Logo
Logo

एमालेको ओलेकरण



सामान्यतः राजनीतिक पार्टीका दुईवटा अनुहार हुन्छन् । पहिलो अनुहार, त्यो पार्टीको पार्टी कमिटीमा रहने नेतृत्व हो भने, दोस्रो अनुहार त्यो पार्टीको तर्फबाट सार्वजनिक पदमा हुने जनप्रतिनिधित्व । राजनीति पार्टीको स्कूलिङ सही हुँदा ती दुई अनुहार फरक हुन्छन्, बनाइन्छन् । मतलव, पार्टी प्रतिनिधित्व गर्ने र जनप्रतिनिधित्व गर्ने पार्टी नेता कार्यकर्ताको सेट नै फरक हुन्छ ।

तर, नेपाली राजनीतिमा त्यस्तो अवधारणा सुरूदेखि नै गौढ रहदै आएको छ । केही अपवाद र छिटफुटका घटनालाई छोडेर सबै पार्टीमा जो पार्टी कमिटीमा हुन्छन्, उनै जनप्रतिनिधि पनि हुन्छन् । अर्थात्, पार्टीको एउटै अनुहार बनाइन्छ । त्यसो गर्दा पार्टीमा एउटै शक्ति केन्द्र हुने र व्यवस्थापन गर्न सजिलो हुने तर्क गरिन्छ ।

नेपालमा दलीय व्यवस्थाको इतिहास लामो छैन । दलहरू नीतिप्रधान हुनेभन्दा पनि नेताप्रधान हुने बाटोमै छन् । टुटफुट र जोडजाडको चरण जारी छ । आन्तरिक लोकतन्त्रको स्थिति नाजुक छ । सुरूवाती दौडमै नेताहरूले आफ्नो नियत र ल्याकतमाथि प्रश्न उठाउने पर्याप्त ठाउँ दिएका छन् ।

मुलुकको संविधान पनि यही प्रकृतिका दल र प्रवृतिका नेताका स्वार्थको सम्झौताको दस्तावेजजस्तो मात्र देखिएको छ । संविधान नै पार्टी र सार्वजनिक पदमा एउटै अनुहार देखाउने मन्सायले बनाइएको छ । प्रधानमन्त्री, मन्त्रीजस्ता राज्य सञ्चालनका महत्वपूर्ण सार्वजनिक पदका लागि सांसद हुनैपर्ने प्रावधान त्यसैको प्रतिविम्व हो ।

डा. प्रदीप भट्टराई

नेपालमा पार्टीगत र जनप्रतिनिधिमुलक संरचनामा फरक अनुहार दिन एमालेले गतिलै प्रयास गरेको हो । पञ्चायतकालमै प्रक्षेपण गरिएका जनपक्षीय उम्मेद्वार त्यसैको साक्षी हो । २०४६ को जनआन्दोलनपछि बनेको पहिलो सरकारमा पनि त्यतिबेला पार्टीको पार्टीगत शीर्ष पंक्ति गएन । २०५१ मा पहिलोपटक सरकार बनाउँदा पनि तत्कालिन आलंकारिक पार्टी प्रमुख अध्यक्ष मनमोहन अधिकारी प्रक्षेपित भए, पार्टीका खास सञ्चालक महासचिव मदन भण्डारी पार्टी अनुहार नै बने ।

माधव नेपाल र झलनाथ खनाल पार्टी प्रमुख भएको बेला पनि त्यस्ता प्रयत्न भए । एमालेको सुरूवाती प्रयोगले गतिलै बेञ्चमार्क बनाउने काम गर्यो । अन्य दललाई पनि आजको मापदण्ड त्यही हो भनेर पछ्याउन दबाब दियो । त्यतिबेला राजनीति आजजस्तो व्यवसाय भएको थिएन, त्यसैले लगभग सबैलाई राजनीतिको सही प्रक्षेपण त्यही लागेको थियो ।

