Logo
Logo

तेस्रो आइवार्ट सर्ट फिल्म प्रतिष्पर्धा २०२१ सम्पन्न



काठमाडौं । टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तराष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले राष्ट्रिय नाचघर काठमाडाँैमा तेस्रो संस्करणको लघुचलचित्र (सर्ट फिल्म) प्रतिष्पर्धा सम्पन्न गरेको छ । यही मंसिर २४ शुक्रबार सहभागी चलचित्रका निर्माता निर्देशक, निर्णायक मण्डल र आइवार्ट सदस्यको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउने क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिष्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ वटा लघुचलचित्र प्रदर्शन गरिएको थियो । वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जीवी गुरागाईँ, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक÷लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनको प्रमुख निर्माता तथा आइवार्ट नेपालकी सचिव नीता सापकोटालगायतका निर्णायक टोलीले कथा, निर्देशन र सन्देशका आधारमा चलचित्रलाई मूल्यांकन गरेका हुन् ।

प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल निर्देशक सरिता शाहको चलचित्र फगुनियाले नगद रु २५ हजार, द्वितीय स्थान हासिल गर्न सफल निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीकोे चलचित्र ललिताले नगद रु १५ हजार र तृतीय स्थानमा निर्देशकद्वय श्रृषा कुँवर र अस्मिता लावतीको चलचित्र समाइराले नगद रु १० हजार प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आइर्वाट नेपालले ‘जलवायु परिवर्तन’ क्लाइमेट चेन्ज विधातर्फ ६ वटा लघुचलचित्र प्रदर्शन गरिको थियो ।

उक्त बिधामा निर्देशक सोनाम छोके लामाको डोल्पाको हिमश्रृंखलाको कथा बोकेको चलचित्र द माउन्टेन आर एंग्री उत्कृष्ट हुँदै नगद रु २५ हजार प्राप्त गरेको छ । संसारभरि बढेदो जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न फिल्मको माध्यमबाट सचेतना फैलाउने उद्देश्यका साथ यसपटक ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा जलवायु परिवर्तन बिषयमा बनेका फिल्म पनि सहभागी गराइएको हो ।

उक्त कार्यक्रममा सिडको उपाध्यक्ष एवमं कार्यक्रमका प्रमुख अतिथि बन्दना राणाले महिलाको मुद्दा केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको भन्दै महिला हिंसा कम गर्नका लागि समाजको मानसिकतामा नै परिवर्तन हुनुपर्नेमा जोड दिइन ।

त्यस्तै आइवार्टको नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले आइवार्टको नेपाल च्याप्टरले गरी आएका गतिविधिका बारेमा जानकारी दिँदै महिला निर्देशकहरुको सीप विकास गर्दै महिला निर्देशकको संख्या बढाउनका लागि सर्ट फिल्मबीच प्रतिष्पर्धाको आयोजना गरिएको बताइन् ।

त्यस्तै सर्ट फिल्म प्रतियोगिताका संयोजक इच्छा गुरुङले सर्ट फिल्म प्रतिष्पर्धाका प्रक्रियागत मूल्याकनका बारेमा जानकारी दिएकी थिइन् । आइवार्ट नेपाल च्याप्टरका सदस्य सिलु अधिकारीले संचालन गरेको कार्यक्रममा आइवार्ट नेपाल च्याप्टरका उपाध्यक्ष मल्लिका भट्टराईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा आइवार्ट इन्टरनेशनलका अध्यक्ष भ्वाइलेट गोन्डाले पठाएको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो ।

१४ राष्ट्रहरुमा इकाइ तथा ५४ राष्ट्रमा सदस्यहरु फैलिएको आइर्वाटको नेपाल च्याप्टरले यसअघि सन् २०१९ र २०२० मा यस किसिमको प्रतिष्पर्धाको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्