Logo
Logo

भारतमा कम्युनिष्ट भनिएकाहरुको किन पत्तासाफ भयो ?


- दृष्टि न्युज/संवाददाता


भारतको संसदिय चुनावमा भारतका कम्युनिष्ट भनिएका पार्टीहरुको शर्मनाक पराजय भएको छ । कम्युनिष्ट पार्टीहरु र भारतीय कांग्रेस पार्टीले समेत दक्षिणपन्थी भन्ने गरेको भारतीय जनता पार्टी(भाजपा)ले अहिलेको चुनावमा सुविधाजनक वहुमत सहित विजय हासिल गरेको छ ।

भारतको तीनवटा राज्य —पश्चिम वंगाल, त्रिपुरा, केरलामा कुनै वेला कम्युनिष्ट भनिएका पार्टीहरुको सरकार थियो । पश्चिम वंगालको जनसंख्या नेपालको भन्दा धेरै छ, जहाँ करीव ९ करोड २० लाख भन्दा वढी जनसंख्या छ । त्यहाँ माक्र्सवादी कम्युनिष्ट पार्टी नाम गरेको पार्टीले करीव ३४ वर्ष सम्म सरकार वनायो । तर अहिले पश्चिम वंगालमा एक सिट पनि सो पार्टीले जित्न सकेन । केरलामा गत संसदमा ६ सिट जितेकोमा अहिले १ सिट जितेको छ । त्रिपुरामा गत संसदमा २ सिट जितेकोमा अहिले सून्य भएको छ ।

भारतको पहिलो संसदको चुनावमा कम्युनिष्ट पार्टी सवभन्दा ठुलो प्रतिपक्षी दल थियो । सन् २००४ को संसदमा कम्युनिष्ट नाम गरेको पार्टीहरुको कूल सिट ६४ थियो । अहिलेको चुनावमा ५ सिट मात्रै हुने भएको छ । ५४३ सदश्य हुने संसदमा कम्युनिष्ट भनिएका पार्टीहरुको केवल ५ सिट । अर्थात भारतमा कम्युनिष्ट भनिएका दलहरुको पत्तासाफ भएकोछ ।

भारतमा कम्युनिष्ट भनिएका पार्टीहरुको पराजय किन भयो ? यसको पहिलो कारण कम्युनिष्ट भनिएका पार्टीहरुले कम्युनिष्ट विचार र व्यवहार छोडेर बुर्जुवा वर्ग कै विचार र व्यवहार अपनाउनु हो । जनताले नक्कली बुर्जुवा विचार वोकेको पार्टी भन्दा सक्कली वुर्जुवा वर्गको पार्टी रोजे । कम्युनिष्ट पार्टी भनिएपनि ती पार्टीहरुले वुर्जुवा पार्टीले जतिपनि जनपक्षीय कामहरु गरेर जनताको समर्थन टिकाइ राख्न सकेनन् । कम्युनिष्ट भनिएका नेता कार्यकर्ताहरुले शोषक सामन्त भ्रष्टहरुको समर्थन गर्दै कयौं स्थान र समयमा वहुसंख्यक जनताका विरुद्ध दमनको नीति अपनाए । शोषक सामन्त दलाल भ्रष्टहरुलाइ सजायँ दिनपर्नेमा उल्टै जनतामाथि दमनको नीति अपनाए ।

भारतमा जसरी कम्युनिष्ट पार्टी भनिएकाहरुको पत्तासाफ भएको छ, त्यो वास्तवमा सच्चा कम्युनिष्टहरुको हार थिएन । ती कम्युनिष्ट भनिएका पार्टीहरु वास्तवमा कम्युनिष्ट नाम राखेका वुर्जुवा वर्गमा वर्गपरिवर्तन भैसकेको थियो ।

पश्चिम वंगाल कै कुरा गर्दा चारु मजुमदारको नेतृत्वमा भएको किसान आन्दोलनलाई दवाउने र अनेकौं जनपक्षीय नेताहरुलाइ मार्न लगाउने काममा ती कथित कम्युनिष्ट भनिएका संशोधनवादी पार्टीको ठुलो हात थियो ।

नक्कली कम्युनिष्ट, संशोधनवादी कम्युनिष्टहरुको हार भयो, त्यो ठिक भएको छ । दक्षिणपन्थीहरुको लगातार विजय र संशोधनवादी कम्युनिष्टहरुको हारका विचवाटै क्रान्तिकारी र जनपक्षीय कम्युनिष्टहरुको उत्थानको वाटो खुल्नेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्