Logo
Logo

सम्पूर्ण आकाशलाई नै मेरा अक्षरहरू समर्पण



आकाश खण्डित छैन हुन पनि सक्दैन, यो शास्वत सत्य हो । आकाशभन्दा फराकिलो कुरा अरु के हुनसक्ला र ! नारीको समानताको कुरा गर्दा अझै पनि कतिले ‘आधा आकाश’ भन्ने गर्छन् । नाम त मान्छेले दिने हो, व्याख्या पनि मान्छेले नै गर्ने हो । मान्छेले आफ्नो दृष्टिअनुसार जीवनको बाटो तय गर्छ । कोही जीवनभर एउटै बाटोमा हिँड्छ– गन्तव्यमा पुर्याउने यही बाटो हो कि हैन भनेर सोध्दै नसोधिकन । कोही भने अर्को बाटो पो छ कि, यो बाटोबाट त अर्कै दिशामा पो पुगिन्छ कि ? भनेर निरन्तर सोधिरहन्छन् । सोचिरहन्छन् ।

जब म किशोरावस्थामा पुगें, मैले पनि आफू हिंड्ने बाटो खोजेँ । ज्ञान अनुभव पुगेको थिएन । त्यो बेला आफूलाई सही लागेको बाटो पकडेँ । जुन बाटोमा आफूले विश्वास गरिएका केही अगुवाहरु हिँडिसकेका थिए । उनीहरुकै पाइला पछ्याएँ । बाटोबारे कुनै प्रश्नै नसोधि यात्रा सुरु भइसकेको थियो । बाटो सामान्य थिएन । सहज थिएन । त्यो बेलाको निम्ति त असहज मात्र हैन, खतरापूर्ण बाटो थियो त्यो । पञ्चायती व्यवस्थाविरुद्ध क्रान्तिकारी बाटो ! तर एउटै कुराले आकर्षण गरेको थियो ‘देश र जनताको हित हुने बाटो यही हो’ भन्ने विश्वास । जनताको सेवा गर्ने उद्देश्य बोकेको बाटो थियो त्यो ।

त्यो बाटो हिँड्दा संसारलाई नै फेर्न सकिन्छ भन्ने लागेको थियो । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकविको पंक्तिले भर्खरै प्रभावित भएको अवस्थामा जस्तोसुकै परिस्थितिमा पनि दुःख सामना गर्दै हिँडिरहने प्रण भित्र मनैबाट गरेकी थिएँ । मार्गचित्र बिनाको भावनाको बाटो थियो, सेवाको बाटो थियो । त्यो नै सत्यको बाटो थियो वा थिएन मलाई थाहा भएन । कहिले साथीहरुसँग हिँडे, कहिले एक्लै–एक्लै पनि । कहिले गाइड भेटिन्थ्ये कहिले आफैले अरु साथीहरुलाई गाइड गर्नुपथ्र्याे । संसार फेर्ने उद्देश्य चानचुने थिएन नै ।

पुरुष र नारी बीचको असमानताको खाडललाई पुरेर समथर बनाउने चाहना– सबै नै स्वतन्त्रताकै सपना रहेछन् । यी सपना मलाई अझै उत्तिकै प्यारा छन् । यिनले मलाई छोडेका छैनन् । मैले यिनलाई छोडेको छैन । मेरो यात्रा जारी छ । त्यसैले त अब पुनः सम्पूर्ण आकाशलाई नै मेरा अक्षरहरु समर्पण गर्दैछु ।

त्यही बाटो हिँड्दाहिँड्दै लेख्न सिकेँ । अरुलाई पनि बिउँझाउँदै हिँड्ने क्रममा बोल्न सिकेँ । कति ठाउँमा पर्खालमा उभिएर भाषण गरेको क्षण पनि सम्झेको छु । अलिकति पाइला खुस्केको भए लड्न सक्थेँ, अपांग पनि हुन सक्थेँ । कति ठाउँमा बोल्दाबोल्दै पुलिसको घेरामा परिसकेको अवस्था र उनीहरुको आँखा छलेर जनताको हातेमालोबाट उम्केको अवस्था पनि सम्झन्छु । उमेरको जोश थियो, उद्देश्यको दम थियो । एकबारको जिन्दगीमा सबैभन्दा उत्कृष्ट बाटोमा समर्पित भएर लागेको ठानेकी थिएँ । मलाई रोक्न सक्ने अर्को शक्ति नै त्यतिबेला नभएको जस्तो लाग्थ्यो ।

