Logo
Logo

सामाजिक चेतना र केपीको उदय



नेपाली समाज स्टण्टवाजीमा रमाउने खालको छ । यो इखालु पनि छैन, छिट्टै भुल्छ । पञ्चायतकालका कैयौं राजनीतिक अपराधिहरुलाई हाम्रो समाजले माफ गरिदियो । उनीहरु अझै पनि छेउकुनामा राजनीति गरिरहेका भेट्याउँछौं ।

राजाका बेइमानीहरुलाई नेपाली समाजको एउटा हिस्साले विर्सिसकेको तथ्य त उनका सर्मथकहरुको एउटा सानो डफ्फाले माइतीघर मण्डलामा गर्ने प्रदर्शनले पुष्टि हुन्छ । यो हाम्रो समाजको विशेषता र कमजोरी पनि हो ।

यो तथ्य केपी ओली जस्ता धुर्त नेताले बुझेका छैनन् भन्ने होइन । उनी आफ्ना हितमा जस्तोसुकै कदम पनि निर्धक्क चाल्छन्, लाज मान्दैनन् । किनकी उनी विश्वास गर्छन्, समय कालक्रममा उनका सबै राजनीतिक अपराधहरु नेपाली समाजले बिर्सने छन् ।

तर, हाम्रो समाजको यो विशेषता भनौ वा देखिएको कमजोरी स्वभाविक हो ? निश्चितरुपमा यो प्रवृत्ति समाज विकासको लागि घातक छ । सजाय वा पुरस्कार नपाइने भएपछि मान्छेहरु काम गर्न छोड्छन् ।

समाजले व्यक्ति वा संस्थाका राम्रा वा नराम्रा कामहरुको बहिखाता बनाउनै पर्दछ । सजाय पाउनुपर्ने वा पुरस्कृत हुनुपर्नेहरुलाई एउटै डोकोमा राखियो भने स्टण्टवाजहरु राजनीतिमा हावी हुन्छन । अहिले नेपाली राजनीतिको मुख्य समस्या यहि हो । नेपाली राजनीतिको यो समस्या केपी ओलीहरुका लागि प्राणदायक बुटी भइरहेको छ ।

जुनदिन नेपाली समाजले व्यक्ति वा संस्थाको मुल्याङ्कनमा समय खर्च गर्दछ त्यो दिन हाम्रा वरिपरि कुकुरसँग सुतिरहेको राजकुमारको फोटो बोकेर ‘राजा आउ देश बचाउ’ भन्नेहरु भेटिने छैनन् । त्यतिमात्र होइन, त्यतिखेर लोकतन्त्रको ऐजेरुको रुपमा उदाएका केपीहरु इतिहासको रछ्यानमा मिल्काइने छन् ।

केपीले कम्युनिष्ट आन्दोलनको समग्र एकतालाई भत्काएका मात्र होइनन्, उनले यसको लोकतान्त्रिक चरित्रलाई समेत चकनाचुर पारे । समाज र राज्यको लोकतान्त्रिकरण मात्र होइन, स्वयम् कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण गर्ने जननेता क. मदनको महान सपनाको बर्खिलाप निर्लज्ज उभिँदा पनि ‘केपी बा’ भन्नेहरु अझै बाँकी छन् ।

सामन्तवादको अवशेषहरु प्रणालीमा मात्र होइन, चेतनामा पनि हुन्छ । कम्युनिष्ट पार्टीको झण्डा उचालेर हामी बा ! बा ! भन्दै चिच्याउँछौ भने त्यो कर्कश स्वरले हामीलाई समाजवादतर्फ डोर्‍ययाउँदैन बरु अर्को प्रकारको राजतन्त्र सम्मुख उभ्याउँछ ।

यो हाम्रो समाजिक चरित्रको अध्यारो पक्ष हो । यहि अध्यारो भागमा भल छोपाई गर्न केपिहरु माहिर देखिए । यो छलकपट लामो समय त नचल्ला तर वर्तमानलाई यसले मज्जाले गिजोलिरहेको तथ्य कसरी नजरअन्दाज गर्न सकिन्छ र ? त्यसैभएर एमालेभित्रका क्रान्तिकारीहरुले विद्रोह गर्नुपरेको हो ।

यो विद्रोहलाई नेपाली समाजले स्वीकार गरेन भने के हुन्छ ? स्वभाविक उत्तर छ– नेपालमा कम्युनिष्ट आन्दोलन धेरै पछाडि पर्छ, आन्दोलन पराजित हुन्छ । अरु कैयौंरुपका राजनीतिक स्टण्टबाजहरु जन्मने छन् ।

केपीको स्टण्टलाई अर्को स्टण्टले पराजित त गर्ला तर राजनीतिमा वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक अभियान अवरुद्ध हुनेछ । तसर्थ केपीको पराजयका निम्ति अर्को स्टण्टवाजको प्रतिक्षा गर्ने होइन, नेपाली श्रमजीविहरुको सचेत अभियान संचालन आजको आवश्यकता हो ।

