Logo
Logo

नेकपा एकीकरणले पुर्णता पाँउदै : १४७ पोलिटब्युरो ,जनसंगठनमा भागबण्डा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटव्युरो टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको बताइएको छ ।

पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर जेष्ठ ३ गते पार्टी स्थापना दिवसको दिन सार्वजनिक गर्ने नेताहरु विच सहमति भएकोछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको हो । अब प्रधानमन्त्री स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने नेकपा स्रोतले जनाएको छ ।

केन्द्रीय सचिवालय र स्थायी कमिटी स्वत पोलिटव्युरोमा रहने छन भने अनुशासन आयोग, सल्लाहकार परिषद् र लेखापरीक्षण आयोगका अध्यक्षहरू पनि स्वतः पोलिटव्युरो सदस्य हुनेछन् ।

पूर्व एमालेको भागमा ८५ र पूर्व माओवादीको भागमा ६२ जान पोलिटव्युरोमा रहने भागवन्डा भएको छ । पूर्वएमालेबाट तत्कालीन पोलिटव्युरोका ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने छन् । पूर्वमाओवादीबाट ६२ जना पोलिटव्युरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन् ।

अध्यक्ष ओली भियतनाम र कम्बोडियाको भ्रमणबाट फर्केपछि स्थायी कमिटी बैठकमार्फत पोलिटव्युरो गठन र जनवर्र्गीय संगठन एकीकरण टुंगो लगाउने बारेमा छलफल भइरहेको एक नेताले बताए । केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्य विभाजन समेत प्रस्ताव हुनेछ । अध्यक्ष ओली फर्किएपछि बस्ने बैठकमा कार्य विभाजन, पोलिटब्युरो र जनवर्गीय संगठन एकीकरणको प्रस्ताव जाने सम्भावना रहेको छ ।

त्यस्तै २४ वटा जनवर्गीय संगठनमध्ये प्रमुख चारवटा संगठनको भागबन्डा मिलेको छ । अन्य संगठनको भागबण्डा मिले पनि युवा, विद्यार्थी, महिला र मजदुरको भागबन्डामा सहमती अड्कीएको थियो । चारवटा संगठनमध्ये पूर्वमाओवादीको भागमा विद्यार्थी र महिला परेको छ भने युवा र मजदुर संगठन पूर्वएमालेको भागमा परेको स्रोतले बताएको छ ।

कर्मचारी संगठन पूर्वएमालेको भागमा परेको छ । पेसागत संगठन र प्रवास कमिटी पूर्वमाओवादीको भागमा परेको छ । ३ जेठमा मदन भण्डारी स्मृति दिवस दिन जनवर्गीय संगठनको एकता घोषणा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्