Logo
Logo

भानुप्रतापको ‘पर्पला’ अष्ट्रेलियामा कस्तो बन्यो ?




काठमाडौं । अस्ट्रेलियामा निर्माण गरिएको नेपाली चलचित्र ‘पर्पला’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

कोभिड १९ को महामारीले विश्व ग्रस्त भएकै अवस्थामा नेपाली सिनेमा निर्माणलाई निरन्तरता दिनुपर्छ भन्ने उद्देश्यसहित सिड्नीमा नेपाली थ्रिलर हरर सिनेमा ‘पर्पला’को निर्माण गरिएको हो ।

अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका घटनाक्रमबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले बताए ।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित ‘पर्पला’को सम्पूर्ण छायाँकन अष्ट्रेलियामै गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रका निर्माता तथा कलाकार भानु प्रतापले भने, ‘पर्पलाको सम्पूर्ण छायाँकन अष्ट्रेलियामै गरिएको हो ।’ उनले अष्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर ‘पर्पला’को निर्माण गरेको बताए ।

चलचित्र ‘लाल्टिन’ निर्माण गरेपछि अस्ट्रेलियामा बसोबास गर्दै आएका भानप्रतापले म्युजिक भिडियो, शर्ट मुभीका साथै नेपाली अष्ट्रेलियामा चलचित्रहरुको प्रदर्शन गर्दै आएका छन् ।

चलचित्र ‘पर्पला’मा मुख्य भूमिकामा पुकार गौतम रहेका छन् । उनी नेपालमा झरना थापासँग ‘झिल्के’ नामक सिनेमा खेलेका थिए भने अष्ट्रेलिया गएपछि ‘ह्याप्पी न्यु इयर’मा अभिनय गरेका थिए । पुकारले ‘पर्पला’मार्फत आफूलाई सिनेमा क्षेत्रमा स्थापित गराउन मद्दत गर्ने विश्वास लिएका छन् ।

पर्पलाको भूमिकामा निखिला बुढाथोकी देखिने भएकी छन् । उनी पेशाले नर्स हुन् । उनी अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा समेत परिचित छन् । विभिन्न इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै म्युजिक भिडियो मोडलिङ गर्दै आएकी निखिला भन्छिन्, ‘यस चलचित्रबाट आशा स्थापित हुनेमा आशावादी छु ।’

यसै चलचित्रमार्फत रोजी पन्तले सह नायिकाको रुपमा डेब्यु गर्दैछिन् । जो १२ बर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी हुन् । यसअघि उनले विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

‘पर्पला’मा अष्ट्रेलियन कलाकार ओल्गा तमराले पनि अभिनय गरेका छन् । उनको फिल्ममा विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।
आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । अस्ट्रेलियन छायाँकार काश्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्