Logo

एकताको एक वर्ष : चर्कियो नेकपाभित्र अन्तरविरोध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि मुलुक नयाँ मोडमा थियो । संसारभरजस्तै नेपालमा पनि वामपन्थी आन्दोलनको भविष्य अनिश्चित थियो । तर, नेकपा एमालेको २०४९ माघ १४–२० काठमाडौंमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रम पारित ग¥यो, त्यसयता नेकपा एमालेले कहिल्यै पछाडि फर्कनु परेन । तत्कालीन महासचिव जननेता मदन भण्डारीले अघि सारेको त्यही कार्यक्रम अन्ततः नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त बन्यो । त्यसयता नेकपा (एमाले)भित्र सैद्धान्तिक राजनीतिक बहस खासै सुनिएन । तर, नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सैद्धान्तिक बहस छेडिएको छ । तर, यो बहस स्वस्थ हुनुको साटो अन्तरविरोधयुक्त र पूर्वाग्रहयुक्त बन्ने खतरा देखिएको छ ।

महाधिवेशन लक्षित गरी प्रचण्डलाई कमजोर बनाउन ईश्वर पोखरेलले वैचारिक बहसलाई हतियार बनाउन खोजेको स्पष्ट देखिन्छ । युवा संघको कार्यक्रममा उनले व्यक्त गरेका अभिव्यक्ति त्यसैका प्रमाण हुन् । कार्यक्रममा विचारमा स्पष्ट नभएको कम्युनिष्ट पार्टीले दुनियाँमा दुर्भाग्यको स्थिति भोग्नुपरको चर्चा गर्दै उनले त्यो दुर्भाग्य आफूहरूले भोग्न नचाहेको बताएका थिए । ‘हामीले विचारमा स्पष्ट भएको कम्युनिष्ट पार्टी चाहेका हौँ,’ पोखरेलको भनाइ थियो ।

युवा संघको २९औँ स्थापना दिवसको अवसरमा गत बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरूबाट व्यक्त अभिव्यक्तिले त्यसैको संकेत गर्छ । त्यसोतः केही दिन अघिदेखि नै वैचारिक बहसलाई अघि सारेर नेताहरू सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिसकेका छन् । विगत करिब एक वर्षदेखि सुषुप्त रहेको अन्तरसंघर्ष युवा संघको कार्यक्रममा छताछुल्ल बन्यो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य तथा सरकार उपप्रधानमन्त्री ईश्वर पोखरेलका अभिव्यक्तिमा एकअर्काविरुद्धको असन्तोष स्पष्टै झल्कन्थ्यो ।

त्यसको दुई दिनपछि ३ जेठका दिन २६औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको सन्दर्भमा बल्खुस्थित पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका दुवै अध्यक्षले वैचारिक विषयमा सार्वजनिक रूपमा चर्चा गरे । पार्टी एकतापछि अबको राजनीतिक कार्यनीति, रणनीति र कार्यक्रम के हुने भन्ने विषयमा पार्टीभित्र छलफल थालनी नहुँदै सार्वजनिक रूपमा आआफ्ना धारणा व्यक्त हुँदा त्यसले भोलिका दिनमा निम्तन सक्ने जोखिमतर्फ कसैको ध्यान पुगेको देखिएन ।

गत निर्वाचनबाट जनताले पाँच वर्षका लिागि दिएको जनादेशअनुसार यतिबेला मुलुकमा दुईतिहाइ बहुमतको सरकारको नेतृत्व नेकपाले गरिरहेको छ । पार्टी एकताको क्रममा तत्कालीन दुई पार्टीका अध्यक्ष ओली र प्रचण्डबीच आधा आधा समय प्रधानमन्त्री बन्ने तथा एकता महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउने सहमति भएको चर्चा पार्टीभित्रै चल्ने गरेको छ । त्यो सहमतिप्रति पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमहासचिव ईश्वर पोखरेल भित्रभित्रै विरोध जनाउँदै आएका छन् ।

