Logo
Logo

मदन–आश्रितका सपना


- दृष्टि न्युज/संवाददाता


नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको भौतिक शरीर हामीबीच नरहेको २६ वर्ष भएछ । जति नै वर्ष बिते पनि मदन–आश्रित करोडौँ नेपालीको स्मृतिबाट हट्ने छैनन् । किनभने नेपालको कम्युनिष्ट आन्दोलनमा यिनको अतुलनीय योगदान छ । यतिबेला मुलुकमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार छ । पछिल्लो राजनीतिक परिवर्तन र सरकारमा बलियो सहभागिताको वास्तविक सुत्र तिनै मदन भण्डारीले दिएका हुन् । उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढेको तत्कालीन नेकपा (एमाले) तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सरकारमा मात्र होइन, प्रायः सबै स्थानीय तह र प्रदेशमा सरकार सञ्चालन गरिरहेको छ । केन्द्रीय सरकार मात्र होइन, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षमा पार्टीकै नेता पुगेका छन् ।

मदन भण्डारी त्यस्ता दूरद्रष्टा थिए, जसले संसारभर ‘सेटब्याक’ खाइरहेका बेला कम्युनिष्ट आन्दोलनलाई नयाँ प्राण भर्ने सञ्जिवनी आविष्कार गरे, जनताको बहुदलीय जनवादका रूपमा । जबजलाई मार्गदर्शक सिद्धान्त मानेर यता नेकपा एमाले पाइला चाल्दै गयो । संसारका थुप्रै देशबाट भने कम्युनिष्ट सरकार हराउँदै गए । केही देशमा कम्युनिष्ट पार्टी प्रदेशहरूभित्र खुम्चिँदै गए । हाम्रो दक्षिणको छिमेकी भारतका कयौँ राज्य त्यसका उदाहरण बने । तर, संसारभर नेपाल मात्र त्यस्तो देश बन्यो, जहाँ कम्युनिष्ट पार्टी फक्रँदै गयो, पूmल्दै गयो र फैलँदै गयो । परिणामस्वरूप संसारमै कहीँ नभएको दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्यो । यो देन जबजकै हो ।

यो पक्कै गर्व गर्न लायक उपलब्धि हो । तर, के मदन भण्डारीले देखेका सपना साकार भइसकेका हुन ? पक्कै होइन । मदन भण्डारीले देखेका सपना अझै पूरा भइसकेका छैनन् । ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिपादन गर्दै गर्दा उनले हरेक नेपालीको मुहारमा सुख र समृद्धिको सपना देखेका थिए । अहिलेको सरकारले उनले देखेको त्यो सपना पूरा गर्ने अठोटसहित ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने राष्ट्रिय संकल्प अघि सारेको छ । तर, सरकारको कार्यशैली अपेक्षाकृत त्यसतर्फ उन्मुख देखिँदैन । जनताको यति ठूलो उभार, समर्थनपछि पनि नेतृत्व कता कता अल्मलिएको देखिन्छ । सरकारले अपेक्षाकृत गति पकड्न सकेको छैन । मदन भण्डारी भन्ने गर्थे, ‘कहीँ अल्मलियौ, रोकियौँ भने जनतालाई सोध, तिम्रा पाइला स्वतः अघि बढ्छन्’ । तर, दुईतिहाइको सरकार जनताबीच पुगेको अनुभूति मतदाताले गर्न पाएका छैनन् । एकताका बाँकी काम तीन महिनाभित्र पूरा गर्छौं भनेर उद्घोष गरिए पनि वर्ष दिन बितिसक्दासमेत ती काम पूरा भएका छैनन् । लामो समयसम्म पार्टीका तल्ला कमिटी क्रियाशील नहुँदा जनताको बीचमा पार्टी पुगेको छैन । जसका कारण, पार्टीसँग मात्र होइन, सरकारसँग पनि जनताको दूरी बढेको देखिन्छ । खाडल गहिरिँदो छ । पार्टी, सरकार र जनताबीचको दूरी समयमै घटाउन प्रयत्न नभए, खाडल नपुरिए राष्ट्रिय संकल्प पूरा हुन सक्दैन । जनतालाई साथ लिएर सामाजिक न्यायसहितको समाजवादको परिकल्पना कोरा कागजमै सीमित हुन पुग्छ । त्यतिबेला सीमित नेताको अनुहारमा खुसी त रहला, तर करोडौँ नेपालीका मुहारमा खुसी देख्न पाइने छैन । मदन–आश्रितलाई सम्झिरहँदा पार्टी नेतृत्वले यो कुरा सधैँ स्मरण गरिरहनुपर्छ । किनभने, तिनका सपना पूरा गर्ने दायित्व यही पार्टी को हो । यही सरकारको हो । यही नेतृत्वको हो ।

अन्त्यमा, दृष्टि परिवार जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्