Logo
Logo

‘अर्ली इलेक्सन’ अर्को प्रतिगमन



– Milan Limbu

केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध देश आन्दोलित भयो । आन्दोलनको बलमा ओली प्रतिगमन परास्त भयो । व्यवस्था बच्यो । तर, आज उनै व्यवस्था बचाउनेहरु ओली प्रतिगमनको ‘सेकेण्ड इनिङ’का लागि तयार हुँदैछन् ! बारम्बार जनताले बचाएको व्यवस्था पुनः संकटमा पर्ने खतरा छ ।

नेपाली राजनीतिमा ‘‘अर्ली इलेक्सन’’को बहस सुरु भएको छ । अर्थात, एक वर्ष आयु बाँकी हुँदै संसदको पुनः हत्या गर्ने बहस सुरु भएको हो । संसदले निकास दिन नसकेमात्र मध्यावधि निर्वाचन हुन्छ । यो संवैधानिक व्यवस्था हो । तर, अवस्था त्यस्तो छैन । सार्वभौम संसद सक्षम छ । त्यसैले विकल्प खोज्ने बेला भएको छैन । तर, सत्तारुढ दल नै ‘‘अर्ली इलेक्सन’’को कुरा गर्दैछन् । अहिलेकै अवस्थामा ‘अर्ली इलेक्सन’ गर्नुपरे संसद विघटन गर्नुपर्छ । संसद विघटन नभइ अर्को निर्वाचन हुन सक्दैन । यदी ‘अर्ली इलेक्सन’को नाममा संसद विघटन भए त्यो पुस ५ को ओली प्रतिगमनभन्दा फरक हुँदैन । अर्को, प्रतिगमनकै यात्रा तय हुनेछ । पछिल्लो छलफलले त्यतै डो¥याउँछ । वहाना जेसुकै होस् ।

प्रधानमन्त्री शेरबहादुर देउवा ‘अर्ली इलेक्सन’को प्रवक्ता भूमिकामा देखिन्छन् । उनी छिटोभन्दा छिटो निर्वाचन चाहन्छन् । कम्युनिष्ट कमजोर हुँदा कांग्रेस बलियो बनाउँदै कम्युनिष्ट सिध्याउने देउवाको योजना हो । त्यसैले देउवाबाट बारम्बार अर्ली एलेक्सन सुनिन्छ । देउवाको चाहनामा ओली दंग छन् । किनकि, ‘अर्ली इलेक्सन’ ओलीकै एजेण्डा हो ।

देउवा ‘ओलीको प्रतिगमन ठीक’ भन्ने पक्षमै थिए । ओलीले घोषणा गरेकै निर्वाचनबाट शक्तिशाली बन्ने चाहना राख्दथे । ओली प्रतिगमन र मध्यावधि निर्वाचन तत्कालीन नेकपाको आन्तरिक किचलोको उपज भन्ने देउवालाई राम्ररी थाहा थियो । सोही मौका छोप्न देउवा तयार थिए । परिस्थितिले सडकमा ल्यायो । वर्तमान सरकार देउवाको चाहना थिएन । परिस्थितिले नै सत्ता सुम्पियो । अहिले पनि देउवा सोही स्वप्नमा रम्दैछन् । र, भन्दैछन्– ‘अर्ली इलेक्न ।’

ऐतिहासिक एकतापछि नेकपा बन्नु र कम्युनिष्टले करिब दुईतिहाइ बहुमतको सरकार चलाउनु कांग्रेसका लागि टाउको दुखाइको विषय थियो । ओलीले प्रतिगमन नरोजेको भए कांग्रेस लामो समयसम्म सत्ताविहीन हुने निश्चित थियो । अहिले परिस्थिति त्यस्तो छैन । कम्युनिष्ट छिन्नभिन्न छन् । अहिलेकै अवस्थामा निर्वाचन भए कम्युनिष्ट शक्तिले सर्वनाक हार व्यहोर्नुपर्ने छ । परिस्थिति कांग्रेसले राम्ररी आँकलन गरेको छ । कम्युनिष्ट छिन्नभिन्न भएकै बेला निर्वाचन गरेर सिध्याउँने कांग्रेसको रणनीति हो ।

