Logo
Logo

प्रहरीमा अराजकता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । गृह मन्त्रालय कमजोर हुँदा सुरक्षा निकायमा अराजकता मौलाउँदै गएको छ । फेसबुकमा जथाभावी लेख्नेदेखि प्रहरी कार्यालयमै अशोभनिय गतिविधि हुन थालेका छन् ।

इप्रका बिर्तामोडका डिएसपी सुवास खड्काको कुर्सीमा गुन्डागर्दीमा संलग्न एक युवक बसेर फोटो खिचेर फेसबुकमा पोष्ट गरे । डिएसपीसँग आफ्नो दोस्ती देखाउन हर्क गुरुङ नाम स्थानीय युवाले त्यसरी फोटो हालेका थिए ।

हिरासतमा बालकको मृत्यु प्रकरणमा छानबिनमा रहेका डिएसपी खड्का फेरि अर्काे प्रकरणमा मुछिएका छन् । आर्थिक चलखेलका आधारमा बिर्तामोडमा सरुवा भएका उनी पैसा कमाउन केन्द्रित हुँदा प्रहरी नै बदनाम भएको छ ।

उता सामाजिक सञ्जालमा यूनिफर्म लगाएको फोटो राख्न नपाउने नियम सिनियर प्रहरी अधिकारीहरुले ने मानेका छैनन् । मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मीले पोज–पोजमा फोटो खिचेर हाल्दछन् । आफूमात्र होइन उनले अन्य प्रहरीसँग सेल्फी खिचेर समेत हाल्ने गरेका छन् । केही हप्ताअघि उनले डिएसपी वीरेन्द्र थापासँग सेल्फी खिचेर हालेका थिए । यसअघि पटक पटक कारबाहीमा परिसकेका डिएसपी रेग्मी प्रहरीका बदनाम अधिकृत मानिन्छन् ।

सशस्त्र प्रहरीमा पनि अवस्था त्यस्तै छ । कमिसन नदिएको भन्दै एक सिनियर अधिकृत विभिन्न निकायमा उजुरी गर्दै हिड्दछन् । हालै एसपीमा बढुवा भएका नानीराम हुमागाई सशस्त्र प्रहरीभित्र अराजक अधिकृतका रुपमा चिनिन्छन् । प्रदेश १ को बाहिनीमा कार्यरत रहँदा डिआईजी मन्दिप श्रेष्ठले गाडी मर्मतको बजेटमा चलखेल गर्न नदिएपछि श्रेष्ठविरुद्ध लागेका थिए ।

कमजोर क्षमताकै कारण उनी बढुवा पछि पर्दै आएका छन् । सँगै भर्ना भएका संजीव थापा एसएसपी भइसक्दा उनी हालै मात्र एसपीमा बढुवा भएका छन् । संगठनका गोप्य कुरा बाहिर लैजाने र फेसबुकमा लेख्ने गरेका छन् ।

सशस्त्रका एसएसपी गणेश ठाडामगर दुई महिनाअघि फेसबुकमा जथाभावी लेखेको आरोपमा कारबाहीमा परेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध उनले अशोभनीय टिप्पणी गरेका थिए । त्यसो त सशस्त्रका एआईजी नारायणसिंह थापाले नै एसपी बढुवाको विषयमा फेसबुकबाटै संगठनको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्