अहिलेको कुरै फरक छ । एमाले अन्ततः ओले भएको छ । ओले एउटा यस्तो प्रवृति हो जसले राजनीतिलाई साधन हैन, साध्य ठान्छ । जहाँ राजनीति मूल्यमा आधारित व्यावसायभन्दा पनि तल्लो स्तरको फौबन्जारी व्यापारमा भन्दा बढी केही हैन । राजनीति त माथिल्लो तलामा राखिएको लाभको पद पाउँन चढिने भर्याङ मात्र हो ।

त्यहाँ पुग्न पहिला पार्टीको अनुहार आफ्नो बनाउनुपर्छ । त्यसपछि त्यसकै आडमा सार्वजनिक भूमिकाको अनुहार पनि कब्जा गर्नुपर्छ । त्यही कब्जाबाट मात्र सम्भव हुन्छ, राज्य दोहन । अहिले ओले बनेको एमालेको राजनीतिक मार्गचित्र नै यही हो ।

एमालेको पहिलो अनुहार ओले भैसकेको छ । १०औं महाधिवेशनमा जुन प्रपञ्च रचेर ओलेकरणको सुरूवात गरिएको थियो, भर्खरै भक्तपुरमा जारी केन्द्रीय समितिको बैठकमा त्यसको बाँकी काम पनि पूरा भएको छ । ओलीले सचिवालयलाई पूरै बेवास्ता गर्दै केन्द्रीय सदस्यमा जे जस्ता अनुहार मनोनित गरे, ती सबै जोडेर जस्ता अनुहार पोलिटब्युरो र स्थायी समितिमा लगे अनि पार्टीको रोलक्रम जस्तो बनाए, विभागका प्रमुख जस्ता बनाए, प्रदेशका हाकिमहरूमा जेजस्तालाई टिका लगाए– ती सबैबाट अब पार्टीको पहिलो अनुहार ओले भएको छ ।

अब एमालेको दोस्रो अनुहार ओले बनाउन धेरै टाढा छैन । आसन्न तीनै तहको चुनावमा ओलीले जे जस्ता अनुहारलाई टिकट दिन्छन्, त्यसबाट जे जतिले जित्छन्, त्यसबाट एमालेको अर्को अनुहार पनि ओले हुने छ । र, एमालेको ओलेकरण पूरा हुने छ ।

एमालेको ओलेकरण भनेको के हो ? यो अंकको विलोमको सुरूमै फर्कौं– ‘सामान्यतः राजनैतिक पार्टीका दुईवटा अनुहार हुन्छन् । पहिलो अनुहार, त्यो पार्टीको पार्टी कमिटीमा रहने नेतृत्व हो भने दोस्रो अनुहार त्यो पार्टीको तर्फबाट सार्वजनिक पदमा हुने जनप्रतिनिधित्व ।‘ ओलीले पहिलो अनुहार फेरिसके, दोस्रो अनुहार फेर्न अब उनी चुनावको समय प्रतिक्षा गरिरहेका छन् । त्यतिबेला उनले जित्ने सम्भावना भएका सम्पूर्ण ठाउँमा ओलीबा मार्कालाई टिकट दिनेछन् ।

दोस्रो प्राथमिकतामा पूर्वमाओवादी पृष्ठभूमिका पर्नेछन् । त्यसबाट पनि कतै बचेखुचे भने या एकीकृत समाजवादीका नेतासँग भिडाउँनु पर्ने ठाउँमा १० बुँदेहरूलाई दिनेछन् । त्यसपछि एमालेले जनप्रतिनिधित्व गर्ने ठाउँमा ओलीका अनुयायीहरू मात्र हुनेछन् र एमालेको दोस्रो अनुहार पनि पुरै फेरिनेछ । यही हो, एमालेको ओलेकरण ।

आज एमाले ओले बन्नमा धेरथोर सबैको योगदान छ । बेलैमा ओलीलाई चिन्न नसकेकाहरू आआफ्नो कुकर्मका लागि पश्चाताप गर्दै कुना पसेर रोइरहेका छन् । त्यसमा सबैभन्दा बढी नीलो पीडामा बामदेव गौतम होलान् । इतिहास साक्षी छ, ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने संख्या दिएर उनले नै एमालेलाई ओले बनाउन निर्णायक भूमिका निर्वाह गरेका हुन् ।