मानिस संसदमा आदर्श मान्छेको खोजी गर्छन् । कहिलेकाहीँ पाउँदैनन् । अनि, संसद र व्यवस्थालाई गाली गर्छन् । यो तरिका गलत छ । जनताको चेतनाअनुसार नै संसद बन्ने हो । संसदमा खराबी छ भने सामाजिक चेतनाको अभियानलाई तीव्र पार्नु पर्छ । केपीले दुईचोटी संसद भंग गरे, फेरि पनि उनी संसदमा सबभन्दा ठूलो नेता भइरहेका छन् ।

पुनःस्थापित संसद चल्न दिएका छैनन् । तर पनि, नारायणी किनारामा मान्छेहरु भेला भएकै छन् । यो विडम्बनापूर्र्ण अवस्थालाई बदल्न सामाजिक चेतनालाई उन्नत पार्नुपर्छ । यो काम राजनीतिक दलको मात्र हो ? होइन । राजनीतिक दलहरुले त आफ्नो काम गर्लान् तर समाजका विभिन्न क्षेत्रमा क्रियाशील सबैको समान दायित्व हो ।

यसो ठानियो र तदनुकुलको सर्वव्यापी अभियान छेडियो भने राजनीतिक फटाहाहरुको मनोवल गिर्नेछ । शासकहरु सर्तक हुनेछन् । सडकको प्वाल टाल्न नसक्नेहरुले रेलको गफ गर्न छोडने छन्, भूपरिवेष्ठित मुलुकमा पानी जहाजको कल्पना गरिने छैन ।

डिजेल पुर्याउन नसक्ने शासकले घरघरमा ग्याँसको गफ हान्ने छैनन् । बालुवाटारको बातानुकूलित कोठामा बसेर पन्द्रसय सडक र पाँचहजार अस्पतालको उद्घाटन हुने छैन । यस्ता बहुलठ्ठीपूर्ण क्रियाकलाप गर्दा शासकहरुले हजार चोटी सोच्ने छन् ।

तसर्थ राजनीतिक दलहरुमा, सरकारमा, संसदमा वा राज्यका अन्य अंगहरुमा देखिएका जुनसुकै समस्या पनि समाधान गर्ने हो भने त्यसकोे समाधान जनताको गाँउवस्तीहरुमा नै खोजिनु पर्दछ । गाउँवस्ती सचेत भयो भने त्यो सचेतनताले जिम्मेवार संसद निर्माण हुन्छ । जिम्वेवार संसदले जवाफदेही सरकार बनाउँछ ।

त्यतिखेर जिम्वेवार सरकार प्रमुखले उखानटुक्का होइन, कार्यक्रम बनाउँछ, लागू गर्छ । समाजको सबै क्षेत्रको विकास गर्छ । जनता सचेत भएन भने हाँस्न र मनोरन्जनका लागि कलाकार होइन, नेता खोज्छ ! काम नगरी नेता भैरहन पाइने हो भने कुनैपनि नेताले काम गर्दैन, उ जनता हसाउँन लाग्छ ।

सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्र फालिए पनि मान्छे को चेतनालाई अवरुद्ध गरिरहेको सामन्तवादको आवशेषिक चेतना पुरै निर्मूल भइसकेको छैन । अनि त खोजि गरिरहिन्छ, ककरको शिरानी लगाएर सुत्ने दव्र्यशनी राजकुमारहरुको !

अनि त खोजिगरिन्छ, राजनीतिक दलहरुमा ‘बा’, ‘आमा’ र ‘काका’हरुको ! सडकमा चिच्याइन्छ, ‘राजा आउ देश बचाउ !’ सडकमा उफ्रिइन्छ, ‘बा आइ लभ यू’ ! यी प्रवृत्ति र सोचहरु लोकतन्त्रका लागि घातक हुन ।

लोकतन्त्र जोगाउने हो भने, कम्युनिष्ट आन्दोलनको विकाश गर्ने हो भने, साच्चै हाम्रो यात्रा समाजवादतर्फ हो भने, हाम्रो दिमागमा रहेको सामन्तवादको अवशेषहरु समाप्त पार्र्नै पर्छ । सामन्तवादको अवशेषहरु प्रणालीमा मात्र होइन, चेतनामा पनि हुन्छ ।

कम्युनिष्ट पार्टीको झण्डा उचालेर हामी बा ! बा ! भन्दै चिच्याउँछौ भने त्यो कर्कशस्वरले हामीलाई समाजवादतर्फ डोर्याउदैन बरु अर्को प्रकारको राजतन्त्र सम्मुख उभ्याउँछ । तसर्थ, सामाजिक चेतना अभिवृद्धिको अभियानमा आजैदेखि जुट्यौ भने ज्ञानेन्द्र शाह मात्र होइन, केपी ओली प्रवृत्तिवाट पनि मुलुकले त्राण पाउँछ । आजको आवश्यकता यो नै हो ।

(लेखक, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्