आफैँलाई उदाङ्गो पार्न सक्ने ‘झ्याइँकुटी’ « Drishti News – Nepalese News Portal
Logo

आफैँलाई उदाङ्गो पार्न सक्ने ‘झ्याइँकुटी’


श्याम रिमाल


हाँस्नु हँसाउनु स्वास्थ्यका लागि फाइदाजनक छ । अहिले योगअन्तर्गत हाँस्य र उपचारअन्तर्गत हाँस्य थेरापी पनि पर्छ । हाँस्दा शरीरका इन्द्रियहरू चल्न थाल्छन्, जसले स्वास्थ्यको काम गर्छ । पत्रिकाहरूमा राखिने हाँस्य सामग्रीले अचारको काम गर्छ । मान्छेलाई रूवाउनभन्दा हँसाउन गाह्रो छ । जीउ र मुख बिगारेर मात्र हँसाउन सकिने जमाना अहिले छैन ।

नाटक, चलचित्रमा हाँस्य सामग्री राखेर दर्शक तान्ने उपाय अपनाइन्छ । हँसाउनकै लागि टेलिभिजनहरूले छुट्टै कार्यक्रम राख्छन् । चलचित्रहरूमा कुनै जमानामा गोपालराज मैनाली र बसुन्धरा भुसालको जोडी खुब चल्थ्यो । रेडियो कार्यक्रममा ध्रुव हाडा र राजपाल थापा अत्यधिक मन पराइन्थे । सन्तोष पन्त, मह जोडी, जीतु नेपाल, माग्ने बूढा, धुर्मुस–सुन्तली टेलिभिजन, टेलिचलचित्रहरूमा हँसाइराख्छन् । हँसाउनका लागि हाँसने (हाँस्यव्यङ्ग्य समाज नेपाल) खोलियो । सिस्नुपानी नेपालले वर्षेनी तिहार र अन्य दिनमा हँसाउने काम गर्छ ।

हास्यव्यङ्ग्यात्मक साहित्यिक कृति दिनेमा भुतको भिनाजु, भैरव अर्याल, केशवराज पिँडाली, रामकुमार पाँडे, नरमेन्द्र लामा, चट्याङ माष्टर, विष्णुलाल श्रेष्ठ, अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, टङ्कराज आचार्य, हरिकला उप्रेती, सुमी लोहनी नामी छन् । सिस्नुपानीकै ‘झ्याइँकुटी’ले पनि हास्यव्यङ्ग्यका चार पुस्तक त निकालिसके । अरू लेखक अर्कालाई मजासँग गोद्छन् भने ‘पाकचा’ आफूले आफैँलाई ठोक्छन् ।

आफू र आफ्नो परिवारका बदमासी र कमजोरीप्रति व्यङ्ग्य गर्न उनलाई झन् निको लाग्छ । यस्ता इमान्दार लेखक अहिलेको जमानामा कहाँ पाउनू ? आफ्नै ‘झ्याइँकुटी’(२०६९), ‘अर्काे झ्याइँकुटी’ (२०७२), बाल्यकालको उपद्रो(२०७४) शीर्षक हास्यव्यङ्ग्यात्मक कृति दिइसकेका यिनले ‘झ्याइँकुटी’ हास्यव्यङ्ग्य पत्रिका(२०४९देखि) लगायत करीब दुई दर्जन पुस्तक–पत्रिका सम्पादन गरेका छन् भने, कतिपयमा सल्लाहकार बसेका छन् ।

पचास हास्यव्यङ्ग्यात्मक संस्मरणको सङ्ग्रह ‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ (भुँडीपुराण प्रकाशन, काठमाडौँ, २०७८) का यिनका छोटाछोटा रचनाले पाठकलाई निकै मनोरञ्जन दिन्छ र बेलाबेला सम्झना पनि दिलाइरहने ल्याकत राख्छन् ।
पिँडाली, मनुजबाबु मिश्र, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, मनोज गजुरेलसँगको सम्बन्धलाई ५५ वर्षीय यी ‘हरिलठ्ठक’ले उजागर गर्ने नै भए । गीतकार भैरवनाथ रिमाल कदम भने यिनलाई गायक माणिकरत्न शाक्य ठानेर आफ्नो गीत गाइदिन पनि यिनकहाँ अनुरोध गर्न गएका रहेछन् ।

पछिल्लो कृतिमा हुस्सु दिवसमा मिश्री, फिट्किरी र ढिके नुन तथा अप्रिलफुल कार्यक्रममा टोक्न नसकिने स्याउ र केरा बाँडेको घटना, ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ चलचित्र बनाउँदा नायिकाका पतिले आफूलाई कुकुर छाडेको, कसैका बिहावारीमा खान नपाउँदा भोकले खपिनसक्नु भएर बाहिर हिँडेको र साहित्यिक कार्यक्रममा जाँदा ढोकामा बस्नेले बाहिर निकालेको, झगडालु र असहयोगी छिमेकीले आफूसँग पानी मागेको, घरबेटीका बियर चोरेर खाएको, आफ्नो अघिल्लो कृतिमा भूमिका लेख्न अल्छी मानेका एक लेखकको खाली पानाको भूमिकाको प्रकाशन गरेको जस्ता खजाना पाइन्छ ।

बैंकर माणिकरत्न शाक्यले पूर्वमन्त्री लगायतबाट कार्यालयमा भोगेको अनेकथरि दबाब पनि कृतिमा परेको छ । कतिपय पत्याउन नसकिने कुरा र चुड्किला लेखन जस्ता सामग्री पनि उनले समाविष्ट गरेका छन्, जुन नपत्याएमा सिर्फ हास्यका रूपमा लिन पाठकलाई छुट छँदै छ । लेखकले सबै रचना आफ्नै जीवनका साक्षी रूप भनेकाले पत्याइदिनै त पर्ला नि !

कवि तथा गीतकार रत्नशम्शेर थापा उनी आफ्ना रचनामा शतप्रतिशत इमान्दार रहेको ठोकुवा गरेका छन् भने, रोचक घिमिरेले स्वस्थ्य र सुरुचियुक्त हास्यव्यङ्ग्य पढ्न चाहने पाठकका निम्ति पुस्तकले अचुक ओखतीको काम गर्ने जनाएका छन् । ससाना रचनाहरू भएकाले पाठकलाई अलिकति पनि झिँजो लाग्दैन । केही अनावश्यक र अपरिपक्व वाक्य पनि यसमा परेका छन् । लेखन समयक्रमअनुसार रचनाहरू राखेको भए हुन्थ्यो । कृति बिक्रीपछि आएको रकम मिर्गौैैला रोगी र अनाथहरूलाई दान दिने ‘घोर्ले’को बानी राम्रो छ ।

२०७८ कात्तिक १४
[email protected]

प्रतिक्रिया दिनुहोस्