नेवार समुदायले आज सकिमना पुन्ही मनाउँदै « Drishti News – Nepalese News Portal
Logo

नेवार समुदायले आज सकिमना पुन्ही मनाउँदै


दृष्टि संवाददाता


भादगाउँ । आज कार्तिक शुक्ल पूर्णिमा । नेपाल संवत्को पहिलो पूर्णिमा । ऋतुअनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउन सिपालु नेवार समुदाय आज घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् ।

सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरूले विशेष पर्वका रूपमा मनाउँछन् । आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनका रूपमा पिँडालु उसिनेर खाने र नसाः ९मकै, भटमास, गहुँ र ताय०बाट भगवान्का आकृति बनाउने तथा त्यसैलाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ ।

यस दिन नेवार समुदायमा आ–आफ्नो टोलटोलमा रहेका दाफा भजन खलःले नसाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवान्को आकृति बनाइन्छ । आकृति बनाउँदा गहुँ बिछ्याएर ताय ९धानको लावा० र कालो भटमासले भगवान्को स्वरुप बनाउँछ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङ्गारपटार गरी दक्षिणा चढाई दियो बालेर भजनकीर्तन गाउने गर्छन् ।

कोजाग्रत पूर्णिमाका दिनदेखि दैनिकरूपमा हुने भजनकीर्तन समापन हुने भएकाले नेवार समुदायमा प्रत्येक घरमा एक–एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा चढाउँछन् । पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खीर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्ड आफ्ना टोलमा भएका देवी–देवता, महादेव र नारायण देवतालाई प्रसादका रूपमा चढाउँछन् । यसरी पूजा चढाउँदा प्रसादका रूपमा मन्दिरबाट नसाः लिएर आउने गर्छन् । साँझ चन्द्रमा उदाएपछि चन्द्रमा र तुलसीलाई गाईको दूध अघ्र्य दिई विधिवतरूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ । मन्दिरबाट ल्याइएको प्रसादस्वरुप नसाः राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा छ ।

ऋतुअनुसारको भोजन भगवान्लाई चढाएर मात्र खाने पर्वका रूपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीको दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरिको बाह« महिनाको प्रत्येक पुन्हीमा भगवान्लाई फरक–फरक भोजन प्रसादका रूपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृतिअनुसार कार्तिक शुक्ल पुन्हीको दिन कन्दमुल, खीर र नसाःलाई प्रसादको रूपमा भगवान्लाई चढाइने संस्कृतिकर्मीहरू बताउँछन् ।

नेवार समुदायले ऋतुअनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजको दिन पिँडालु, सख्खरखण्ड, नसाःलगायतका भोजन प्रसादका रूपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । यसले शरीरमा ताकत दिनाका साथै शरीर स्वस्थ हुने जनविश्वास रहेको उहाँको कथन छ ।

अन्नपातबाट बनाइएको भगवान्को आकृतिबाटै मठमन्दिर तथा भगवान्को मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । पुरोहित राजोपाध्यायका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कन्दमुललाई सबैभन्दा पहिलो भोजनका रूपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थालियो । त्यतिबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवान्को मठमन्दिरको विकास भएको थिएन । उहाँले भन्नुभयो, “पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवान्को आकृति कोरेपछि विस्तारै यसको विकसित रूप विभिन्न मठमन्दिरको निर्माण हुन थाल्योे, त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवान्को आकृति बनाएर त्यसलाई पूजा गरी कन्दमुललाई प्रसादका रूपमा चढाएर खाने प्रचलन थालिएको हो ।”

नेवार समुदायमा नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादका रूपमा चढाई विधिवतरूपमा पूजा गर्ने परम्परा छ । साथै गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरुप नसाः खुवाउन जाने परम्परा छ । त्यसैगरी नेवार समुदायको जन्मदिनको अवसरमा पनि भुटेको मकै, गहुँ, भटमासलगायतको समिश्रण नसाः दान गर्ने प्रचलन छ ।

महादेव मन्दिरमा मेला

सकिमाना पुन्ही ९पिँडालु उसिने पूर्णिमा०को अवसरमा आज भक्तपुरका महादेव मन्दिरमा ठूलो मेला लागेको छ । आज भक्तपुरको यातु महादेव, आशापुरेश्वर ९आशापुरी० महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव, पशुपति महादेवलगायत मन्दिरमा विशेष मेला लागेको छ । सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ ।

सकिमाना पुन्हीका अवसरमा नेवार समुदायका गुठी र दाफाभजन खलःले आ–आफ्नो टोलमा रहेका मन्दिरको अगाडि भुटेका मकै, मटमास र गहुँले देवीदेवताको प्रतिमा बनाई मालपुवा र पुरीले सजाएर भजनकीर्तन गर्ने परम्परा छ ।
काठमाण्डौं । आज चन्द्र ग्रहण लाग्दैछ । यो ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण लाग्ने लागेको हो ।

पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

खगोलविद्का अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्छ तर विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्छ । यो खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ ।

चन्द्र ग्रहण पूर्णिमाको दिन मात्रै लाग्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्