प्रधानमन्त्री देउवा ‘अर्ली इलेक्सन’को प्रवक्ता भूमिकामा देखिन्छन् । उनी छिटोभन्दा छिटो निर्वाचन चाहन्छन् । कम्युनिष्ट कमजोर हुँदा कांग्रेस बलियो बनाउँदै कम्युनिष्ट सिध्याउने देउवाको योजना हो ।

नेकपा खारेज हुँदा कम्युनिष्ट शक्ति विभाजित भयो । एमाले विभाजन हुँदा कम्युनिष्ट शक्तिलाई अर्को क्षति भयो । एमाले अझैपनि आन्तरिक संकटमा छ । एमालेसँग एकता हुँदा छिन्नभिन्न भएको माओवादी सम्हालिन सकेको छैन । एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीले आधार नै बनाइसकेको छैन ।

यस्तो अवस्थामा निर्वाचन हुँदा जताबाट पनि कम्युनिष्टलाई नै क्षति हुनेछ । कम्युनिष्टका मतदाता उही हुन् । एक उम्मेदवारलाई मतदान गर्ने कम्युनिष्ट मतदान तीन उम्मेदवारलाई मतदान गर्नुपर्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा जित्ने त कांग्रेसले नै हो । यस कारण अहिले नै निर्वाचन कम्युनिष्टका लागि घातक छ ।

प्रधानमन्त्री देउवाले बारम्बार ‘अर्ली इलेक्सन’को कुरा गरेपनि कम्युनिष्ट शक्तिले बलियो प्रतिवाद गर्न नसक्नु अचम्मको कुरा हो । यसमा एमाले र माओवादी फ्याक्टरले भूमिका खेलेको छ । एमाले र माओवादी अबको निर्वाचनबाट सबैभन्दा ठूलो शक्ति बन्ने धाक लगाउँदैछन् । तर, आफ्नो धरातल मिहीन रुपमा मुल्याँकन गर्न सकिरहेका छैनन् । अहिले नै निर्वाचन भए एमाले विभाजनको शिकार हुनेछ भन्ने माओवादी अस्तव्यत संगठनात्मक संरचनाको शिकार हुनेछ ।

एकीकृत समाजवादी सकेसम्म ढिलो निर्वाचन होस् भन्ने चाहन्छ । कम्तीमा जनआधार बनाएर मात्र निर्वाचन होस् भन्ने एकीकृत समाजवादीको चाहना हो । तर, एकीकृत समाजवादीले पनि अर्ली इसेक्सनको बहसलाई प्रतिकार गरिरहेको छैन । यसले कुनै न कुनै रुपमा एमाले बाहेकका कम्युनिष्ट शक्ति पनि ‘अर्ली इलेक्सन’ नै चाहन्छन् भन्ने आशंका गर्ने ठाउँ रहन्छ । जुन उनीहरुकै लागि घातक हुन्छ ।

संसदीय प्रणालीमा निर्वाचन र हारजीत सामान्य मानिन्छ । राजनीतिक दलको हार र जीतलाई सामान्य नै मान्नुपर्छ । परिस्थितिले कहिले कम्युनिष्टले जित्ला कहिले कांग्रेसले । त्यो सामान्य भयो । संविधानको रक्षा गर्दै वर्षौसम्म व्यवस्था जोगाउने कुरा मुख्य हो । संविधानको रक्षा नभए व्यवस्था रहँदैन । त्यसैले त ओली प्रतिगमनविरुद्ध जनता सडकमा आए । र, व्यवस्था बच्यो ।

व्यवस्था मास्न ओली प्रतिगमनविरुद्ध सडक संघर्षको नेतृत्व गर्ने राजनीतिक शक्ति वर्तमान सत्तारुढ दल नै हुन् । कांग्रेस, माओवादी, जसपा र माधव नेपाल नेतृत्वको तत्कालीन एमालेको विद्रोही शक्ति (हाल नेकपा एकीकृत समाजवादी) नै हो । यी दलकै नेतृत्वमा जुटेको बलले अवसानको अन्तिम विन्दुबाट व्यवस्था फर्कायो । व्यवस्था बचाउने क्रममा नेकपा खारेज भयो, दुईतिहाइको सरकार ढल्यो, एमाले विभाजन भयो । अर्थात, वर्तमान व्यवस्था ल्याउन जति शक्ति संघर्ष भयो जोगाउन पनि त्यति नै योगदान छ । तर, व्यवस्था जोगाउन योगदान गरेका शक्ति नै व्यवस्थाविरुद्ध गतिविधि गर्न तयार हुने हो भने त्यो अर्को प्रतिगमन हुन्छ ।

