Logo
Logo

टिकटकले बढाउँदैछ, भिखारी र सेलिब्रेटी !



कहिल्यै भिखारीले जेट र गोल्डेन कार मागेको सुन्नु भएको छ ? यदि, छैन भने तपाईं टिकटक चलाउनु हुन्न भन्ने प्रष्ट हुन्छ । लाग्छ, कुनचाहिँ भिखारीले यस्तो महँगो सामान माग्छ ? तर, भिखारी सेलिब्रेटीले माग्छन् । आखिर त्यो भिखारी सेलिब्रेटी को हो ?

भिखारी सेलिब्रेटीका कुरा गर्नुअघि विज्ञान प्रविधिको विकाससँगै लोकप्रिय बनेको सामाजिक सञ्जालको कुरा गरौँ । अहिले सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ । युवामात्र नभई बालबालिका र प्रौढ अवस्थाका पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् ।

पछिल्लो समय टिकटक लोकप्रिय छ । गुगलप्ले तथा एप स्टोरमा सर्वाधिक डाउनलोड हुनेमा एपमा पर्छ, टिकटक । एप स्टोरमा टिकटक एक अर्बभन्दा बढी पटक डाउनलोड गरिएको छ । नेपालमा समेत टिकटक लोकप्रिय छ ।

नेपालमा लाखौँ मानिसले टिकटक प्रयोग गरिरहेका छन् । यसको प्रयोगकर्ता दैनिक बढिरहेका छन् । नेता, कलाकार, पत्रकार, युवा सबै टिकटकमा झुमिरहेका छन् । सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटकले अहिले घरघरमै कलाकार उत्पादन गर्न थालेका छ !

सुरूमा यसलाई सबैले मनोरञ्जनका रुपमा लिन्थे । तर, अहिले यो आयआर्जनको स्रोत बन्न पुगेको छ । पाँच मिनेटसम्मको भिडियो बनाएर अपलोड गर्न मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ ।

सुरूमा यसमा १५ सेकेन्डको मात्रै भिडियो बनाउन मिल्थ्यो । लोकप्रियता बढेसँगै फिचरहरू थपिँदै गए । अहिले पाँच मिनेटसम्मको भिडियो बनाउन सकिन्छ । त्यसैगरी अहिले लाइभ बस्ने सुविधासमेत छ । निश्चित संख्यामा फ्लोआर भएपछि प्रयोकर्ता टिकटकमा लाइभ बस्ने र गेम खेल्ने सुविधा छ ।

लाइभ बस्नेलाई अरु प्रयोगकर्ताले गिफ्ट दिन मिल्छ । लाइभका बेला अरू प्रयोकर्ताले दिएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ । त्यसैले अहिले यसलाई धेरै प्रयोगकर्ताले आयआर्जको स्रोत बनाउँदै लगेका छन् ।

टिकटकबाट एक–दुई जनाले टन्नै पैसा कमाए भन्ने सुनेर अहिलेका युवापुस्ता त्यसैमा लागिपरेका छन् । टिकटकमा हिट हुने, आफ्नो फ्लोअर बढाउने, लाइभ बस्ने र पैसा कमाउने भोकले धेरैले अनेक हरकत गर्न थालेका छन् । गुणस्तरहीन, अश्लिल पोस्ट गर्ने र लाइभमा अस्वाभाविक गतिविधि गर्नेको संख्या तीव्र रूपमा बढ्दै गएका छन् ।

मगन्ते सेलिब्रेटीको संख्या बढेको छ । यस्ता सेलिब्रेटीका लागि ‘टिकटक’ उपयुक्त माध्यम बन्यो । कतिले प्रतिभा प्रस्फुटनका लागि उपयोग गर्दै आएका छन् । तर, धेरैले चाहिँ माग्नकै लागि टिकटक प्रयोग गर्ने गरेका छन् । मगन्ते सेलिब्रेटीको सूचीमा आफूलाई चल्तिका कालाकार ठान्नेहरुको संख्या धेरै छ ।

‘भाइरल बन्ने मोह’ले धेरैलाई गाँजेको छ । टिकटक प्रयोगकर्ताले अनेक तिकडम गर्न थालेका छन् । अरूको चरित्रहत्या गर्ने, अश्लिल भिडियो बनाउनेको भीड बढ्दै छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई जबर्जस्ती टिकटकमा प्रदेश गराइँदै छ ।

भाइरल हुने चक्करमा जस्तोसुकै जोखिम मोल्नसमेत तयार हुन्छन् । यीमध्ये कसैको मृत्युसमेत भएको पाइन्छ । सेती नदीमा टिकटक बनाउँदा एक युवतीको मृत्यु र दाङका एक युवा झोलुंगे पुलबाट खसेर मृत्यु यसैको उदाहण हुन् ।

टिकटकमा लाइभ बस्नेले पैसा कमाउन थालेको धेरै भएको छैन । केही महिना अघिदेखि मात्रै यसको चर्चा चल्न थालेको हो । अहिले टिकटक लाइभमा बसेर लाखौँ, करोडौं कमाएका हल्लाहरु सुनिन्छ । टिकटक लाइभबाट घर, गाडी र जग्गा किनेँ भनेरसमेत युट्युबमा अन्तवार्ता दिँदै हिँड्ने भेटिन्छन् ।

लाइभ बसेर एकैदिन चार–पाँच लाख कमाइ हुने उनीहरूको दाबी छ । दिनको सात–आठ घन्टा लाइभमा बस्दा महिनामा २५ देखि २६ लाख कमाइ हुने उनीहरूको अन्तर्वार्तामा सुन्न सकिन्छ । उनीहरूलाई सेलिब्रेटी भनेर सम्बोधन गरिन्छ । जसको धेरै फलोअर, उनै ठूलो सेलिब्रेटी ! उनीहरू आफैंलाई सेलिब्रेटी ठान्छन् !

