Logo
Logo

सरकारले खोप लगाउने कार्यलाई तिव्रता दिएको छ : मन्त्री खतिवडा



हेटौंडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संघीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

आइतबार समाजवादी प्रेस संगठन हेटौंडाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना संक्रमणबाट प्रभावित र सो रोगबाट बच्न र नागरिक खोप लगाउने काममा आफैँ सजग हुनुपर्ने धारणा व्यक्त गरे ।

छिमेकी राष्ट्र भारत, चीन र मित्रराष्ट्र अमेरिकाबाट कोभिड सङ्क्रमणविरुद्धका खोप ल्याई सबै नागरिकलाई लगाउने कार्यलाई सरकारले तीव्रता दिएको समेत उनले बताए ।

सरकारले खोप ल्याउन सुरु गरिसकेको र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिइएको उनको भनाइ छ ।

दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्य रहेको उनले बताए ।

मन्त्री खतिवडाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको निरीक्षण गरेर गुणस्तरीय स्वास्थ्य उपचार सेवा छिटोछरितो सर्वसाधारण नागरिकलाई उपलब्ध गराउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्