Logo
Logo
कला

‘प्रेम सबैसँग हुन्छ कि हुँदैन र ?’



उनी सानैदेखि गुनगुनाउँथिन् । त्यही गुनगुनाउने बानीले आज कल्पना काफ्ले गायिकाको रुपमा चिनिएकी छन् । एक दशक यता सांगीतिक क्षेत्रमा मिहिनेत गर्दै आएकी कल्पनाका बजारमा थोरै गीत छन्, तर गुणास्तरीय । उनको मान्यता पनि यही हो । उनी भन्छिन्, ‘धेरै गाउनुभन्दा थोरै तर स्तरिय हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ कल्पनाका ‘राम्री भएर हो कि मलाई’, ‘रैछौ नि गफी गफी’, ‘जादू मन्तर’, ‘तामे गाग्री’लगायतका गीत चर्चित छन् । विद्यार्थी जीवनदेखि नै विभिन्न सांगीतिक कार्यक्रममा कला र गला प्रस्तुत गर्दै आएकी कल्पनाले गीतसंगीतबाटै विभिन्न अवार्ड तथा पुरस्कार पाइसकेकी छन् । उनै गायिका कल्पनासँग दृष्टिको जम्काभेट :

अहिले के गर्दै हुनुहुन्छ ?

अहिले नयाँ गीतको काम गर्दैछु । मेरो व्यवसाय पनि छ । त्यसैले व्यवसायसँगै नयाँ गीतको तयारीमा व्यस्त छु । एउटा रोइला गीत सकिएको छ ।

त्यो श्रोतामाझ कहिले आउँछ ?

अब चाँडै आउँछ । गीत तयारी भइसकेको छ । अर्को पनि गीत तयारी गर्दैछु । जुन पञ्चेबाजासम्बन्धी रहेको छ । त्यो गीत तयारी भएपछि रोइला सार्वजनिक गर्ने सोच छ ।

तपाइँ गीतसंगीतको पछिल्लो ट्रेन्डलाई पछ्याउँदै आउनुभएको हो ?

समयअनुसार चल्नैपर्छ । त्यसो भनेर सुन्नै नसकिने गीत म गाउँदिन । मेरो हरेक गीतमा नेपालीपन र मौलिकता हुन्छ ।

पहिले र अहिलेका गीतमा के फरक पाउनुहुन्छ ?

एक समय यस्ता किसिमका गीतहरु आउँथ्यो, ती गीत घरमा बुबाआमा तथा परिवारसँग बसेर हेर्न र सुन्न सकिन्थ्यो । केही वर्षअघि लोकदोहोरी क्षेत्रमा यस्तो विकृति आएको थियो । तर, अहिले कन्ट्रोल भएको छ । अहिले लोक तथा दोहोरी गीतमा त्यस्तो छाडापन छैन ।

अझै लोकदोहोरी गीतहरु छाडा र भद्दा आइरहेका छन् नि ?

मलाई खासै त्यस्तो छैन । पछिल्लो समय नेपालीपन र मौलिकता झल्किने गीतहरु नै आइरहेका छन् जस्ता मलाई लाग्छ । लोकगीत भनेको आफैंमा नेपाली मौलिकता हो । नेपालीपन र मौलिकता पाइएन भने त्यो लोकगीत बन्दैन ।

पछिल्लो समय दर्शक÷श्रोता कस्ता गीत रुचाउँछन् ?

अहिले गीत चल्नलाई टिकटकमा हिट हुनुपर्छ । दर्शक तथा श्रोता हिजोआज डाइरेक्ट युट्युबमा गएर गीत हेर्दैनन् । पहिले टिकटकमा हेर्छन् अनि मात्र युट्युवमा जाने गरेका छन् । त्यसैले दर्शक श्रोता चाहना र इच्छा बुझ्नै गाह्रो छ । त्यसैले धेरै सोचेर, बुझेर काम गर्नुपर्ने देख्छु ।

अहिले कलाकार युट्युबमै निर्भर होइन त ?

हो, त्यसै भन्नुपर्ने अवस्था छ । जब, गीतसंगीत डिजिटलमा गयो, तब कलाकारले त्यही हिसाबले आफ्नो सिर्जना पस्कनुपर्ने अवस्था आयो । गीतसंगीत युट्युबमै बढी निर्भर भएपछि चर्चाका लागि राम्रो भयो । तर, स्तरिय गीत बन्न छाड्यो । गीतसंगीत सुन्न र हेर्नका लागि दर्शक÷श्रोता सोसल मिडियामा निर्भर हुन थालेका छन् । पहिलाको जस्तो सामान्य सोचले गीत निकाल्न सजिलो छैन ।

स्टेज कार्यक्रमका लागि महँगो पारिश्रमिक लिनुहुन्छ रे ?

स्टेजमा जाँदाखेरी म त्यति धेरै गिरेर हिँडेकी छैन । मेरो खुबी र कला र गलाले दिएको माग गर्छु भन्ने कुरा हो । त्यसरी रेट नै लगाएर कार्यक्रममा जान मन लाग्दैन । त्यसैले सुहाउँदो पारिश्रमिक लिएर काम गर्छु । त्यसलाई महँगो भन्न मिल्दैन ।

गायिकाहरु मोडलिङ गर्न थाले, तपाइँले गर्नुभएको छ ?

मलाई गीत गाउनुभन्दा अभिनय गर्नु बढी मनपर्छ । त्यसैले अभिनय पनि पनि गर्छु । अहिलेसम्म थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेकी छु । स्पेसल्ली आफ्नो गीतको भिडियोमा अभिनय गरेकी छु । मेरो आफ्नो जुन गीत मनपर्छ, त्यो गीतमा आफैँले अभिनय गर्छु ।

यदि फ्यानबाट प्रेम प्रस्ताव आयो भने के गर्नुुहुन्छ ?

प्रस्ताव नै आयो भने ‘एक्सेप्ट’ गर्छु किनकि, प्रेम सबैसँग हुन्छ, हुँदैन र ? दर्शक श्रोताले धेरै माया गर्नुहुन्छ । त्यहीमाथि हामी कलाकारलाई शुभचिन्तक तथा फ्यानको माया आवश्यक छ । उहाँहरुकै माया र आर्शीवादले नै यहाँ छु ।

प्रतिक्रिया दिनुहोस्