संसदले निकास दिन सक्ने अवस्था हुँदाहुँदै विघटन गर्दा ओलीको कदम प्रतिगमन भएको हो । अझैपनि वर्तमान संसदले निकास दिन सक्छ । यस्तो अवस्थामा जसले संसद विघटन गरे पनि प्रतिगमन नै हुन्छ । किनकि, संसद विघटन नगरी अर्ली इसेक्न हुनै सक्दैन । ओलीले विघटन गर्दा प्रतिगमन हुने र शेरबहादुर–प्रचण्ड–माधवले विघटन गर्दा प्रतिगमन नहुने हुँदैन । जसले गरेपनि व्यवस्था विरुद्धको कदम प्रतिगमन नै हुन्छ । यो अर्थमा ‘अर्ली इलेक्सन’ प्रतिगमनकै बाटो हो । संविधानले संसदको अकालमै अवसान परिकल्पना गर्दैन ।

संसदमा ओली प्रतिगमनविरुद्ध संघर्ष गरेकै शक्तिहरुको बहुमत छ । एमालेको अवरोध कामयै रहेपनि बहुमतको आधारमा संसदले सबैखाले निकास दिन सक्छ । राष्ट्रहित जस्तो गम्भीर विषयमा एमाले पनि अलग रहन सक्दैन । त्यसैले अहिले नै संसदको विकल्प खोज्नु गलत हुन्छ । संविधानविपरीत हुन्छ । व्यवस्थाको विरुद्धमा हुन्छ ।

निहीत शक्तिको स्वार्थमा जसरी ओलीले प्रतिगमन रचे, त्यसरी नै निहीत दलको शक्ति स्वार्थमा अर्को प्रतिगमन प्रारम्भ गर्न खोज्नु राष्ट्रहितमा हुँदैन । निकास दिन सक्षम संसद हुँदाहुँदै कांग्रेसले शक्ति स्वार्थमा व्यवस्थाविरुद्ध चाहना राख्नु ठीक होइन । यसले राष्ट्र विघटनको दिशामा लैजान्छ । एक वर्षमा संविधानअनुसार नै निर्वाचन हुन्छ, हुनुपर्छ । एक वर्ष पनि कुर्न नसक्ने कांग्रेसको चाहना ठीक मान्न सकिन्न । कांग्रेसकै चाहनामा ‘अर्ली इलेक्सन’का लागि तयार हुनेहरु पनि ठीक होइनन् ।

देशले अहिलेकै अवस्थामा निर्वाचन आवश्यक ठान्दैन । सबै परिस्थिति निर्धारित समयमै निर्वाचनका लागि तयार छ । जुन जनचाहनार र संवैधानिक व्यवस्थाअनुरुप नै हुनेछ । त्यसैले कांग्रेसको ‘अर्ली इलेक्सन’ चाहना रोक्नु नै अहिलेको उचित निर्णय हुनेछ । ‘अर्ली इलेक्सन’ रोक्नु भनेको संविधानको रक्षा गर्दै व्यवस्था जोगाउनु हो । निर्धारित समयमै निर्वाचन हुँदा आधारभूत रुपमा शक्ति सन्तुलन कामय हुनेछ । यसका लागि कम्युनिष्ट शक्तिले ‘अर्ली इलेक्सन’को बहसलाई सशक्त प्रतिकार गर्नुपर्ने हुन्छ । ‘अर्ली इलेक्सन’ रोक्ने र निर्धारित समयमै निर्वाचन गर्ने हो भने कम्युनिष्ट शक्तिका लागिमात्र नभएर सबैका लागि राम्रो हुनेछ ।

Twitter @milanlimboo

प्रतिक्रिया दिनुहोस्