Logo
Logo

नेकपामा भागवण्डा मिल्यो, जनवर्गीय संगठनमा संयोजक र सहसंयोजक रहने (कुन संगठनमा काे )?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २ जेठ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ । बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुङ्ग्याएको हो । स्रोतका अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, पन्चा सिँह वा सुरेन्द्र बस्नेत रहने गरी मोटामोटी सहमति जुटेको छ । महर तत्कालीन एमाले निकट विद्यार्थी संगठनका र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठनका नेता हुन् ।

यसबाहेक यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने किरण पौडेललाई राख्ने सहमति जुटेको स्रोतको दावी छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् ।

महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् । प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । यसैगरी मुस्लिम संगठनमा तत्कालीन एमालेका सहराज अहमद फारुकी र मुस्लिम संगठनमा अतहर हुसेन फारुकी, दलित संगठनमा तत्कालीन माओवादीका संयोजक तिलक परियार र सहसंयोजकमा बोमबहादुर विश्वकर्मा, जनसाँस्कृतिक महासंघमा तत्कालीन एमालेका खगेन्द्र राई र सहसंयोजकमा माओवादीका सरल सहयात्री, निर्माण व्यवसायी संगठनमा तत्कालीन एमालेका यज्ञध्वज कार्की र सहसंयोजकमा शिवप्रसाद चौंलागाई र माओवादी केन्द्रका तर्फबाट खोपनिधि लोहनी, आदिवासी जनजाती महासंघमा तत्कालीन माओवादीका सुरेश आलेमगर र सहसंयोजकमा तत्कालीन एमालेका शेरबहादुर तामाङ, अपाङ्ग संगठनमा तत्कालीन माओवादीका इन्द्रमाया गुरुङ र सहसंयोजक रामप्रसाद ढुंगाना रहेका छन् ।

पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्