Logo
Logo

अख्तियारमै चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अनियमितताको अनुसन्धान गर्ने निकायहरुमा कसरी भ्रष्टाचार भइरहेको छ भन्ने कुरा हालैको केही घटनाले देखाएको छ । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय तथा राजश्व अनुसन्धान विभागभित्रै अनुसन्धान र छानबिनका नाममा भ्रष्टाचार भइरहेको प्रष्ट हुन्छ ।

अख्तियारले आइतबार नेपालगञ्ज भन्सार नाकाबाट भन्सार कर्मचारीकै मिलेमतोमा नक्कली प्रज्ञापनपत्र बनाएर तस्करी गरेको घटनामा बिशेष अदालतमा मुद्दा दायर ग¥यो । यो घटनाको सुरुवाती अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो । विभागले मुद्दा समेत दायर गरिसकेको छ । तर, दुई निकायको अनुसन्धानको प्रतिवेदन फरक फरक आएको छ, सोही अनुसार प्रतिवादीसमेत फरक परेका छन् ।

राजस्व अनुसन्धान विभागले गरेको छानबिनमा प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यकै संलग्ना देखाएको थियो । आचार्यसहित भन्सार अधिकृत वटुकृष्ण अधिकारी, भन्सार जाँचकी वसन्तकुमार सुवेदी, कम्प्युटर अपरेटर चन्द्रबहादुर क्षत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापाको त्यसमा मिलेमतो रहेको विभागको ठहर थियो । त्यहीअनुसार तस्करी गिरोहका नाइके विनोदकुमार गुप्तासहित कर्मचारीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।

तर, अख्तियारले भने त्यसमा भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, भन्सार अधिकृत वटुकृष्ण अधिकारी, जाँचकी नायब सुब्बा वसन्तकुमार सुवेदीको संलग्नता देखाएर उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । प्रमुख भन्सार अधकिृत लगायत राजस्वले दोषी देखेका कतिपय कर्मचारीलाई अख्तियारले उन्मुक्ति दिएको छ ।

राजस्व छलीको एउटै घटनामा दुई निकायले फरक–फरक व्यक्तिको संलग्नता देखाउनुले अनुसन्धानमा भएको चलखेल प्रष्ट हुन्छ । अख्तियारले यसमा राजस्व अनुसन्धान विभागकै नासु देवीबहादुर थापाको समेत मिलेमतो रहेको भन्दै उनीविरुद्ध समेत मुद्दा दायर गरेका छ । सो घटनाका दोषीलाई जोगाउन थापाले सहयोग गरेको आयोगको ठहर छ । एउटै घटनामा दुई थरी मुद्दाले दुवै निकायबाट अनुसन्धानमा चलखेल भएको प्रष्ट हुन्छ ।

उता बेरुजु पत्ता लगाउने निकाय महालेखा परीक्षकको कार्यालय समेत भ्रष्टाचारमा मुछिएको छ । जहाँका निर्देशक अजयकुमार देवकोटाविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ । मालपोत कार्यालय बाराका नासु मदनकुमार गुप्ताको भ्रष्टाचारमा साथ दिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो । नासु गुप्ता राजस्ववापतको सात करोड रुपैयाँ अनियमितता गरेर फरार भएका छन् । जसले महालेखाका कर्मचारीलाई समेत सेटिङ मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्