नेपाल–पोखरेलका आफ्नै दाउ

वरिष्ठ नेता नेपाल एकता अधिवेशनबाट पुनः पार्टीको शीर्ष नेतृत्वमा पुग्ने चाहनामा देखिन्छन् । त्यसैअनुसार उनी पनि भित्री रूपमा रणनीति निर्माणमै लागेका छन् । पोखरेलले पनि आफूलाई ओलीको उत्तराधिकारीका रूपमा उभ्याउँदै अध्यक्षको दाबेदारीको तयारीमा देखिन्छन् । नवौँ महाधिवेशनका क्रममा ओली र पोखरेलबीच यही कुरामा सहमति भएको थियो । तर, माओवादीसँग पार्टी एकतापछि कोर्ष बदलिएको छ । तर, महाधिवेशनबाट निर्वाचित महासचिव पोखरेल एकीकरणपछि बनेको नेकपाको महासचिवमा विष्णु पौडेललाई ल्याइएपछि ओलीसँग क्रुद्ध छन् । आफूभन्दा जुनियर पौडेललाई अघि बढाउन प्रचण्डलेसमेत सघाएको उनको निष्कर्ष छ । त्यसयता उनी पनि एकता महाधिवेशनलाई आफूअनुकूल बनाउने गृहकार्यमा जुटिसकेका छन् । त्यसैले पनि पोखरेल कुनै पनि हालतमा प्रचण्डलाई नेकपाको नेतृत्व दिने पक्षमा छैनन् । त्यसका लागि उनले अबको नेतृत्व ‘दोस्रो पुस्तामा हस्तान्तरण हुनु पर्ने’ गोटी चाल्ने दाउमा छन् । दोस्रो पुस्ताका सबै नेतालाई आफूतिर समेट्ने रणनीति साथ उनी गृहकार्यमा देखिन्छन् ।

पावर सेयरिङको किचलो

‘पावर सेयरिङ’को तत्कालीन सहमतिबारे स्वयम् ओली नै पनि इमान्दार देखिने सम्भावना न्युन छ । त्यसको छनक ओलीले आठ महिनाअघि गत असोजमै देखाइसकेका छन् । ६ असोजमा २० सदस्यीय प्रतिनिधिमण्डल लिएर न्युयोर्क हिँडेका ओली १७ असोजमा फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनले भने, ‘मेरो नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्छ ।’ उनको त्यो अभिव्यक्ति प्रचण्डमाथि लक्षित थियो । उनी अमेरिका जानुअघि भदौ २१ देखि २६ सम्म प्रचण्डले भारत भ्रमण गरेका थिए । त्यसक्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ओली र आफूबीच ‘आधा–आधा समय सरकार चलाउने र महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउने’ सहमति भएको खुलासा गरेको खबर ढिलो गरी सार्वजनिक भएको थियो । एक भारतीय सञ्चारमाध्यसँगको अन्तर्वार्तामा पनि प्रचण्डले सो कुरा उल्लेख गरेका थिए । त्यसैलाई जबाफ दिँदै ओलीको त्यस्तो बयान आएको थियो । त्यसयता ओलीसँग झस्किएका प्रचण्ड अहिले पनि ढुक्क देखिँदैनन् ।

प्रचण्डको असन्तोष

ओलीले सरकारका कतिपय महत्वपूर्ण निर्णय लिँदासमेत आफूसँग सल्लाह नगर्दा असन्तुष्ट देखिन्छन् । कतिपय बेला उनले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै राख्ने गरेका छन् । कार्लमाक्र्सको २००औँ जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जंगल जाने चेतावनीसमेत दिए । जनयुद्धका बेला पार्टी सानो हुँदा अनुभूति गरिने आत्मियता हिजो आज सात लाख कार्यकर्ता भएको पार्टीको अध्यक्ष हुँदासमेत गर्न नपाएको उनको गुनासो थियो । ‘हिजो एउटा साथी भेट्दा अपार आनन्दको अनुभूमि हुन्थ्यो । तर, आज लाखौँ कार्यकर्ताको बीचमा पनि एक्लो महसुस हुन्छ,’ उनले भनेका थिए । उनको यो असन्तोष सिधासिधा ओलीप्रति लक्षित थियो । ओलीले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेतालाई साथ लिएर अध्यक्ष बन्ने हुन् कि भन्ने चिन्ता प्रचण्डमा देखिन्छन् । त्यसैले उनी गौतममार्फत् पूर्वएमालेका नेतालाई निकट ल्याउने प्रयासमा छन् ।

प्रचण्डविरुद्ध जबजको हतियार

महाधिवेशन लक्षित गरी प्रचण्डलाई कमजोर बनाउन ईश्वर पोखरेलले वैचारिक बहसलाई हतियार बनाउन खोजेको स्पष्ट देखिन्छ । युवा संघको कार्यक्रममा उनले व्यक्त गरेका अभिव्यक्ति त्यसैका प्रमाण हुन् । कार्यक्रममा विचारमा स्पष्ट नभएको कम्युनिष्ट पार्टीले दुनियाँमा दुर्भाग्यको स्थिति भोग्नुपरको चर्चा गर्दै उनले त्यो दुर्भाग्य आफूहरूले भोग्न नचाहेको बताएका थिए । ‘हामीले विचारमा स्पष्ट भएको कम्युनिष्ट पार्टी चाहेका हौँ,’ पोखरेलको भनाइ थियो, ‘हामीले संसारभर देख्यौँ, कम्युनिष्ट पार्टीहरूले ठूल्ठूला बलले राज्यसत्ता कब्जा गरे । शासनसत्ता सञ्चालन गरे । तर, कुनै पनि पुँजीवादीको एउटा पनि गोली नलागी तासको महलझैँ ढले ।’ पार्टी तजबिजी हिसावले चलेको आरोपसमेत उनले लगाए । ‘हामी त नेता भइरहौँला, तर आन्दोलन कसरी अघि बढ्छ, कसरी नेतृत्व हुन्छ भन्ने प्रश्नको हल हुन जरुरी छ । विचार, संगठन र नेतृत्वको प्रश्नमा सोलोडोलो कुरा गर्न मन पराउँछौँ, भइहाल्छ नि, चलाउँछौँ, चलिहाल्छ नि भन्छौँ । यसरी हुँदैन । तजबिजी आधारमा पार्टी चल्नु हुँदैन । वैचारिक रुपमा स्पष्ट भइएन भने न हाँस न कुखुराको चाल हुन्छ,’ प्रचण्डतिर लक्षित गर्दै उनले भनेका थिए ।