त्यसपछिको क्रममा छन्, एमाले र सूर्यको रापमा मात्र आफ्नो लाभको पद सुनिश्चित देखेका १० भाइहरू । आज उनीहरू ओलीको प्रताडनामा कुना पसेर रोइरहेका छन् । दुःखको कुरा, आज उनीहरूसँग यो पीडामा साथ दिन कोही बाँकी छैनन् । उनीहरूलाई नेता मान्ने एकीकृत समाजवादीमा गए, ओलीभक्तहरू प्रधानमन्त्रीबाट हटाउने तिमीहरू नै हैनौ भन्दै चुनी चुनी बदला लिएकोमा हर्ष बढाइ गरिरहेका छन् ।

एमालेलाई ओले बनाउने ओली अब व्यक्ति हैन, एक आमप्रवृति बनेको छ । त्यो भनेको कार्यकर्तालाई भेडा बनाउ र राज गर भन्ने हो । जहाँ विवेकको प्रयोग गर्न बर्जित हुन्छ, आलोचनात्मक चेतमाथि धावा बोलिन्छ र भनिन्छ, ओली बा– आइ लव यु । आफ्ना र आफ्नाका लागि लागि जे पनि गर्ने हातमा रामराम बगलीमा छुरा यो प्रवृतिमा झुट, जालझेल, तिकडम, धोकाधडी, बेइमानी, विश्वासघात, मूल्य मान्यताको बलात्कार जे गरे पनि हुन्छ तर पद चाँहि हासिल हुनैपर्छ । र, त्यो पद भनेको कथनीमा जे भने पनि करणीमा देश लुट्ने लाइसेन्स मात्र हो ।

एमाले त आधा ओले भैसक्यो, बाँकी आधा पनि चुनावसम्ममा भैसक्छ । एमाले आधा ओले भैसकेको यतिबेला यो पंक्तिकारलाई एमालेका १० बुँदेहरूको नाजुक अवस्था देखेर दया लागिरहेको छ । भीम रावल त एमालेको रिङ बाहिर नै भैसके । नाम मात्रको उपाध्यक्षको थपनामा राखिएका छन् युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे ।

लेखराज र टोपबहादुरभन्दा पनि तल राखिएका छन् गोकर्ण विष्ट र योगेश भट्टराई । घनश्याम भुसाल, भीम आचार्य र रघु पन्त ओलीको सूचीको बुई चढेर स्थायी समितिमा उक्लेका छन् । कठैबरा विचराहरू । १० बुँदेमा सती जाँदा आज उनीहरू ओलीको तजबिजले दिएको थपनामा बस्न बाध्य छन् ।

ओलीको कृपाबाट पाइएका यी पद पनि उनीहरूका लागि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छो बाबुको अनुहार भएका छन् । यो त एकपाटो मात्र हो, अब चुनावको बेला टिकट नपाएपछि पीडाको अर्को पाटो पनि पूरा हुने छ । अहिले पीडामा छन्, त्यसपछि त त्यो पीडा पनि नीङलो पीडा हुने छ ।

आमसञ्चारमा एउटा बहुचर्चित भनाइ छ, क्रेडिबिलिटी एन्ड भर्जिनिटी आर सेम, बोथ ब्रेक वन्स । आधा अनुहार ओले भैसकेको एमालेमा १० बुँदेहरूको अवस्था पनि त्यस्तै नाजुक भएको छ । बाँकी आधा अनुहार पनि ओले हुँदा यिनीहरूलाई कठैबरा बिचरा भन्ने पनि पाउँन गाह्रो होला । अहिले नै भन्नै धेरै भैसके, दुःख पाइस् मंगले, आफ्नै ढंगले ।

प्रतिक्रिया दिनुहोस्