Logo
Logo

मन्दिरमा करोडौं भ्रष्टाचार



काठमाडौं । पशुपतिनाथको मन्दिरमा छेउमा रहेको धर्मशालालाई होटल बनाएर व्यापार भइरहेको विषय यतीबेला चर्चामा छ । धर्मशालालाई सस्तोमा लिएर व्यवसायी आनन्दराज बतासले हाल होटल र आफ्नो कार्यालय राखेर चलाइरहेका छन् । हालै पर्यटनमन्त्री प्रेम आलेले यस धर्मशालाको निरीक्षण गरेका छन् । मन्त्री आलेका अनुसार धर्मशालालाई भाडाको होटल बनाउन मिल्दैन ।

बतास ग्रुपले नै टंगालको लक्ष्मी नारायण मन्दिरमा आफ्नो केन्द्रीय कर्पाेरेट कार्यालय राखेको पनि सार्वजनिक भइसकेको छ । राणाहरुको कुलदेउताको मन्दिरलाई लिजमा लिएर उनले कार्यालय राखेका छन् ।

त्यो मन्दिरभित्र डरलाग्दो भ्रष्टाचार रहेको स्थानीय बताउँछन् । भारतीय मुलका पूजारी पुन्यानन्द गिरीले मन्दिरलाई आफ्नो निजी कम्पनी जसरी चलाएका छन् । मन्दिरकी संस्थापक बिद्यादेवी राणाको मृत्युपछि उनै गिरीले केही स्थानीयलाई हातमा लिएर यसमा लुट मच्चाएका हुन् । राणा प्रधानमन्त्री भिमशमशेरको परिवारले सो जग्गा मन्दिरका नाममा दान गरेका थिए ।

मन्दिरको परिसरमा पाँच तले भवन बनाइएको छ । विभिन्न दाताहरुसँग सहयोग मागेर सो भवन बनाउँदा पनि ठूलो अनियमितता भएको स्रोत बताउँछ । संस्थाको जग्गा भएपनि बिना कुनै प्रतिस्पर्धा भवन बनाइको थियो । सामान्यतया मन्दिरमा गजुरभन्दा अग्लो भवन बनाइदैन । तर, मन्दिरलाई ओझेलमा पारी २४ हजार स्क्वायर फिट क्षेत्रफल रहेको भवन बनाइएको छ । त्यही भवन बतास समूहलाई बिना प्रतिस्पर्धा लिजमा दिइएको हो । मन्दिरको खाली जग्गा पनि लिजमा दिइएको छ ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, अख्तियारका पूर्व सचिव भगवती काफ्ले, पूर्व रक्षासचिव चक्रबन्धु अर्याल जस्ता प्रतिष्ठित व्यक्ति यो संस्थामा आबद्ध छन् । तर, उनीहरुकै अगाडी खुलेआम मन्दिरमा भ्रष्टाचार भइरहेको छ ।

संस्थाका कोषाध्यक्ष हरिश्चन्द्र सुवेदी यस्तो अनियमितताका मुख्य डिजाइनर हुन् । उनी लक्ष्मी नारायण मन्दिरकै क्षेत्रमा रहेको अन्य दुई धार्मिक संस्थाका पनि कोषाध्यक्ष छन् । जसका नागपोखरीमा संस्थाको बहुमुल्य जग्गा र सम्पत्ति रहेकोमा त्यसको दुरुपयोग गरी संस्थाका पदाधिकारी कमाउधन्दामा लागेका छन् । यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्