Logo
Logo

ओझेल परेका असल योद्धाहरुसँग



गएको हप्ता मेरी आमाको श्रद्धामा एउटा भेटघाटको कार्यक्रम भएको थियो । डेढ–दुई वर्ष अगाडि नै गर्नु पर्ने यो भेटघाट कोरोनाको कारण यतिबेला आएर सम्भव भएको हो ।

यो असजिलो परिस्थितिमा पनि आमालाई प्रत्यक्ष चिनेका र श्रद्धा गर्ने धेरै साथीहरुको उपस्थिति थियो । तीमध्ये केही साथीको त्याग, तपस्या र सक्रियतालाई म कहिल्यै बिर्सिन सक्दिन । ती पुराना सहयात्री र सहयोद्धाहरुसँग भेटघाट हुनु मेरो निम्ति एउटा सुन्दर संयोग थियो ।

उनिहरुले पनि ‘सम्पूर्ण आकाश’ पढ्न भ्याएका रहेछन् । एकछिन अघिल्लो अंकमा छापिएको लेखको पनि चर्चा भयो । केही मित्रले आँखाभरि आँसु पार्दै भने– ‘हामीले नलेखे पनि तिम्रा ती अक्षरहरुले त्यो बेलाको परिस्थितिको सम्झना गरायो’ भनेर ।

ती असल मित्रहरुले अत्यन्त इमान्दार भएर जीवनको अत्यन्तै सुनौला पवित्र क्षणहरु देशको निम्ति समर्पित गरेका थिए । सबैसँग अलिखित सुन्दर इतिहास छ ।

अहिले प्रायः सबैको उमेर ६० नाघिसकेको छ । कतिलाई अनेक रोगले पनि गाँजिसकेको छ । जस्तो परिस्थितिमा पनि मान्छेले आफ्नो पहिलो सपना बिर्सिँदैन रहेछ । ती सपनाकै कुरा एकैछिनको भेटघाटमा सररर आफँै पोखिएसरी आत्मिय रुपमा पोखिए ।

ओमिक्रोनको त्रासबीच पनि समय निकालेर हार्दिकतापूर्वक उपस्थित भइदिएकोमा म पनि एकै छिन भावुक नै भएँ ।

अहिले देखा परेका समस्याले हाम्रो उहिलेको योगदानलाई कदापि व्यर्थ भने बनाउँदैनन् । हामीले जे गर्यौं, त्यसैले गर्दा अहिलेको पुस्ता नयाँ चुनौतीसँग लड्न पाएको छ । अहिलेको पुस्ता पनि उही पुरानो समस्या र चुनौतीसँग लड्न बाध्य भइरहेको भए झन् कति अन्धकार हुन्थ्यो समाज !

ती मित्रहरु नभएको भए आजको यो दिन हेर्न र देख्न अनि भोग्न कहाँ पाइन्थ्यो ? पञ्चायतकालमा कति ठूलो र पाइनसक्नु लाग्थ्यो लोकतन्त्र ! राजाको शासनमा कस्तो ‘असम्भव’ जस्तै लाग्थ्यो गणतन्त्र ! भएपछि पो सस्तो भएको छ ‘लोकतन्त्र’ र गणतन्त्र पनि ! त्यो अवस्थाको कोणबाट अहिलेको पुस्ताले देशको अवस्था देख्न, बुझ्न पाएको छैन ।

उनीहरुले पनि आफ्नै दुःख भोगिरहेका छन् । आफ्नै असन्तोषसँग जुझिरहेका छन् । तर उनिहरुका अहिलेका दुःख र हाम्रा उबेलाका दुःख फरक छन् । उनीहरुका अहिलेका असन्तुष्टि र हाम्रा उबेलाका असन्तुष्टि फरक हुन् । ‘अहिले पनि आन्दोलन गर्नुपर्ने आवश्यकता छ’ भन्दैमा पहिलेका आन्दोलन सबै खेर गए भन्न मिल्दैन ।

त्यो बेला हाम्रो पुस्ताले आन्दोलन नगरेको भए अहिलेको पुस्ताको आन्दोलनमा पुरानै खालको असन्तुष्टीको भारी पनि थपिने थियो । अहिले त राष्ट्रपति, प्रधानमन्त्री, पार्टीका नेता, ठूला हाकिम लगायत सबैखाले ‘शक्तिशाली’ मानिसलाई ‘तिमीप्रति हामी असन्तुष्ट छौँ’ भनेर भन्नसम्म त पाइन्छ ! उहिले कहाँ सम्भव थियो र !

