Logo
Logo

भिआइपी अभियुक्त जोगाउँदै प्रहरी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कात्तिक २२ गते एक विज्ञप्ति जारी ग¥यो । जसमा चेक बाउन्ससम्बन्धि मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ गरिएको सम्बन्धी विज्ञप्ति थियो । भारतीय नागरिक राजहरण शाहलाई सिआइबीले पक्राउ गरेको थियो, जसलाई अदालतले सात दिन कैद सजाय सुनाएको थियो ।

सात दिन कैद सजाय सुनाएका अभियुक्त पक्राउ गरेको विषयमा प्रेस विज्ञप्ति जारी गर्दा सिआइबीले ठूला अपराधका अभियुक्त पक्राउ परेको घटना भने गुपचुप राख्यो । कुमारी बैंकबाट नक्कली लालपूर्जाका आधारमा १९ करोड ऋण प्रवाह गरेको घटनाका पाँच जनालाई पक्राउ गरे पनि सुरुमा उसले यसलाई गोप्य राख्यो । त्यस्तै सिन्धु विकास बैंकका शाखा प्रबन्धक सुमन खरेलले करिब २ करोड अनियमितता गरेको विषयमा पनि सिआइबीले सार्वजनिक गरेको छैन ।

नेपाल प्रहरीले ठूला व्यक्ति जोडिएका घटना कसरी गुपचुप राख्छ भन्ने कुरा यी घटनाले देखाउँछ । कुमारी बैंकको घोटालामा बैंकका उच्च पदस्थ व्यक्तिहरु नै पर्ने र बैंकको छवीमा समेत धक्का लाग्ने भएपछि सिआइबीले त्यो प्रकरणलाई गोप्य नै राख्ने प्रयास गरेको थियो, तर सम्भव भएन । कतिसम्म भने राष्ट्र बैंकलाई समेत त्यसबारे जानकारी गराइएन । मिडियामा समाचार आएपछि राष्ट्र बैंकले हालै छानबिन थालेको छ ।

गायक यागेश्वर अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको ड्यानिअल ट्रेडिङको नाममा नक्कली लालपूर्जा बनाएर बैंकले कर्जा दिएको थियो । बैंकिङ क्षेत्रका बिचौलियाका रुपमा चिचिएका कुसन प्रधानमार्फत बैंकका सिइओ अनुजमणि तिमल्सिनाले ऋण दिएका थिए । पछि जग्गा धनीले उजुरी गरेपछि बैंकले हतार हतार कर्जा उठाउने प्रयास गरी यो प्रकरणलाई गोप्य राखेको थियो । गायक अमात्यले प्रहरीमा उजुरी दिएपछि गृहमन्त्री बालकृष्ण खाँणमार्फत प्रहरीमा दबाब दिई उच्च पदस्थमाथिको छानबिन रोकिएको थियो । यसमा सिआइबी समेत प्रयोग भएको छ ।

एकातर्फ घटना गोप्य राख्ने र अर्काेतर्फ फितलो अनुसन्धान गरेर मुख्य व्यक्तिलाई जोगाउन प्रयासले सिआइबीको समेत छवी खस्किएको छ । यसमा चलखेलको समेत आशंका गरिएको छ ।

त्यस्तै काम काठमाडौं प्रहरीले पनि गरेको छ । बलात्कार मुद्दामा पक्राउ परेका कार्गाे संघका अध्यक्ष मनोज अधिकारीको घटना गोप्य राखेको थियो । फेसबुकमार्फत चिनजान भएकी एक युवतीलाई कालोपुलमा भेट्न बोलाएर बलात्कार गरेको अभियोगमा उनी दुई साताअघि पक्राउ परेका थिए । उनलाई पनि जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ । कमलपोखरी वृत्तले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, जुवाखालमा पक्राउ परेका दोलखा कांग्रेसका सभापति बर्मा लामालाई पनि पाँच दिनमा नै छाडिएको छ । जबकी अन्य जुवाडेलाई दुई सातासम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको छ । पछिल्ला यी घटनाले पहुँच हुने र नहुनेका लागि देशमा कानून फरक–फरक छ भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्