सोही कार्यक्रममा प्रचण्डले पोखरेललाई कडा जवाफ दिए । वैचारिक आधारबिना पार्टी एकता भयो र कुनै राजनीतिक दिशा छैन भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । ‘हामीले यो सिद्धान्त, यो विचार भनेर धेरै माथापच्ची गरेको भए पार्टी एकता हुने थिएन, यो सरकार बन्ने थिएन । त्यसैले यो एकतामा नेतृत्व र विचार दुवैको भूमिका थियो । विचारको कुनै भूमिका थिएन भन्ने ठानियो भने गलत हुन्छ,’ उनले भने, ‘एकताकै जगमा विचार निर्माण भइरहेकाले यसलाई जडसूत्रवादी ढंगले बुझ्न हुँदैन ।’ तत्कालीन एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको वकालत गर्ने पोखरेललाई कटाक्ष गर्दै उनले भने, ‘माक्र्सवाद विचार दोहो¥याइरहने कुरा र बाइबलजस्तो होइन । यसलाई निरन्तर विकास गर्नुपर्छ । अनि मात्र त्यसले मानवजातिको विकास गर्छ ।’

सार्वजनिक कार्यक्रममार्फत् वैचारिक बहसमा होमिएका कुनै पनि नेताले पार्टीभित्र भने छलफल चलाएका छैनन् । पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल सुनील भन्छन्, ‘स्वस्थ वैचारिक बहस बिना देश र जनताको हित गर्न सक्ने पार्टी बनाउन सकिँदैन । अब पार्टीभित्र ग्रेट डिबेटको आवश्यकता छ (अन्तर्वार्तामा)

शुक्रबार मदन–आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजलाई सूत्रका रूपमा घोक्ने, कण्ठ गर्ने वा हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही भनेर कम चल्छ भन्ने होइन भन्ने धारणा राखेका थिए । मदन भण्डारीले अगाडि सारेको विचारधारलाई पार्टीले छाड्दैन भन्दै उनले अहिलेको धारबाट अघि बढ्ने र विचारधारात्मक एकता र स्पष्टताले सबै कुरालाई खँदिलो बनाउँदै लागिने धारणा राखे । सोही कार्यक्रममा प्रचण्डले साविक एमालेको जबज र माओवादीले अघि सारेको एक्काइसौँ शताब्दीको जनवाद तथा जनयुद्धको अनुभवबाट शिक्षा लिँदै जनताको जनवादको सैद्धान्तिक, वैचारिक कार्यदिशाका जगमा समाजवादको मोडल विकास गर्ने गरी महाधिवेशनमा बहस गर्नुपर्ने बताए । ‘हामीले अन्धो भएर एकता गरेका होइनौँ, जनताको जनवादको सैद्धान्तिक कार्यदिशालाई तत्कालका लागि समाजवादको रणनीतिक प्रयोग गरेका हौँ,’ उनले भने, ‘यो धरातलमा टेकेर महाधिवेनसम्म पुग्दा सही विचार स्थापित गर्ने संकल्प गर्ने गरी हस्ताक्षर गरेका छौँ । समाजवादको नयाँ मोडल दिने आँट गरेका छौँ ।’ यसो भनिरहे पनि नेताहरूमा पार्टीभित्र स्वस्थ वैचारिक बहसभन्दा अन्तरसंघर्षमा रुचि देखिन्छ । एकताको एक वर्ष बित्दासमेत पार्टीले पूर्णता पाउन सकेको छैन । तर, यस्तोमा, अहिले सतहमा देखिएका र सुनिएका बहस र विवादको अन्तर्य आगामी एक वर्षभित्र गर्ने भनिएको महाधिवेशनबाट कसरी पार्टी नेतृत्वमा पुग्ने भन्ने नै रहेको स्पष्ट देखिन्छ । चमत्कारिक रूपमा पार्टी एकता भएको वर्ष दिन नबित्दै यसरी सुरु भएको अन्तरसंघर्ष आगामी दिन थप पेचिलो बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्