Logo
Logo

परराष्ट्र मन्त्रालयमा भद्रगोल बढ्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । परराष्ट्र मन्त्रालयमा भद्रगोल बढ्दै गएको छ । एकातर्फ समयमा राजदूत नियुक्त हुन नसक्ने समस्या र अर्काेतर्फ परराष्ट्रमा समेत अन्य सेवाका सचिव ल्याउन सक्ने गरी कानुन संशोधनको तयारीले गर्दा यतिबेला परराष्ट्रमा असन्तुष्टि चुलिएको छ ।

हाल सात देशका राजदूत पद रिक्त छन् । गत वर्ष सरकारले कुनै देशमा राजदूत नियुक्त हुनुभन्दा तीन महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाइने उल्लेख थियो । तर, रिक्त भएको महिनौं हुँदा समेत नियुक्ति प्रक्रिया सुरु हुन सकेको छैन ।

नयाँ निजामती सेवा ऐनमा सचिव पदमा क्लस्टरको व्यवस्था हटाउन लागिएको छ । अर्थात् जुनसुकै पृष्ठभूमिका सचिव पनि परराष्ट्र मन्त्रालयमा सरुवा हुन सक्नेछन् । जुन विषयले परराष्ट्र मन्त्रालयमा तरंग उत्पन्न गरेको छ । कूटनीतिबारे केही नजानेको सचिवले परराष्ट्रको नेतृत्व गर्दा समस्या हुनसक्ने र परराष्ट्रका कर्मचारीको करिअरमा समेत असर पर्नसक्ने कतिपयको चिन्ता छ ।

तर, यो व्यवस्थाबाट परराष्ट्रमा बढुवा भने छिटो हुने देखिन्छ । हाल सचिवको बढुवामा परराष्ट्रका सहसचिवहरुको मूल्यांकन हुँदैन । यति क्लस्टर हटेमा परराष्ट्रका सहसचिवहरु आफ्नै मन्त्रालयमा सचिव पद रिक्त नहुँदा पनि बढुवा हुन सक्नेछन् । त्यसकारण कतिपय सहसचिवहरु भने नयाँ प्रावधानको पक्षमै रहेको बताइन्छ । यद्यपि धेरै कर्मचारी परराष्ट्रमा अन्यत्रबाट सचिव ल्याउन नहुने पक्षमा छन् ।

उता राजदूत नियुक्तिको निर्णय समेत समयमा हुन नसक्दा पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आलोचना हुन थालेको छ । हाल अष्ट्रेलिया, दक्षिण कोरिया, कतार, बंगलादेश, स्पेन राजदूतविहीन छन् । चीनको गोन्जावोमा स्थापना भएको महावाणिज्य दूतावासमा अहिलेसम्म सरकारले महावाणिज्यदूत पठाउन सकेको छैन भने बेइजिङस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टर पद एक वर्षदेखि रिक्त छ ।

जग्गा खरिदको विवादमा मुछिएका अमेरिकाका राजदूत अर्जुन कार्कीको कार्यकाल थप गरिएको छ । अर्काे राजदूत नियुक्त नभएसम्मका लागि भनेर उनको कार्यकाल थप गरिएको हो ।

कांग्रेसको पालामा नियुक्त भएका कतिपय राजदूतलाई फिर्ता बोलाइएको छ । जसमध्ये कतिपयले राम्रै काम गरेका थिए । तर, चलखेलकै भरमा कतिपयलाई भने थमौती गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा जापानकी राजदूत प्रतिभा राणालाई फिर्ता बोलाइएको छैन ।

स्रोतका अनुसार राजदून नियुक्तिमा भएको चलखेलकै कारण समयमा प्रक्रिया अघि बढ्न नसकेको हो । राजदूत हुन चाहने कतिपय व्यक्तिहरु पैसा बोकेरै शक्तिकेन्द्र धाइरहेका छन् । केही वर्षअघि राजदूत पद ‘बिक्री’ हुन थालेको छ । सोहीकारण राजदूतहरु अवैध गतिविधिमा संलग्न हुँदा देशकै बदनाम गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्