Logo
Logo

न्यारोबडी खरिदमा एक अर्बको भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा प्रतिस्पर्धाबाट नियुक्त भएका मदन खरेलले किन पदावधि बाँकी छँदै राजीनामा दिएर भागे भन्ने कुराको रहस्य अहिले आएर खुल्दैछ । खरेलले आफ्नो कार्यकालमा दुईवटा एयरबसको न्यारोबडी जहाज किनेर निगमको शाख जोगाउने काम त गरे, तर जहाज आएको केही समयपछि नै उनले राजीनामा किन दिए भन्ने कुरा निगमका कर्मचारीले पनि बुझेका थिएनन् । निगमलाई जहाज किन्न नदिने गिरोहले सुगतरत्न कंशाकरलाई त्यही न्यारोबडीमा अनियमितता ग¥यो भनेर जेल पु¥याए । तर, त्यही अख्तियार खरेलको हकमा भने मौनता साँधेर बस्यो ।

जबकि खरेलले लेखा समिति र अख्तियारलाई पुरानै निर्णयमा टेकेर जहाज खरिद गरेको बताएका थिए । सुगतरत्न कंशाकरको कार्यकालमा एयरबससँग गरिएको सम्झौता बमोजिम खरेलले दुईवटा न्यारोबडी खरिद गरेका हुन् भने सम्झौता गरेकै पुरानो मूल्यमा जहाज किन्नुपथ्र्यो । भन्नलाई पुरानो सम्झौता बमोजिम किने हुँ भन्ने रकम पठाउँदा पुरानो सम्झौताभन्दा १ अर्ब ५० करोड बढी पठाएको कुराको पोल खुल्ला भनेर त्यतिबेला राजीनामा दिएर भूमिगत भएका थिए । तिनै खरेललाई प्रधानमन्त्री ओलीले बोकेर निगमको कार्यकारी पद सुम्पिएका छन् । संसद्को अन्तर्राष्ट्रिय समितिले न्यारोबडीमा भएको भ्रष्टाचार छानबिन गर्दैछ । अब खरेल फेरि जेल जाने डरले राजीनामा दिएर भाग्ने हुन् कि भनेर निगमका कर्मचारीले व्यंग्य गर्न थालेका छन् ।

समाचार स्रोतका अनुसार, न्यारोबडीका विषयमा लेखाले चासो नदिए पनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिलेले पाँच वर्ष पहिले दुईवटा न्यारोबडी विमान खरिदमा भएको अनियमितताका विषयमा छानबिन थालेको छ । यस सम्बन्धमा दृष्टिले पाएको जानकारी अनुसार वर्तमान कार्यकारी अध्यक्ष खरेल त्यसताका महाप्रबन्धक पदमा हुँदा उक्त जहाज खरिद गरिएको थियो । तर, पाँच वर्ष पहिले खरेलले बडो चलाखीपूर्वक २०६५ सालमा सुगतरत्न कंसाकार महाप्रबन्धक पदमा हुँदा गरेको टेण्डरलाई आधार मानेर खरिद प्रक्रिया अघि बढाएको जानकारी सार्वजनिक गरेका थिए । तर अहिले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विस्तृत रुपमा अध्ययन गरेपछि त्यसबेला ठूलो भ्रष्टाचार भएको तथ्य फेला पारेको छ ।

तत्कालीन महाप्रबन्धक कंसाकारको पालामा ६ वटा विमानहरु (दुईवटा वाइडबडी र चारवटा न्यारोबडी) खरिद गर्न नेपाल वायुसेवा निगमले मिति २०६५।१२।२५ मा टेण्डर आह्वानको सूचना जारी गरेको थियो । त्यतिबेला दुईवटा कम्पनी बोइङ र एयरबसले प्रस्ताव पेश गरेको थियो । न्यूनतम मूल्य कबोल गर्ने कम्पनी एयरबसको बोलपत्र मिति २०६६।७।९ मा सञ्चालक समितिले स्वीकृत गरेको थियो । यस खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०६७।९।९ मा विशेष अदालतमा मुद्दा हाले पछि खरिद प्रकृया अवरुद्ध भयो । मिति २०६९।१।१२ मा सर्वोच्च अदालतले उक्त खरिद प्रक्रिया कानूनसम्मत भएको भनी अन्तिम फैसला गरिदियो । त्यसपछि २०७१ सालमा एयरबससँग दुईवटा न्यारोबडी जहाज किन्ने सम्झौता भयो । यसरी २०६५ सालमा टेण्डर आह्वान गरेर ६ वर्षपछि त्यो पनि प्रस्तावित मूल्यभन्दा एक अर्ब ५० करोड बढीमा दुईवटा न्यारोबडी जहाज खरिद गरिएको रहस्य खुलेको छ ।

२०६५।१२।२५ को पुरानो टेण्डर सम्झौता बमोजिम एयरबससँग दुईवटा न्यारोबडी खरिद गरिएको हो भने, त्यतिबेला एयरबसले उल्लेख गरेको रकममा खरिद गरिनुपथ्र्यो । होइन, ६ वर्षपछि उक्त जहाजको मूल्य बढेको हो भने नयाँ टेण्डर आह्वान गरिनुपथ्र्यो । पुरानो सम्झौतामा टेकेर जहाज खरिद गरेको भन्ने, तर त्यतिबेलाको मूल्यभन्दा १ अर्ब ५० करोड रुपैयाँ बढीमा खरिद गरिनुले न्यारोबडी खरिदमा पनि नियम मिचेर भ्रष्टाचार गरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्