काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले अनधिकृतरुपमा निर्माण गरेको रोयल बगैँचा रेष्टुराँ भत्काउने निर्देशन दिएर चर्चाको शिखरमा पुगेका पर्यटनमन्त्री प्रेम आलेको प्रतिष्ठा र नैतिकतामाथि आँच आउने कामको सुरुवात नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले गरिरहेको निगम कर्मचारी स्रोतले दृष्टिलाई जानकारी गराएको छ ।

तीस वर्ष निगममै जागिरे जीवन बिताएर अवकाश पाएका अधिकारीलाई झलनाथ खनालको सिफारिसमा मन्त्री आलेले निगमको कार्यकारी अध्यक्ष नियुक्त गरे पनि यो तीन महिनामा निगम सुधारको रणनीति बनाउन अधिकारी असक्षम भएका छन् । मन्त्रीको आँखामा छारो हाल्न कान्तिपथस्थित मुख्य कार्यालयमा ‘सोभिनियर सप’ सञ्चालन गर्ने, निगम पुग्न नसकेको गन्तव्यमा ‘कनेन्टिङ फ्लाइट’ गर्ने र नेपाल सरकारका कर्मचारीहरु सरकारी काममा विदेश जाँदा निगमकै जहाजबाट यात्रा गर्नेजस्ता सस्ता कुरामात्र प्रचारमा ल्याएका छन् । ‘कनेन्टिङ फ्लाइट’ पनि आफूनिकट ट्राभल एजेन्टकै रणनीतिअनुरुप अगाडि बढाइएको स्रोतको दाबी छ ।
त्यति मात्र होइन, निगमसँग भएका दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी, दुईवटा ट्वीनअटर जहाजलाई बढीभन्दा बढी घण्टा उडाउने कुनै योजना अधिकारीले अगाडि बढाएका छैनन् । बरु आफूनिकट ट्राभल एजेन्सीहरुसँग भित्री साँठगाँठ गरेर ट्राभल एजेन्टहरुलाई बढी फाइदा हुने कतारलगायतका गन्तव्यमा फ्लाइट संख्या थप्ने योजना बनाएका छन् ।
निगम सूत्रका अनुसार कार्यकारी अध्यक्ष अधिकारीको ध्यान निगमको आन्तरिक सुधार र व्यवस्थापनमा भन्दा बढी कसरी कमाउने भन्नेतिर केन्द्रित भएको छ । त्यसैले उनले दुईवटा एटिआर विमान किन्न सरकारसँग १५ अर्ब रुपैयाँ मागेका छन् । यसैबीच आन्तरिक उडानमा चिनियाँ जहाज एम–१६ उडाउन, त्यसको मर्मतसम्भार गर्न १५ करोड बजेट छुट्याएका छन् । निगमको इन्जिनियरिङ विभागले ५ करोड भए पुग्ने प्रतिवेदन दिए पनि डिएमडी केवी थापालाई बोलाएर कार्यकारी अध्यक्ष अधिकारीले १५ करोडको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।
निगमको कार्यकारी अध्यक्ष अधिकारीको निकम्मापनले दोहामा थन्किएर बसेको न्यारोबडी जहाज पनि समयमै मर्मत हुनसकेको छैन । निगमको जहाज बिग्रिएमा तत्कालै मर्मत गराएर उडाउनुपर्ने दायित्व, जिम्मेवारी र अधिकार कार्यकारी अध्यक्षमा भए पनि सञ्चालक समितिको बैठकले पास गर्नुपर्छ भन्दै एयरबस–३२० जहाज दोहामा अलपत्र पारिएको छ ।
निगम सूत्रका अनुसार निगममा सामान सप्लाई गर्ने कम्पनीहरुको भुक्तानी रोक्न कार्यकारी अध्यक्ष अधिकारीले अर्थ विभाग प्रमुख अनिषा खड्कालाई निर्देशन दिएका छन् । मन्त्रीलाई नसोधी भुक्तानी नदिनु भन्ने आदेश छ भन्दै कार्यकारी अध्यक्ष अधिकारीले निर्देशन दिएपछि कुन–कुन कम्पनीलाई कति–कति भुक्तानी दिनुपर्ने हो त्यसको लिष्ट अर्थ विभागले अध्यक्षलाई बुझाइसकेका छन् । कार्यकारी अध्यक्षले मन्त्रीको नामै लिएर लिष्ट मागेपछि निगम कर्मचारीहरुले मन्त्री आलेको नियतमाथि शंका गर्न थालेका छन् ।
निगमको कार्यकारी अध्यक्ष अधिकारीको निकम्मापनले दोहामा थन्किएर बसेको न्यारोबडी जहाज पनि समयमै मर्मत हुनसकेको छैन । निगमको जहाज बिग्रिएमा तत्कालै मर्मत गराएर उडाउनुपर्ने दायित्व, जिम्मेवारी र अधिकार कार्यकारी अध्यक्षमा भए पनि सञ्चालक समितिको बैठकले पास गर्नुपर्छ भन्दै एयरबस–३२० जहाज दोहामा अलपत्र पारिएको छ । यसबाट निगमलाई करोडौं घाटा भएको छ । जहाज मर्मत गर्न कमिशनका लागि अध्यक्ष अधिकारीले विभिन्न एजेन्टलाई सम्पर्क गरिरहेका छन् ।
निगम कर्मचारीहरुका अनुसार कार्यकारी अध्यक्ष अधिकारीको यस्तै भ्रष्ट नियत र निकम्मा चाल हुने हो भने निगम डुब्ने कुरा त छँदै छ केही गर्छु भन्ने आँट बोकेर आएका मन्त्री आले पनि अध्यक्ष अधिकारीसँगै डुब्ने छन् ।












