Logo
Logo

असक्षम नेकपा सरकार र विद्रोही नेकपाका नयाँ गतिविधि, गृहयुध्द वा वार्ता ?


- दृष्टि न्युज/संवाददाता


नेकपा सरकारका गृहमन्त्रीले नै विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना वनाइसकेको भनेर संसदमा स्वीकार गर्नुले नेपाली राजनीति नयाँ मोडमा पुगेको सन्देश दिएको छ ।

वरिष्ठ जनपक्षीय साहित्यकार तथा पत्रकार कृष्ण सेनको तात्कालिन प्रतित्रियावादी सत्तावाट हिरासत भित्रै भएको हत्याको दिन जेठ १३ गते विप्लव नेतृत्वको नेकपाले नेपाल वन्दको आयोजना गरेको थियो । यस वन्द सफल वनाउन विष्फोटको तयारीमा रहेका ४ जना कार्यकर्ताहरुको अघिल्लो दिन दुर्घटनामा मृत्यु भएको छ । वन्दको सेरोफेरोमा भएका यी राजनैतिक र फौजी प्रकारका घटनाक्रमहरु तथा सरकार स्वयम्ले विद्रोही नेकपाले जनसेना वनाइसकेको स्वीकारोक्तिले नेपालको राजनीतिमा नयाँ मोड आएको स्पष्ट गरेको छ ।

नेकपा सरकारले जनआकांक्षा र आफ्ना विगत प्रतिवद्धताहरु अनुसार कामहरु शुरु गरेको भए अर्को विद्रोह वा आन्दोलनहरुको आवश्यकता त्यतिकै हराउँथ्यो । तर सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव स्वयम्ले जेठ १३ गते भनेका छन्—“कम्युनिष्टको सरकार छ, लुटतन्त्र, भ्रष्टाचार, कमिशनतन्त्र चरम सीमामा छ, यसरी मुलुकले विकास गर्न सक्दैन ।”

नेकपा सरकारका ठुला नेताहरु नै वालुवाटारको सरकारी जमीन वेच्ने किन्ने काण्डमा मुछिएका छन् । भ्रष्टाचारका ठुला काण्डहरु भएका छन् तर सरकारले कुनै ठोस कारवाही गरेको छैन ।

नेकपा सरकारले भएको वजेट र पैसा सम्म पनि खर्च गरेर विकास तीब्र गतिमा गर्न सकेको छैन । विकास वजेटको ४० प्रतिशत पनि दश महिनामा खर्च गर्न केन्द्र सरकार असक्षम रह्यो । प्रदेश सरकारहरुले १२ देखि २५ प्रतिशत मात्रै खर्च गर्न सके । केन्द्र सरकार संग कर्मचारीको कुनै कमी थिएन । पैसा र वजेट भएरपनि विकास खर्च गर्न नसक्ने मन्त्री, सचीव, अन्य कर्मचारी, काम समय मै नगर्ने ठेकेदार आदि कसैलाई पनि कुनै खालको कारवाही प्रधानमन्त्रीले गरेनन् ।

यसवाट नेकपा सरकार जनतामा अलोकप्रीय वन्नेक्रम शुरु भएको छ ।

अर्कोतिर विप्लव नेतृत्वको नेकपाले सशस्त्र गतिविधिहरु शुरु गरेको छ । तर जनप्रीय काम कारवाहीहरु विद्रोही नेकपावाटपनि हुन सकेको छैन । आफ्ना नेता कार्यकर्ताहरुको गिरफ्तारी पछि वन्द गर्ने कार्यक्रम राख्ने निरन्तरता रहेको छ । तर आगामी क्रान्तिको स्वरुप, लक्ष्य, कार्यनीति, रणनीति आदि वारे जनतालाई स्पष्ट पार्ने काम आवश्यकता अनुसार भएको देखिन्न । केवल एक पछि अर्को वन्द कार्यक्रमहरुले गर्दा जनतामा त्रासको वातावरण श्रृजना हुने गरेको छ । जनतालाई विश्वासमा लिने कामहरु यस पार्टीवाटपनि परिस्थितिको आवश्यकता अनुसार हुने गरेको छैन ।

विश्वव्यापी रुपमा क्रान्तिकारी जनपक्षीय कम्युनिष्टहरुको पराजय भएको समयमा तथा संशोधनवादी कम्युनिष्टहरु जनतावाट विस्थापित हुन थालेको समयमा क्रान्तिको आशा र विश्वास लिएर वलिदानको वाटोमा हिंड्न तयार युवाहरुको दस्ता तयार गर्न सक्नु विप्लव नेतृत्वको नेकपाको सफलता हो ।

जनताले भ्रष्टाचारीहरुमाथि कारवाही खोजेका छन्, वारम्वार वन्दको त्रास होइन । देशभक्त जनताले विदेशी दलालहरुमाथि कारवाही खोजेका छन् । जनतामाथि त्रास फैलाएर वन्द गराउने कार्यक्रम होइन , जनता र देशको सम्पतिमा लुट मच्चाइरहेकाहरुमाथि कारवाहीको अपेक्षा गरेका छन् । यस्तो विषयमा विद्रोही नेकपा सचेत हुनुपर्ने वेला आइसकेको छ । जनप्रीय कारवाहीहरुको माध्यमवाट विश्वास जितेर जनता आफैले ब्यापक रुपमा सडकमा ओर्लेर नेपाल वन्द गर्ने परिस्थितिको श्रृजना गरिनु पर्दछ । त्यो नै वास्तविक जनक्रान्तिको शुरुवात हुनेछ ।

नेकपा सरकारले समय मै वार्ताको माध्यमवाट समस्याको हल खोजेन भने देश गृहयुद्धको स्थितिमा जाने सम्भावना वढेको छ । तर सरकारमा रहेका नेताहरुमा अझै वहुमतको अहंकार वाँकि रहेको छ । वहुमतलाई जनताको पक्षमा प्रयोग नगरी आफ्नै स्वार्थमा प्रयोग हुने क्रम मात्र चलिरह्यो भने यसले गम्भीर परिणाम ल्याउनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्