Logo
Logo

अझै धेरै गर्न सक्छौं !



यात्राका निम्ति संकल्प त चाहिन्छ नै, त्यसपछि नभइ नहुने कुरा हुन् गन्तव्य, दिशा, बाटो र गति । जिन्दगीको यात्रामा पनि नभइ नहुने कुरा यिनै हुन् । सामान्य यात्रामा जब गन्तव्यमा पुगिन्छ, गति त रोकिन्छ नै, नयाँ यात्रा नथाल्ने हो भने बाटो र दिशाबारे पनि सोँच्नु पर्ने आवश्यकता हुँदैन । तर जिन्दगिको यात्रा त बाँचुन्जेल टुंगिँदैन । कि नयाँ गन्तव्य देखापर्छ र दिशा नै परिवर्तन हुन्छ, कि भने पूर्वनिर्धारित दिशामा नै बढिरहन बाधा पन्छाउँदै नयाँ बाटो बनाउनुपर्ने हुन्छ ।

जिन्दगीको यात्रामा साठीको दशकसमेत पूरा गर्न लागेका हामी पुराना आन्दोलनकारी, सामाजिक अभियन्ता यतिबेला गतिमा नै छौँ कि छैनौँ त ? छौँ भने हाम्रो दिशा कता उन्मुख छ ? अघि बढ्न पुरानै बाटोमा हिँडिरहने हो कि नयाँ बाटो खन्नुपर्ने हो ?

हामीले तय गरेको यात्रालाई फर्केर हेर्ने हो भने आजको समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा त त्यो चाहिँ यात्रा टुंगिइसक्यो भन्नुपर्छ । त्यो बेलाका हाम्रा धेरै सहयात्री र अगुवाहरुले नयाँ यात्रा थालिसकेका छन् । कोही सत्ता राजनीतिको नयाँ यात्रामा छन्, कोही व्यापारमा होलान् । कोही निष्कलंक रहेर आफ्नो कर्म गरिरहेका छन्, कोही अलि फोहर लाग्ने बाटोमा होलान् । यी बाहेक अरुको यात्रा टुंगिएको हो त ? त्यो त हैन, कतिपय पुराना साथीहरु मनको कुरा गर्दा भन्ने गर्नुहुन्छ– ‘अब हामी त के गर्न सक्छौँ र ?’

साँच्चै भन्ने हो भने गर्नु पर्ने त अब पो हो ! हिजो पनि अनेक चुनौती थिए, आज पनि छन् । हिजो पनि सफा गर्नु पर्ने धेरै फोहर थिए समाजमा, राजनीतिमा– आज पनि छन् । केही बढे होलान्, केही घटे होलान्, तर हिजोका चुनौती, हिजोका फोहर, हिजोका दुःख र दुःस्वप्न हिजैका थिए र तीसँग लड्ने मान्छेहरुमा हाम्रो पुस्ताको मुख्य भूमिका थियो ।

कुनै ‘नेता’, कुनै ‘पार्टी’, कुनै गुट–उपगुटको दास नभइकनै हाम्रो पुस्ताले धेरै गर्न सक्छ । बुढो भएको पराजित मानसिकताको बन्धनमा बाँधिएर हैन, आफ्नो समृद्ध अनुभवसँगै पाको हुँदै गएको सोँचलाई उपयोग गरेर बाँकी समय बाँचौ । नबिर्सौ – हाम्रो पुस्ता गज्जबको पुस्ता हो !

आजका चुनौती, आजका दुःख, दुःस्वप्न र फोहरसँग जुझ्ने दायित्व अहिलेको नयाँ पुस्ताको हो । उनीहरुले जति आजको यथार्थ र चुनौतीलाई आत्मसात गर्न हाम्रो पुस्ताले सक्दैन । त्यसैले हामीले गर्ने योगदान पनि फरक हुन्छ, फरक हुनुपर्छ ।

कदापि नबिर्सौं– हामी भाग्यमानी पुस्ता हौं । अनेक देख्यौं, भोग्यौँ । अत्यन्त पिछडिएको बन्द समाजदेखि लिएर आज प्रविधिले जबर्जस्ती ह्वाङ्ग खुला पारिदिएको समाजसम्म भोग्यौँ, अपरिवर्तनीय लाग्ने राजतन्त्र समाप्त भएको देख्यौँ, हाम्रो पुस्ताका किशोरी र युवतीहरुको तुलनामा आजका किशोरी, युवतीको स्थितिमा आकाश जमिनको फरक भैसकेको देख्यौँ र यो परिवर्तनलाई देखेको मात्र होइन, त्यसका निम्ति आफैँ पनि लाग्यौँ । त्यो बेलाका निम्ति कति ठूलो उद्देश्य थियो त्यो !

