Logo
Logo

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, ओली आज चितवन जाँदै



काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको हो ।

चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा एमले नेता कार्याकर्ताको चहलपल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय संगठननका नेताहरु चितवन आउने क्रम जारी रहेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको उनले बताए ।

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदैछ ।

एमाले महाधिवेशनलाई सम्बोधन क-कसले गर्दैछन् ?
एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवनमा गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।

ओली आज चितवन जाँदै
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान साढे ११ बजे चितवन जाने कार्यक्रम रहेको नेता तामाङले दृष्टि न्युजलाई जानकारी दिए । आज अध्यक्ष ओली सौराहामा हुने बुद्धिजीवी परिषद्को बैठकमा सहभागी हुने उनले बताए ।



यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्