पाल्पामा माटाका भाडाको प्रयोग हट्दै « Drishti News – Nepalese News Portal
Logo

पाल्पामा माटाका भाडाको प्रयोग हट्दै


दृष्टि संवाददाता


रामपुर (पाल्पा) । माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । पछिल्लो समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन ।

कुमाल समुदायले पुर्खौँदेखि माटाबाट पाला उत्पादन गरी तिहारलाई बन्दोबस्त गरेर घरमा राख्थे । स्थानीयवासीले पनि भरसक माटाकै पालामा बत्ती बालेर झिलीमिली बनाउने चलन रहे पनि अहिले भने गाउँघरमा यसको प्रयोग हटेको रामपुरका समाजसेवी देवराज ढकालले बताए ।

“पहिला त घरमा आमाले तिहार सुरु भएपछि आँगन, घरको मूलकोठा, दैलो, मझेरीमा माटाका पालामा बत्ती बालेको देखिन्थ्यो, यसो गर्दा संस्कृति संरक्षण र व्यवसायीलाई पनि आम्दानी गर्ने माध्यम बनेको थियो”, उनले भने, अहिले भने सबैका घरघरमा बजारमा आएका विभिन्न थरिथरिका झिलीमिली बत्तीले पुरानो परम्परा नै हराउन पुगेको उनले जानकारी दिए ।

ती समुदायका व्यक्तिले पनि उत्पादन गर्न छाड्दै जानु, अर्कोतर्फ बजारमा तयारी अवस्थामा झिलिमिली वस्तु भित्रन थालेपछि ग्राहकको कृत्रिम वस्तुमा ग्राहकको आकर्षण बढेको छ । घरमा महङ्गो मूल्यमा झिलीमिली बत्ती खरिद गरेर घर सजाउने क्रम बढ्दो छ । यसले पुरानो संस्कृतिलाई नै विस्थापित बनाएको छ । बजारमा पनि माटाका पाला पाउन मुस्किल हुँदा झिलीमिली बत्तीले नै घर सजाउने गरेको पार्वती न्यौपानेले बताए ।

उनले भने, “माटाका पाला किनेर घरमा बत्ती बाल्ने खासै कोही भेटिदैन, बजारमा जतिबेला पनि सजिलैसँग थरिथरिका कृत्रिम बत्ती पाइन्छ, पालामा बत्ती बाल्ने झण्झट मानी झिलीमिली बत्तीको प्रयोग गर्न थालिएको छ ।” रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालको घरमा तिहारलाई माटोबाट बनेका पाला खरिद गर्न यस वर्ष धेरै ग्राहक पुगे । उत्पादन नहँुदा भने ग्राहक रित्तै फर्कन बाध्य भए ।

संस्कृति र परम्परा धान्न कुमालले अघिल्ला वर्षमा पाला बनाएर बेच्ने गरिए पनि यस वर्ष अत्यधिक वर्षा परेकाले पाला तयार पार्न नसक्दा ग्राहक रित्तै फर्कनुपरेको छ । विशेषगरी तिहारमा घरमा माटोबाट तयार पारिएका पालामा बत्ती बाल्ने पुरानो चलन छ । अझसम्म पनि केही पाका स्थानीयवासीले पुरानो चलनलाई निरन्तरता दिँदै माटाका पाला नै खोज्ने गर्छन् । तर माटो अभावमा धेरैले व्यवसाय छाड्दै जाँदा भने हिजोआज व्यवसाय धान्न समस्या परेको छ । स्थानीय सरकारले माटोको व्यवस्थापन गरिदिएमा व्यवसायलाई निरन्तरता दिने सोमबहादुर कुमाल बताए ।

“माटाको समस्याले सबैले यो व्यवसाय छाड्दै गएका छन्, स्थानीय सरकारले माटो प्रबन्ध गरिदिएमा मैले व्यवसाय धान्नेछु”, उनले भने, उनलाई रातको समयमा लुकीछिपी कामदार खटाएर माटो खोज्नुपर्ने समस्या छ । यस क्षेत्रमा माटाको व्यवसाय गर्ने कुमाल एक्लो व्यक्ति छन
। रामपुर–६ वडा सदस्य लोकमाया कुमालले माटाका भाडा बनाउने व्यवसाय संरक्षण गर्न सम्बन्धित व्यक्तिले निवेदन पेश गरेमा वडाले माटो व्यवस्थापन गरिदिने बताए ।

यस क्षेत्रमा मात्रै करिब २५० घरपरिवार कुमाल समुदायको छ । पहिला सबैका घर–घरमा माटाका भाडा उत्पादन गरिए पनि माटो अभाव हुँदै जाँदा हिजोआज सबैले व्यवसाय छाडेका छन् । पुरानो व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विशेष कार्यक्रम ल्याएर व्यवसायलाई संरक्षण गर्नुपर्ने देखिन्छ ।

जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटाका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गर्दै आए पनि अहिले यो पेशा लोप हुँदै गएको छ । वर्षौँदेखि गर्दै आएको पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्