Logo
Logo

वीर अस्पतालमा यी सामानको मूल्य एक पैसादेखि एक रुपैयाँ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ जेठ ।

अहिलेको बजार भाउअनुसार एक पैसामा कुन सामान आउँछरु यसको सिधा उत्तर हो, केही पनि आउँदैन। तर वीर अस्पतालले सामान खरिद गर्न स्वीकृत गरेको बोलपत्रमा उल्लेख भएको मूल्यसूची हेर्ने हो भने पत्याउनुपर्छ एक पैसामा ह्विलचियर मात्र होइन, अस्पताललाई आवश्यक पर्ने कैयौँ सामान खरिद गर्न सकिन्छ।

अस्पतालले वैधानिक बाटो अपनाएर नै बजार मूल्यभन्दा कैयौँ गुणा कम मूल्यमा सामान तथा खाद्यान्न आपूर्ति गर्ने प्रस्ताव स्वीकृत गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको समाचार गोरखापत्र दैनिकमा छ।

वीर अस्पतालमा खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार र सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन परेको थियो। अस्पतालले माग गरेअनुसारको ई–टेण्डर तोकिएको समयभित्र तीनवटा फर्म न्युआर्के ट्रेडर्स, न्यु सुयोग र महाकाल सप्लायर्सले दर्ता गरेका थिए।

तीमध्ये न्यु सुयोगले खाद्यान्नको प्रमाणपत्र पेस गरेको थिएन भने तीन वर्षको अनुभव प्रमाणपत्र पेस गरेको थिएन। न्यु सुयोगको मूल्य सबैभन्दा कम भए पनि बजारभाउभन्दा अपत्यारिलो छ। चना प्रतिकेजी एक रुपैयाँ, कुखुराको अण्डा प्रतिगोटा एक पैसा, जीरा प्रतिकेजी एक रुपैयाँ चिनी प्रतिकेजी एक रुपैयाँ, ह्विलचियर प्रतिथान एक पैसा, एक्सरे भ्यु बक्स प्रतिथान एक पैसा, तौल मेसिन प्रतिथान एक पैसा मूल्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्