टिकटक स्टार सेलिबे्रटी नै हुन् । मजस्ता एक–दुई जनाले सेलिब्रेटी नमाने पनि लाखौँले मानेका छन् । तर, ती सेलिब्रेटीको सबैभन्दा ठूलो काम हो– टिकटकमा लाइभ बस्ने अनि गिफ्ट माग्ने । उनीहरू कुनै राम्रो काम गरेर सेलिब्रेटी भएका होइनन्, अनेक हर्कत गरेर बनेका हुन् । उनीहरूको मुख्य उद्देश्य भनेको लाइभ बसेर गिफ्ट माग्ने अनि पैसा कमाउने । अर्थात उनीहरू भिखारी सेलिब्रेटी हुन् ।

आफ्नो फलोअर एक हजारभन्दा बढी भएपछि लाइभ बस्न मिल्छ । टिकटक लाइभ हेर्ने दर्शकले इमोजी उडाएर गिफ्ट पठाउन मिल्छ । गिफ्ट पठाउन क्वाइनले किन्नुपर्छ । त्यसपछि गिफ्ट पठाउन सकिन्छ । अरुले पठाएको गिफ्टबापत लाइभ गर्ने ब्यक्तिको खातामा पैसा आइरहेको हुन्छ । त्यसरी लाइभ गर्ने भिखारी सेलिब्रेटी बढ्दै गएका छन् ।

लाइभ बस्ने र गिफ्ट पठाउनेको संख्या धेरै भएपनि नेपालमा भने यो सुविधा छैन । लाइभ बस्ने नेपालीलाई गिफ्ट पठाउने भनेकै बाध्यताले विदेशिएका युवा हुन् । नेपालका लाखौँ युवा विदेशमा छन् । उनीहरूले गिफ्ट पठाउँछन् । त्यसैले टिकटकमा लाइभ गर्नेहरूले घर, गाडी र जग्गा किन्छन् ।

लाइभमा बसेर ‘मेरो मुटु, मेरो धड्कन, मेरो कलेजो’ भनेपछि मनकारी नेपाली दुई, चार डलर गिफ्ट दिन आनकानी गर्दैनन् । चाहे त्यो दाँतबाट पसिना निकालेर कमाएको पैसा होस् या जुवा जितेरै किन नहोस् ।

त्यसैले भन्ने गरिन्छ– ‘धनभन्दा मन ठूलो’ । तर, अर्काको देशमा पसिना बगाएर कमाएको पैसा ‘मेरो मुटु, मेरो धड्कन’ भन्दै दिनेको मनचाहिँ कत्रो होला ? घरमा दमले बुढा बा–आमा बोल्न नसकिरहेको बेला ‘मेरो नाकमा ट्यापट्याप गर्नुहोस्’ भन्नेलाई आफूले पसिनासँग साटेको पैसा पठाउने युवालाई चाहिँ मान्नैपर्छ ।

केही समयअघि धनगढीका अंशु बर्माले टिकटकमा लाइभ बसेर एक करोड रुपैयाँभन्दा बढी कमाएको भन्दै केही युट्युबरलाई अन्तर्वार्ता दिएका थिए । त्यस्तै, काभ्रेकी मन्दिरा ढुंगानाले पनि ‘टिकटक लाइभबाट महिनामा ७०–८० लाख कमाएँ’ भनेर युट्युबरलाई अन्तर्वार्ता दिएकी छिन् ।

बर्माको अन्तर्वार्तापछि धेरै कलाकार लाइभमा बस्न थाले । ठूलो पर्दामा गनिएका कलाकार पनि टिकटक लाइभमा देखिन थालेका छन् । अभिनेत्री वर्षा राउत, कलाकार तथा फिल्म निर्माता जयकिसन बस्नेत, गायिका रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, प्रताप दास, सागर आलेसमेत लाइभमा बस्न थालेका छन् ।

उनीहरूले पनि टिकटकबाट लाखौँ कमाउने गरेको बताउन थालेका छन् । केही समयअघि पुण्य गौतमसमेत पैसाकै लागि दिनरात लाइभमा देखिन्थे ।

टिकटकमा लाइभ बस्नेहरूलाई गिफ्ट दिनु तपाईंको इच्छाको कुरा हो । तर, आफूले विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको डलर केही फलोअर्सको लोभमा गिफ्ट पठाउनु कतिको बुद्धिमानी हो ? त्यो सोच्ने जिम्मा तपाईँ आफ्नै हो । माग्नेहरूलाई पनि लाग्नुपर्ने हो– माग्नु आत्महीन कर्म, स्वाभिमानको अपमान ।

प्रतिक्रिया दिनुहोस्