Logo
Logo

पशुपति क्याम्पसका बिद्यार्थीहरुसँग अन्तरक्रिया


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । पशुपति क्याम्पसमा पत्रकारिता विषय स्नातक तह दोस्रो वर्ष अध्ययनरत विद्यार्थीहरुले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा आयोजित अनौपचारिक अन्तक्र्रियामा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिताको सैद्धान्तिक ज्ञान आर्जन गरी यस क्षेत्रमा प्रवेश गर्दा उत्तम हुने धारणा राख्नुहुँदै पत्रकारितामा आकर्षण र अवसर रहेको, उपर्युक्त वातावरण नहुँदा पेशाबाट पलायन हुने गरेको बताउनुभयो ।

नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको, लेखेबापत् मिडियाको दर्ता खारेज नहुने र जेल जान नपर्ने व्यवस्था भएपनि हाम्रो पेशाको आफ्नै सीमा, आचारसंहिता छन्, यसको उल्लघंन गर्ने र कसैले छि, छ्या भन्ने पत्रकारिता गर्न नहुने, पत्रकारको आईडी देखाएर ठग्ने, गैरकानुनी अपराधिक कार्य गर्न नहुने तर्फ जोड दिनुभयो ।

काउन्सिल बोर्ड सदस्य खिलबहादुर भण्डारीले सबै पेशा व्यवसायमा कमीकमजोरी, वेथिति छन् । पत्रकारिता पढेर रुचिको क्षेत्र बनाउनुभएमा छिटो सफलता मिल्ने उहाँको दाबी थियो । उप प्रशासकीय अधिकृत रामशरण बोहराले बिद्युतीय माध्यम अनलाइन प्रभावकारी रहेको, अनलाइनमा प्रकाशित विषयमा अत्यधिक उजुरी, गुनासो आउने गरेको बताउँदै यसलाई चिर्न काउन्सिलले अभिलेख सिस्टमको विकास गरेको र सोको स्वअनुगमन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यस आ.व.मा हालसम्म स्वअनुगमनबाट ३०९, उजुरी ६४ र जनगुनासो ६ वटा आएकोमा अन्य फछ्र्यौट भइ ५५ वटा कार्वाही प्रक्रियामा रहेको, २ वटा मिडियालाई अवज्ञाकारीको सूचिमा राखिएको बताउनुभयो ।
छापामाध्यम अनुगमन अधिकृत सुरेन्द्र मल्लले छापासम्बन्धी उजुरी, कार्वाही, एबिसीबारे जानकारी गराउनुभयो । पशुपति क्याम्पसका शिक्षक नवराज चालिसेले प्रेस काउन्सिलप्रति आभार व्यक्त गर्नुभयो ।

छात्रा निशा देउजाले पत्रकार बन्नकै लागि आफू जन्मेको, जस्तोसुकै समस्या वा ज्यान मार्ने धम्की आएपनि पत्रकारिता नछाड्ने बताइन् । अर्की छात्रा प्रज्ञा पोखरेलले आफ्नो रुचिको क्षेत्र भएकोले रेडियोमा कार्यरत रहँदै पत्रकारिता पनि अध्ययन गरिरहेको बताइन् । डोटी, रामेछाप, महोत्तरी, हुम्ला, धादिङ, मुगु, सुर्खेत, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, लमजुङ्, दोलखा, काभ्रे, कास्की र नवलपरासीबाट पढ्न आएका ४२ जना विद्यार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्