Logo

घुस लिएको आरोप लागेका न्यायाधीश ढकालको नियुक्तिको निर्णय झिकाउन सर्वोच्च अदालतको आदेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १८ जेठ ।

सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले सेवाग्राहीबाट रु १८ लाख घुस लिएको आरोप लागेका न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको हो ।

आदेशमा परिषद्ले विवादमा रहेका न्यायाधीश ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नाका आधार र कारण खुलाउन भनेको छ । परिषद्को यही जेठ १४ गते बसेको बैठकले तत्कालीन जिल्ला न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको थियो । ढकाल जिल्ला न्यायाधीश हुँदादेखि नै सेवाग्रहीबाट घुस लिएको उजुरी न्याय परिषद्मा परेको थियो । तर घुस लिएको भन्ने प्रमाणित भने भएको छैन ।

काभ्रेपलाञ्चोक जिल्लाका उमेश बानियाँले आफूबाट घुस लिएको उल्लेख गर्दै न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि, सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेपछि बानियाँ इजलासमा निवेदन दिएर न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्