Logo
Logo

पाँचथरमा २ परिवारका ९ जनाको हत्या


- दृष्टि न्युज/संवाददाता


पाँचथर , ७ जेठ ।

पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।

धनराज शेर्माको घरमा पाँच जना र अर्को छिमेकीको घरमा चार जनाको हत्या भएको हो । पाँचथरको फिदिमबाट घट्नास्थल पुग्न गाडीमा तीन घण्टा लाग्छ ।हत्या कसले किन गर्यो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।

उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या भएको छ । नजिकैको चौकीबाट गएको प्रहरीले अहिले प्रारम्भिक विवरण लिइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अहिले गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि घटनास्थलमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्