Logo
Logo

कान्स फिल्म फेस्टिवल–२०१९ : ७२ वर्षपछि बल्ल नेपाली


एमपी सुब्बा


एमपी सुब्बा

‘कान्स फिल्म फेस्टिवलमा नेपाली कलाकारको इन्ट्रि हुँदै’ यस्तै शीर्षकमा फ्रान्सेली मिडियाले मात्र नभएर हलिउड र बलिउडका केही ठूला अन्तर्राष्ट्रिय अनलाइन पार्टलहरुले आइतबार र सोमबार समाचार सम्प्रेषण गरे ।

कान्समा प्रियंकाको पहिरन कस्तो हुन्छ ? त्यसको प्रतिक्षा आमनेपालीलाई हुनेछ । चर्चा र परिचर्चा नगरिएपनि अभिनेत्री कार्की निराशचाहिँ हुनुपर्ने छैन किनकि, कान्समा नेपाली कलाकारले सहभागी जनाउन पाउनु नै सबैभन्दा ठूलो कुरा हो । अभिनेत्री कार्कीले पनि आफूले कान्समा सहभागीबारे जानकारी गराउँदै ‘नेपालको प्रतिनिधित्व गरेर कान्सको रेड कार्पेटमा हिँड्नु पाउनु नै गर्वको कुरा’ भएको बताएकी छन् ।

यता नेपाली मिडियाले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन्, ‘७२ वर्षपछि बल्ल कान्समा नेपाली कलाकारको पाइला’ यस्तै–यस्तै । नेपाली कलाकारको सहभागिता नहुँदासमेत ‘कान्स’ र ‘ओस्कर’का समाचारलाई यहाँ प्राथमिकता दिइन्छ किनकि, यी दुई इभेन्ट फिल्मी दुनियाँका लागि ‘सगरमाथा’ मानिन्छ ।

अझ फिल्मी तथा इभेन्टका समाचार सम्प्रेषण गर्ने पत्रकार तथा मिडियाहरुले त ‘कान्स’ र ‘ओस्कार’को समाचारलाई स्थान दिएन भने आफूलाई ‘अधुरो’ मान्छ । कलाकारका लागि त यी दुई इभेन्ट ‘सपना’ नै हो, जो फिल्मी दुनियाँमा रमाउन सुरु गर्छ, त्यसपछि ‘ओस्कर’ र ‘कान्स’को सपना देख्न थाल्छ । तर, अझैपनि बलिउड र हलिउडबाहेकका अधिकांश देशका कलाकारहरुको त्यो सपना, सपनामै सिमित हुँदै आएको छ ।

‘मेरो एउटा सपना बल्ल पूरा हुँदैछ’ अभिनेत्री प्रियंका कार्कीले शनिबार आफ्नो फेसबुक एकाउन्टमा स्टाटस पोष्ट गरिन्, ‘यो मेरोमात्र नभएर आमनेपालीको सपना पनि हो, जसलाई सार्थक बनाउँदै छु ।’

फ्रान्सका जारी ‘कान्स फिल्म फेस्टिवल–२०१९’मा सहभागी हुने पक्का भएपछि अभिनेत्री कार्कीले स्टाटसमार्फत खुसी व्यक्त गर्दा अन्य नेपाली फिल्मकर्मी झनै दंग भए । ‘वा, नेपाली कलाकार पनि अब कान्समा’ आश्चार्य र खुुसी एकैसाथ नेपाली कलाकारलाई भएको छ । किनकि, केही वर्षयता ओस्करमा नेपाली फिल्महरु छनोट हुँदै आएपनि ‘कान्स’मा सहभागीका लागि पहिलो अवसर पाएको हो । ७२ वर्ष पुरानो फिल्मी इभेन्टमा पहिलोपटक पाइला राख्ने अवसर पाउँदा नेपाली कलाकारलाई कान्सको रेड कार्पेटमा आफै हिँडिरहेको महशुस गरेका छन् ।

अन्तर्राष्ट्रियरुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिति रहने गर्छ ।

यसलाई संसारभरीका सेलिब्रिटीको मेला समेत भनिन्छ । तर, त्यो मेला भर्ने अवसर नेपाली सेलिब्रेटीलाई अहिलेसम्म जुरेको थिएन । छिमेकी देश भारतबाट भने प्रत्येक वर्ष केही अभिनेत्री तथा अभिनेताको कान्समा रेडकार्पेट नाप्दै आएका छन् । उनीहरुले हलिउड सेलिब्रेटीलाई समेत ओझेल पारेर फर्किन्छन् ।

ऐश्वर्या राय, प्रियंका चोपडा, दिपिका पादुकोण, सलमान खान, अभिताभ बच्चनजस्ता बलिउडका सेलिब्रेटीहरु कान्समा मात्र नभएर ओस्कर’मा समेत अन्तर्राष्ट्रिय मिडियाको तारो बन्ने गरेका छन् । यी फिल्मी इभेन्टमा प्रतिनिधित्व गर्ने अवसर पाउँदा कलाकारले मात्र नभएर ती देशले नै गर्व गर्ने गर्छ । कान्स र ओस्करमा सहभागीका लागि आ–आफ्नै नियम हुन्छ । जसले गर्दा जोसुकै कलाकार त्यो इभेन्टसम्म पुग्ने हैसियत राख्दैन । हैसियत नराख्ने थुपै्र देशमध्ये एक नेपाल पनि हो ।

कान्समा सहभागी हुन आयोजकबाट निम्तो आउनुपर्ने नियम छ । कान्समा सहभागिताका लागि अभिनेत्री कार्कीले निकै लामो प्रोसेस झेलिन् । अन्ततः ७२औँ बर्षमा आएर ‘कान्स’का लागि उनी ब्राण्ड एम्बासेडरको रुपमा छनोट भइन् ।

