Logo
Logo

फुलसिंह कसरी बने अकुत सम्पत्तिका मालिक ?



काठमाडौं । अन्तशुल्कको नक्कली स्टीकर प्रकरणमा राजस्व अनुसन्धान विभागले तुल्सीपुर उच्च अदालत बुटवल ईकाईमा मुद्धा दायर गरेपछि रुपन्देहीका चर्चित अवैध मदिरा कारोबारी फुलसिंह क्षेत्री नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग धाउन थालेका छन् । क्षेत्रीले संचालन गर्दै आएको क्रिष्टल बोटलर्स प्रा.लि.ले उत्पादन गरेका न्युन कोटीका मदिरामा नक्कली अन्तशुल्क स्टीकर लगाएर बेचबिखन गर्दै आएकोमा पछिल्लो पटक सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट अबैध रुपमा नक्कली स्टीकर ल्याउँदै गर्दा समातिएको थियो ।

नक्कली स्टीकरको अनुसन्धान गर्दै गर्दा राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्री तहबाटै हस्तक्षेप गरी मुद्धा कमजोर बनाएपछि ५ करोड ५५ लाख ४३ हजार ८८ रुपैयाँ बिगो जरिवाना र कैद माग गर्दै मुद्धा दायर भएको हो । यस प्रकरणमा फुलसिंहविरुद्ध एक अर्बभन्दा बढी बिगो मागसहित मुद्धा दायर हुनुपथ्र्यो ।

क्षेत्री राजस्व विभागको मुद्धा कमजोर गराउन अर्थमन्त्री जनार्दन शर्मा निकट माओवादी केन्द्रका नेताकहाँ धाइरहेका छन् भने राजनीतिक दबाब दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाणकहाँ धाइरहेका छन् ।

क्रिस्टल बोटलर्स प्रा.लि. रुपन्देहीको मधौलियामा उद्योग छ । उनले त्यहाँ र भैरहवाको गोदाममा मदिरा स्टक गर्छन् । ५० युपी र ७० युपीका उनका उत्पादनहरू राजस्व छलि गरि नक्कली स्टीकर लगाएर रुपन्देही, नवलपरासी र कपिलवस्तुका सीमा क्षेत्रमा बेचबिखन हुने गरेको छ । त्यसका लागि सिडिओदेखि प्रहरी प्रमुख र चौकी इन्चार्जसम्म सेटिङ हुने गरेको छ ।

वर्षेनी एउटा एउटा लफडा गर्दै आएका क्षेत्री नक्कली स्टीकर काण्डमा यसअघि तीन तीन पटक मुद्धा खेपेका ब्यक्ति हुन् । अबैध उत्पादन तथा ब्यापारबाट अकुत सम्पत्ति कमाएका क्षेत्रीले बर्षेनि २५ करोडभन्दा बढीका घरजग्गा जोड्दै आएका छन् ।

पछिल्ला वर्षहरूमा उनको अवैध मदिराको सेटिङमा मर्चवारका सांसद तथा होटल व्यवसायी प्रमोद यादवले सघाउने गरेका छन् । यादवले सिडिओ, एसपी तथा चौकी इन्चार्जहरूसँग सहजीकरण गरिदिनुका साथै क्षेत्रीलाई गृहमन्त्री बालकृष्ण खाणसँग जोडिदिएका छन् । खाणलाई आउँदो चुनावमा आर्थिक रुपमा बलियो सपोर्ट गर्ने गरी क्षेत्रीले आन्तरिक राजस्व विभागको मुद्धा कमजोर गराउन प्रयोग गरिरहेका छन् । स्रोतका अनुसार सांसद यादवको होटल ब्यवसाय कोरोना महामारीका कारण ठप्प भएपछि बैंकको ब्याज लगायत अन्य आर्थिक समस्यामा परेका थिए । उनको आर्थिक समस्याको समाधान अबैध मदिरा कारोबारी क्षेत्रीले नै गरिदिएका छन् । क्षेत्रीले सबैलाई मिलाएको छु, मलाई राजस्व विभाग त के स्वयं भगवानले पनि छुन सक्दैनन् भन्दै भैरहवाको जनकपथको चिया पसलमा हाकाहाकी बताउँदै आएका छन् ।

क्षेत्री किन र कसरी अबैध कारोबारमा हावी भए त ? दृष्टिले गरेको खोजमा उनी तीन दशक अघि बुटवलका चर्चित मदिरा उद्यमी रोहित श्रेष्ठका कामदार रहेको पाइएको छ । रोहित श्रेष्ठ राजस्व ठगी काण्डमा फसेपछि मदिरा र कच्चा पदार्थ बिक्री गरी क्षेत्रीले कुम्ल्याएका थिए । त्यसबेलाका सहकर्मीहरु क्षेत्रीलाई रोहित डुबाउने नाईकेको रुपमा चित्रण गर्छन् ।

उनले गाउँ गाउँमा घरेलु मदिरा नियन्त्रणका नाममा गुण्डागर्दी गर्ने गरेको, रोहितको घरमा भात पकाउने काम गरेको र इमान्दारिता पूर्वक सेवा गरेका कारण रोहितले सोफी रक्सीको डिलरको काम दिएको बताइन्छ । रोहितको त्रिवेणी डिष्टिलरी र मथुरा मास्केको श्री डिष्टिलरी डुबेपछि ती उद्योगको बजार छोप्न कमसल रक्सी उत्पादनमा लागेका क्षेत्रीका क्रिस्टल डिष्टिलरी एकलौटी र शशी डिष्टिलरी साझेदारीमा छन् ।

बर्षेनि एउटा एउटा लफडा गर्दै आएका क्षेत्री नक्कली स्टीकर काण्डमा यसअघि तीन तीन पटक मुद्धा खेपेका ब्यक्ति हुन् । अबैध उत्पादन तथा ब्यापारबाट अकुत सम्पत्ति कमाएका क्षेत्रीले बर्षेनि २५ करोडभन्दा बढीका घरजग्गा जोड्दै आएका छन् । मदिरा व्यवसायी र उत्पादकहरुबीच समेत अलोकप्रिय क्षेत्री अबैध कारोबारका कारण बदनाम पनि छन् । उनकै कारण धेरै व्यवसायीहरू विस्थापित भएका छन् । क्षेत्रीमाथि सम्पत्ति शुद्धिकरणले समेत अनुसन्धान गर्नुपर्ने उनका सहकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्