्याओहरू छन् ।

जसरी लीन प्याओले माओको अति देवत्वकरण गरेर पार्टीको माथिल्लो सबै पद हासिल गर्दै आफूलाई माओको उत्तराधिकारीको रूपमा उभ्याउन सफल भएका थिए, उसैगरी खड्गप्रसाद ओलीको आरतीमा लागेका भुसालहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न ओलीको पाउ परेका छन् ।

ओलीको कोर्रा खाएर, विचार र विधिलाई तिलाञ्जली दिएर फेरि पनि एमालेमै आफ्नो भविष्य खोज्न हिँडेका भुसालहरु स्वयं लीन प्याओकै लाइनमा खडीखडाऊ छन् ।

सन् १९८० को सेप्टेम्बरमा द गार्जियनसँगको अन्तर्वार्तामा देङ स्याओ पिङले माओको अतिभक्ति गर्दै चलाइएको सांस्कृतिक क्रान्तिको सन्दर्भ उल्लेख गर्दै नेतालाई देउता बनाउँदा हुने नोक्सानीबारे बताएका छन् । चाकडीवाजहरुको घेरावन्दीमा माओ पर्दा पार्टीको क्रान्तिकारी वर्ग ध्वस्त भएको र पार्टी आन्तरिक गृहयुद्धमा फसेको उनको ठम्याइ छ ।
केपी ओलीको असक्षमताको कारण देशमा बन्दै गएको कम्युनिष्ट एकता भाँडिएको ऐतिहासिक सत्य हो । ओलीलाई नांगै बालुवाटारबाट बालकोट पुर्याउने उनकै वरपरका चाकरहरु हुन् । विचार र सिद्धान्त सकिएपछि अहिले मदन भण्डारीको नाम बेचेर ‘जबज’को जप शुरू भएको छ ।

अभिमानी ओलीलाई देश र कम्युनिष्ट आन्दोलनको कुनै परवाह छैन । देङले भनेजस्तै चाकरहरुको अति देवत्वकरणका कारण इमानदार कार्यकर्ताको ठूलो हिस्सा ध्वस्त भएको छ ।

नेपालमा वामपन्थीहरुको नेतृत्वमा रातो झण्डा फहराएको देख्न नचाहने सबै शक्तिको जित भएको छ । कम्युनिष्ट आन्दोलनभित्र टुटफुट र पानी बाराबारको आन्तरिक गृहयुद्ध सुरू भएको छ ।

मसिनो काया भएका लीन प्याओ कुशल लडाकु थिए । आफू रोगी भए पनि उचित रणनीति तय नगरी उनले आक्रमण नगर्ने तर, आक्रमण गरेपछि विजय हात पार्ने उनको युद्धशैली थियो ।

दक्षिण चीनको तटीय किनारबाट शत्रु लखेट्ने बेला होस् या कुमिङताङलाई पेकिङबाट धपाउने समय होस् उनको रण कौशलताको सर्वत्र प्रशंसा भएको थियो ।

नवौं केन्द्रीय कमिटी बैठकपछि माओको त्यति निकट रहेका लीन प्याओ अन्ततः प्रचण्डको विपरीत ध्रुबमा पुगेका बादल झैँ टाढिए ।

अर्कोपटक दुईतिहाइ ल्याउने जतिसुकै हल्ला गरे पनि, ओलीको तस्बीर अंकित तुलमुनि मदन–आश्रितको इमोशनल ब्ल्याकमेलिङ गरेपनि, ध्वस्त भएको कार्यकर्ता पंक्ति, निराश शुभेच्छुकहरुको समूहको वितृष्णाले सिंगो श्रमजीवी आन्दोलनलाई घाटा हुनेछ ।

विचार र सिद्धान्तमा प्रतिवद्ध, अनुशासित कार्यकर्ता सधै उपेक्षित हुने, दलाल र भुइँफुट्टा वर्ग सधैँ पहुँचमा पुगिरहने प्रवृत्तिले सिंगो आन्दोलनलाई नै घाटा पुर्याउँछ । प्रचण्ड, माधव, ओलीका वरिपरि कस्ता मानिसले घेराबन्दी गरेका छन् भन्ने कुरा एकपछि अर्को गर्दै सतहमा आएको छ ।

नेताहरुले जमिनमा के भइरहेको छ भन्ने बुझ्ने चेष्टा नै गरेका छैनन् । साँच्चिकै बुझ्ने चेष्टा गरेका छन् भने माधव नेपालले देशैभरिका गरिब, किसान, मजदुर, श्रमिक वर्ग र मध्यम परिवारलाई पार्टीमा समेट्नुपर्छ ।

लीन प्याओको रहश्यमय विमान दुर्घटनापछि मंगोलियामा भेटिएको खप्पर अहिले पनि मस्कोमा सुरक्षित होला । नेपालका लीन प्याओ र आफूलाई अब्बल क्रान्तिकारी हुँ भनेर दाबी गर्ने नेताहरु नसुध्रिए इतिहासमा खोजेर पनि नभेटिने ठाउँमा पुग्नेछन् । ठूलै क्षति नभई यिनीहरुको घैँटामा घाम लाग्ने देखिँदैन ।

मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्