कान्समा अभिनेत्री कार्की नेपालबाट सहभागी हुने पहिलो नायिका भएकी छन् । कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा उनी २० मेदेखि २४ बीचमा सहभागी हुनेछिन् । त्यसका लागि उनी फ्रान्स पुगिसकेकी छन् ।

संसारका फिल्मकर्मीको महा–उत्सवका रुपमा समेत लिइने कान्स विशेषगरी सेलिब्रेटीबीच आफ्नो स्टारडमको टक्कर हुने गर्छ । कान्स फिल्म र फेसनको फ्युजन पनि हो । जसले गर्दा कान्समा सहभागी हुने अभिनेत्रीहरुले पहिरनमै लाखौँ खर्चेका हुन्छन् । पहिलोपटक सहभागी हुँदै गरेकी अभिनेत्री कार्कीले पनि पूर्ण तयारी गरेर कान्समा सहभागी हुन लागेको जनाएकी छन् ।

‘नेपालको सहभागितालाई सार्थक तुल्याउने छु’ फ्रान्स उड्नुअघि उनले भनिन्, ‘नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सु–सन्देश दिनेछु ।’ यस बर्षको कान्स फिल्म फेस्टिवलको ७२औँ संस्करण फ्रान्समा १४ मेमा सुरु भइसकेको छ । २५ मेसम्म आयोजना हुने कान्समा सहभागीका लागि विश्वभरका सेलिब्रेटीहरु फ्रान्स ओइरिने क्रम जारी छ ।

आयोजकले आयोजककै नियमअनुसार सेलिब्रेटीहरु फरक–फरक दिन सहभागी हुने गरेका छन् । आयोजकले निम्तो दिँदा नै फरक–फरक रुटिङ दिएको हुन्छ । फुलबलको महाकुम्भ मेला मानिने ‘वल्र्डकप’मा जसरी सहभागी राष्ट्रहरुलाई समूहगत रुटिङ दिएको हुन्छ, ठ्याक्कै कान्स पनि त्यस्तै हो ।

अहिले फ्रान्सको राजधानी पेरिसका होटलहरु संसारका सेलिब्रेटीले भरिएका छन् । १२ दिनसम्म चल्ने यो फिल्मी उत्सवमा संसारका धनाढय तथा उद्योगपतिहरु समेत सहभागी हुने गरेका छन् ।

कान्समा विशेषगरी हलिउड र बलिउड सेलिब्रेटीको बर्चश्व रहँदै आएको छ । उद्योपति र ठूला ठूला लगानीकर्ताहरुको सहभागिताले गर्दा हलिउड र बलिउडका अभिनेत्रीबीच आफ्नो ‘स्टारडम’ र ‘फेसन’ प्रदर्शन चर्को टक्कर पर्ने गर्छ । अभिनेत्री प्रियंका कार्की नेपाली सेलिब्रेटीमा फेसन कन्सस मानिन्छिन् । उनले आफ्नो सहभागीतालाई सार्थक बनाउन आफनो तर्फबाट पूर्ण कोसिस गर्ने बताएकी छन् ।

यस्ता फेस्टिवलहरुमा बिषेशगरी नायिकाहरुले लगाउने पहिरनको चर्चा गरिन्छ । त्यसैले पनि कान्समा प्रियंकाको पहिरन कस्तो हुन्छ ? त्यसको प्रतिक्षा आमनेपालीलाई हुनेछ । चर्चा र परिचर्चा नगरिएपनि अभिनेत्री कार्की निराशचाहिँ हुनुपर्ने छैन किनकि, कान्समा नेपाली कलाकारले सहभागी जनाउन पाउनु नै सबैभन्दा ठूलो कुरा हो । अभिनेत्री कार्कीले पनि आफूले कान्समा सहभागीबारे जानकारी गराउँदै ‘नेपालको प्रतिनिधित्व गरेर कान्सको रेड कार्पेटमा हिँड्नु पाउनु नै गर्वको कुरा’ भएको बताएकी छन् ।

उनले आफूलाई कान्समा सहभागीका लागि अवसर प्रदान गर्ने रिचर्ड निल्सन, एलियन लेसेउर, खेन रिनपचे, फुर्बा डोरा लामा, फेसन डिजाइनर तेन्जििङ भूटियालगायतलाई धन्यवाद दिएकी छन् । उनले यो अवसर नेपालीका लागि गर्वको कुरा भएको भन्दै आफुना सर्पोटर र माया गर्ने फ्यानहरुलाई पनि धन्यवाद दिएकी छन् ।

कान्स फिल्म फेस्टिवल एकेडेमिक फिल्म अवार्ड ‘ओस्कर’पछि फिल्मी दुनियाँमा दोस्रो ठूलो इभेन्ट मानिन्छ अर्थात यो इभेन्ट ‘ओस्कर अवार्ड’को प्रतिस्पर्धी फिल्मी इभेन्ट पनि हो । ओस्करले ९०औँ संस्करण पार गरिसकेको छ भने कान्स ७२औँ संस्करणमा आएको छ । यी दुईटै फेस्टिवल पुराना र प्रतिष्ठित फिल्मी इभेन्ट पनि हो । यी गरिमामय फिल्मी इभेन्टमा सुरु भएको ७२ वर्षपछि बल्ल नेपाली कलाकारका लागि ढोका खुलेको छ । यो नेपाली कलाकारका लागि सुखद् सुरुवात हो ।

प्रतिक्रिया दिनुहोस्