Logo
Logo

नाटकीय शैलीमा काठमाडौंमा चोरी आतंक मच्चाउने पाकिस्तानी दम्पती पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
उपत्यकामा नाटकीय शैलीमा चोरी गर्दै आएका पाकिस्तानी दम्पती पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुले नाटकीय शैलीमा चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
भक्तपुरको लोकन्थलीमा एक पसलको काउन्टरबाट ७० हजार रुपैयाँ चोरी भयो। पसलमा नै आएका एक दम्पत्तिले काउन्टरबाट रकम निकालेको पत्ता लगाए पनि उनीहरूको पहिचान हुन सकिरहेको थिएन।

त्यसै प्रकृतिको घटना फेरि केही दिनपछि लोकन्थलीमा दोहोरियो। काउन्टरबाट ३० हजार हराएपछि पसलेले प्रहरीमा उजुरी दिए। पैसा चोरी भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढायो। सिसिटिभी फुटेजहरू निकालेपछि मंगलबार महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले लोकन्थलीबाट एउटा कारलाई पछ्यायो।

सो कारलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लियो। कारमा ५ जना थिए। एक जना चालक र एक पाकिस्तानी दम्पत्ति। उनीहरूका डेढ र साढे चार वर्षका छोराछोरीहरू पनि थिए। कारमा रहेका पाकिस्तानी दम्पत्ति मनसिंह खान र पूजा खानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गर्यो।

सूर्य्विनायक र लोकन्थलीको पसलबाट हराएको रकम उनीहरूले नै चोरी गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो।
उनीहरू ३ महिना अघि नै नेपाल आएको खुल्न आएको छ। उनीहरूको पर्यटक भिसा १५ दिनपछि सकिदै थियो ।
उनीहरूले यस्तै गरेर एक महिना अघि बुटवलबाट एक लाख ७० हजार चोरी गरेको खुल्न आएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए।
दम्पत्ति नै मिलेर काउन्टरबाट रकम निकाल्ने र कतिपय स्थानमा नेपाली पैसा कस्तो हुन्छ भन्दै गनेको जस्तो गरेर भुल्याउने र त्यही बेला पैसा निकाल्ने गर्दथे । उनीहरुविरुद्ध चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्