Logo
Logo

कानुन व्यवसायीको आन्दोलनमा प्रहरी हस्तक्षेप, बार अध्यक्षसहित १२ जना घाइते



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन र कानुन व्यवसायीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार बिहान कानुन व्यवसायीको प्रदर्शन सुरु हुनेवित्तिकै प्रहरीले हस्तक्षेप गरेको थियो । सोक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन उनलाई माफी माग्न आग्रह गरेका छन् । सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीले प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिएको कानून व्यवसायीहरुले कार्यक्रम स्थलमै जानकारी दिएका छन् ।
धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ ।

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । बारले लगातार आन्दोलन गरिरहँदा प्रधानन्याधीश राणा मूल गेटबाट नभइ महान्यायाधिवक्ताको कार्यालयतर्फ अदालत प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्