हो, आज शक्ति र पदको झैझगडामा लागेका हिजो असल मानिएका मान्छेहरु रातारात परिवर्तन भएको कुरा पनि देखिरहेका छौं । उहिले अत्यन्त प्रिय लाग्ने, आदर्श लाग्ने गरेका मान्छे आज बदनाम छन् । उबेला अनेक खतरा मोलेर उनीहरुलाई भूमिगतरुपमा घरमा राखेर, जोगाएर, खुवाएर राख्ने जनतालाई बिर्सेर शक्तिमा रमाएका छन्, भ्रष्ट भएका पनि छन् ।

कतिले आफैलाई मार्गदर्शन गराउने असल मान्छेको गुणसमेत त्योबेलाको इतिहासलाई नै बिर्सिदिएका छन् । तर उबेलाका ती र अहिलेका यी एउटै होइन । भावना सोच पनि अवस्थाले उनीहरुलाई बिर्सिन लगायो ।

कुनै बेलाका सम्मानयोग्य र प्रिय मान्छे आफ्नै कर्मले अहिले यस्ता सस्ता भए । तर ‘तिनले हामीलाई बिर्से, हाम्रो योगदानलाई बिर्से’ भनेर दुःख मान्ने हो भने त हामी पनि त्यस्तै भइहाल्यौं नि !

विभिन्न राजनीतिक धारका असंख्य मानिस आत्मबलिदानको भावना लिएर, अनेक दुःख कष्ट बेहोरेर विभिन्न आन्दोलनमा लागेकाले नै हो शताब्दियौँ पछि यति ठूलो परिवर्तन भएको । ती असंख्य असल मानिसहरूको बीचमा आजका यी शक्ति र पैसामा बिकेका नेता त अति अल्पसंख्यक न हुन् ! यिनको नालायकीका कारण त्यति धेरै संख्यामा रहेका जनताको आन्दोलन बेकार भयो भन्न कहाँ मिल्छ ?

नबिर्सिने साथीहरु पनि त छन् नि ! उदाहरणका निम्ति हामी नै होइन र ? हो, हामी पनि परिवर्तन भैसकेका छौं । त्यो बेलाको अनुहार शरीर छैन, व्यवहारै पनि एउटै नहुन सक्छ । बाटाहरु पनि फरक फरक भैसकेको छ । तर आफ्नो इतिहासलाई र आफ्नै असल सपनालाई भुलेका छैनौं नि ! अब त भुल्न पनि सक्तैनौ सायद ।

पक्कै पनि राजनीतिमा असल मान्छे योग्य मान्छे पुग्नु र नपुग्नुले देशमा ठूलो प्रभाव पार्छ । सानै संस्थामा त नेतृत्वमा राम्रो मान्छे हुनु र नहुनुले कति ठूलो असर पर्छ ! राज्यको तहमा त देश र जनजीवनमा नै असर पर्नु स्वाभाविक हो, हामी भोगि नै रहेकाछौं ।

तर यो त अहिलेको समस्या हो– वर्तमानको । अहिले देखा परेका समस्याले हाम्रो उहिलेको योगदानलाई कदापि व्यर्थ भने बनाउँदैनन् । हामीले जे गर्यौं, त्यसैले गर्दा अहिलेको पुस्ता नयाँ चुनौतीसँग लड्न पाएको छ । अहिलेको पुस्ता पनि उही पुरानो समस्या र चुनौतीसँग लड्न बाध्य भइरहेको भए झन् कति अन्धकार हुन्थ्यो समाज !

त्यसैले म साथीहरूसँग अनुरोध गर्छु, हामीले गरेका योगदानको कदर भएन भनेर चित्त नदुखाउँ । कुनै बेलाका आफ्ना केही सहयोद्धा स्वार्थी भए, भ्रष्ट भए, गन्हाए … भनेर चित्त नदुखाउँ । उनीहरुको कर्मको फल त उनिहरूले नै भोग्ने छन्, भोगिरहेकै छन् । तपाईंहामीले उनीहरूका बारेमा यस्तो कुरा गर्नुपर्ने स्थिति आउनु पनि त उनिहरूको निम्ति सजाय नै हो नि !

आफूले गरेका योगदानका बारेमा गर्व गरौँ । आफ्नो पाको उमेरमा बाँकी भएका दिनलाई आफूखुसी जिउने हाम्रो स्वतन्त्रता छ । यी दुर्नाम ‘नेता’ले हाम्रो योगदानको कदर गरेनन् भनेर किन रुने ? तीभन्दा धेरै बढी संख्यामा रहेका हामी त एकअर्कालाई कदर गर्छौँ नि ! मायाँ गर्छौँ, सम्मान गर्छौँ, इतिहास सम्झन्छौँ !

प्रिय मित्रहरू, स्थितिले दिएसम्म भेटघाट गरौँ । महामारीले बाटो छेकेछ भने सामाजिक सञ्जालमा विद्युतीय माध्यमबाटै भैटौँ । प्रेम, आदर, शुभकामना साटौँ । सकिन्छ भने नयाँ पुस्तालाई उनीहरुको जायज काममा साथ दिऔं । सकिँदैन भने जे छ, त्यसमा खुसी हुने प्रयत्न गरौँ । एकार्कालाई सहयोग गरौँ । दुःख सुख बाँडौँ । जनता र साथीहरूको पंक्ति एकाएक छोडेर सत्ताको मातमा रमाएका मानिसको बेवास्ताको छायाँमा बसेर दुःखित नबनौँ । खबरदारी गर्ने त हाम्रो अधिकार हो, गर्दै गरौँ ।
सबको मंगल होस् !

प्रतिक्रिया दिनुहोस्