Logo
Logo

नेपाल र भियतनामबीच कूटनीतिक र सरकारी राहदानीबाहकलाई प्रवेशाज्ञा छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ वैशाख ।
नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति

सहमति पत्रमा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ । कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका अवरोध हटाउने र दुई देशबीचमा सम्बन्धका विषयमा विचारविमर्श गर्न द्वपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गरेका छन् ।

भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति पनि भएको छ । व्यापार तथा लगानी सम्बन्धी सम्झौताको लागि पहल गर्ने सहमति पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्