Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माणकार्यको शिलान्यास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते सोमबार धादिङको गल्छीमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्धारा आयोजित एक भव्य समारोहकाबीच मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) निर्माण कार्यको शिलान्यास गर्नुभयो । मोवाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट लगायतका अत्याधुनिक सञ्चार सेवाहरुलाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउनका लागि थालिएको अभियानको प्रधानमन्त्रीले साबेलले भुँइ खनेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको र यसका लागि टेलिकमले ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्सस प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)सँग सम्झौता भएको छ । त्यस्तै गरी डीडब्लुडीएm इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि दुई वर्षको रहेको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल नेटवर्क जोडिने योजना छ ।

उक्त लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुनेछन् । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाइएको छ ।

आजै प्रदेश १ अन्तर्गत धनकुटाको हिलेमा र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा मध्य पहाडी लोकमार्ग सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

गल्छीमा आयोजित कार्यक्रममा बोल्नु हुँदै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्ग सूचना महामार्गको निर्माण डिजिटल नेपाल बनाउने कार्यको एक अभिन्न अंग भएको बताउनु भयो । उहाँले सो अवसरमा फोनको मात्र नभएर मोबाइल र इन्टरनेटको समेत गुणस्तरीय सेवा सहज रुपले मुलुकभर प¥ुयाउने उद्देश्यले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै सञ्चार क्षेत्रमा यो ठूलो फड्को भएको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना महामार्गको निर्माणले उच्च गुणस्तरका अत्याधुनिक सञ्चार सेवाको उपलब्धतासँगै टेलिमेडिसिन, डिस्ट्यान्स लर्निङ, इ–कमर्स, इ–एग्रिकल्चर, इ–टुरिज्म र इ–बैंकिङ सेवामा समेत सूचना प्रविधिको वृहत्तर प्रयोग गर्न सकिने बताउनु भयो । हाल जम्मा ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट पहुँच सूचना महामार्गको निर्माणसँगै सबै नेपालीसम्म पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आजको युग सूचना र सञ्चारको युग भएकाले सूचना महामार्गको निर्माणले संमृद्धि हासिल गर्नका लागि समेत ठूलो भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

सो शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सूचना र सञ्चार महामार्गको निर्माणले मुलुकलाई डिजिटल युगमा रुपान्तरण गर्ने बताउनु भयो । उहाँले सूचना महामार्ग र फोरजी नेटवर्कले नेपाललाई डिजिटल अर्थतन्त्रको युगमा प्रवेश गराउने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना महामार्गको निर्माणबाट मुलुकको सर्वोपरी विकास र आधुनिकीकरणमा सहयोग पु¥याउने बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले आफ्ना भनाइहरु राख्दै सूचना र सञ्चारका क्षेत्रमा नेपाल र चीनबीच फोरजी विस्तारदेखि सूचना महामार्ग निर्माण कार्यमा भएका सहकार्यबाट दुई मुलुकबीचको सम्बन्ध थप मजबुत भएको बताउनु भयो । यसै गरी कार्यक्रममा संघीय सांसदहरु राजेन्द्र प्रसाद पाण्डे, भूमी त्रिपाठी, खेम लोहनी तथा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेश सभासद् राजेन्द्र प्रसाद पाण्डेले पनि मन्तव्य राख्नुभएको थियो ।
सो कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशकहरु प्रदीप राज उपाध्याय, शैलजा राई, गोकर्ण प्रसाद सिटौला र मटुक आनन्द वैद्य लगायत कम्पनीका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्