आज धैरै पर जीवनको उत्तराद्र्धमा आइपुग्दा ती क्षणहरु आफै नै कथा जस्ता भइसकेका छन् । मैले त्यतिबेला विश्वास गरेका मित्रहरु पनि छरपष्ट कहाँ–कहाँ पुगिसकेका छन् । धन्य यो उमेरसम्म बाँच्न पाएको छु र ती सबै दृश्यहरुलाई चलचित्र हेरेझैं हेर्नसम्म पाएको छु । यो त संसार हो, खण्डित छ । आफू सँगसँगै पाइला चाल्ने अनेक साथीहरु कोही नेता भए, मन्त्री भए, प्रधानमन्त्री र राष्ट्रपतिसम्म भए । परिवर्तन त ठूलै भइसकेको छ । देशको राजनीतिक अवस्थामा पनि ठूलै उथलपुथल आइसकेको कुरा झूठ होइन । यो दृष्टिले हेर्दा यहाँ केही भएकै छैन कसरी भन्न मिल्छ र ! परिवर्तन भएको छ । रातारात करोडपति, अरबपति खरबपति भएको पनि उदाहरणहरु छन् । ती कुनै पनि झूठ होइनन् । सत्य हुन् ।

अरुका सपनाका बारेमा म कुरागर्न सक्दिन । म आफै हिंडेको बाटोबारे मात्र म बोल्न सक्छु, लेख्न सक्छु । मेरो सपना अझै पुरा हुन सकेको छैन । कैयौं कोश हिंडें, कैयौं पल्ट ज्यान फालेर हिंडें, त्याग तपस्या के पुगेन ? मेरो सपना मन्त्री या नेता भएर अरुलाई शासन गरी बस्नु थिएन । त्यसैले त्यो बाटो हिडिएन पनि । मेरो अन्तरमनले चाहेको कुरा थियो– यति सुन्दर देशमा सुन्दर सुशासन होस् र भुईंमान्छेको दयनीय अवस्था समाप्त होस् । सबै हाँसी खुसी भएर बाँचेको देख्न पाइयोस्…।

त्यो सपना त वास्तवमा स्वतन्त्र मान्छेको सपना रहेछ । स्वतन्त्रताकै नारा रहेछ । मातृभूमिलाई कसैको हस्तक्षेपमुक्त बनाउने चाहना, कुनै जातजातिको घेरामा नबसी भेदभावपूर्ण अवस्थाबाट आफू मुक्त हुने र अरुलाई पनि मुक्ति दिलाउने चाहना, पुरुष र नारी बीचको असमानताको खाडललाई पुरेर समथर बनाउने चाहना– सबै नै स्वतन्त्रताकै सपना रहेछन् । यी सपना मलाई अझै उत्तिकै प्यारा छन् । यिनले मलाई छोडेका छैनन् । मैले यिनलाई छोडेको छैन । मेरो यात्रा जारी छ । त्यसैले म एकजना स्वतन्त्र लेखक हुँ । स्वतन्त्रता जति प्रिय शब्द अरु केही छैन मेरो निम्ति ।

मेरो लेखन यही सपनासँग जोडिएको छ । ‘स्वान्त सुखाय’ पनि आफ्नै स्वतन्त्रतासँग जोडिएको कुरा हो । लेखन यात्रा जारी छ, नाम र दामसँग नजोडिए पनि । नाम र दामको निम्ति आफ्नो नैसर्गिक स्वतन्त्रतालाई कहिल्यै बन्दकि राखेको पनि छैन । यो अखण्डित ‘सम्पूर्ण आकाश’ मेरो लागि सधैं प्रिय थियो । त्यसैले यो नामको स्तम्भमा लामो यात्रा गरें । यसैबाट जीवनमा धेरै अनुभव, ज्ञान, मित्रता, प्रेम, सद्भाव र विश्वास पनि प्राप्त गरेको छु । केही समय यता यो नामको स्तम्भमा लेखेको छैन ।

एकदिन एकजना युवा शुभचिन्तक लेखकले मेरो कानैमा भने ‘दिदी तपाईंले किन लेख्न छोड्नु भयो ? तपाईंको सम्पूर्ण आकाशको नियमित पाठक थिएँ र म पनि लेखक भएँ ।’ उनी अहिलेका एक लोकप्रिय र सफल लेखक हुन् । उमेरले कान्छा भए पनि मैले सम्मान गरेको असल मनको मान्छे । उनको मीठो प्रश्नसँगै हामी प्रायः सबैले चिनेका आदरणीय वरिष्ठ लेखक पत्रकार भैरव दाइको एउटा आशिर्वचन पनि प्राप्त गरेँ– ‘नियमित स्तम्भ नछोड्नु है सुलोचना…’ भन्ने । यही कुरालाई शीरोपर गरी अब पुनः सम्पूर्ण आकाशलाई नै मेरा अक्षरहरु समर्पण गर्दैछु । सम्पादकज्यूलाई बचन दिएकी थिएँ यो सन् २०२२ नयाँ वर्षको पहिलो अंकदेखि नै पुनः देखापर्नेछु भनेर । वचन राख्दैछु ।
सबैलाई हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्