नयाँ पुस्ताको सोँच र गतिशीलताका निम्ति जग पनि बसालेको हो हाम्रो त्यो पुस्ताले ! त्यो सानोतिनो कुरा हो र ! त्यो त पूरा भयो । तर हामीले चाहे पनि नचाहे पनि अबको यात्रा त फरक हुनु नै छ, हुन्छ । लिनु पर्ने बाटो पनि नयाँ पुस्ताको भन्दा फरक हुन्छ । तर यी दुवै बाटा एउटै दिशामा उन्मुख हुन्छन्– अहिलेभन्दा बढी न्यायपूर्ण, पृथ्वीप्रेमी, बढी सृजनशील मानवसमाजको दिशामा ।

सुन्दा ठूलै लाग्ने यस्तो यात्रामा हिँड्न साठीको दशकमा हिँडिरहेका हाम्रो निम्ति सम्भव होला त ? ‘हाम्रो योगदानको उपलब्धि अरुले नै अपहरण गरिदिए’ भनेर चित्तै दुखाएर मात्र बस्ने हो भने ‘हामी कमजोर छौं’ भन्ने सोँचबाट कहिल्यै मुक्त हुन सकिन्न । ‘त्यो हराभरा सपना जोश जाँगर पनि छैन, त्यो शक्ति पनि छैन, अब त मृत्यु पर्खेर बस्ने त हो नि !’ भनिरहने हो भने त साँच्चै नै केही गर्न सकिन्न । तर यथार्थ त यो हैन नि !

त्यसो भए के गर्न सकिन्छ त ?

सबभन्दा पहिले त ‘हामी अब केही गर्न सक्दैनौँ’ भन्ने पराजयभावलाई मात्र त्याग्न सकेपनि हामीमा सञ्चार हुने थप उर्जाले आफ्नो मात्र हैन, नयाँ पुस्ताको समेत आत्मबल बढ्छ । निराशाबाट निस्किएर स्वस्थ जीवनशैली अपनाउन मात्रै सक्यौँ भने पनि, आफ्नो स्वास्थ्य राम्रो हुन्छ । बुढाबुढी स्वस्थ भएर बाँच्न सक्नु भनेको नयाँ पुस्ताका निम्ति सबभन्दा महत्वपूर्ण उपहार हो । छोराछोरीलाई वा नयाँ पुस्तालाई आफ्नो अस्वस्थताको भार बोकाउनु परेन वा कम मात्र गर्न सकियो भने पनि उनिहरु आफ्ना चुनौतीसँग जुझ्न स्वतन्त्र हुन्छन् । यति मात्रैले पनि हामी सकारात्मक परिवर्तनको दिशामा अप्रत्यक्ष रूपमा सहयोगि र सहभागी भैरहेका हुन्छौँ ।

‘यो त अति आत्मकेन्द्रित सोँच भयो’ भन्ने लाग्छ भने, आफ्नो पुस्तालाई निराश हुनबाट जोगाउँदा मात्रै पनि त्यसको सकारात्मक तरङ्ग जताततै फैलिनसक्छ । आफ्नो पुस्ता झुक्किएर हिँड्न पुगेको गलत नकारात्मक सोँच र आपसी विद्वेषको बाटोबाट नयाँ पुस्तालाई जोगाउन अनि ‘त्यो बाटो यस्तो छ है, होश राख’ भन्न सक्दा पनि उनिहरूको उर्जालाई सही ठाउँमा प्रयोग गर्न सघाउ पुग्छ । आफ्ना अनुभवलाई मात्र कुनै न कुनै रूपमा अभिलिखित गराउन सक्दा पनि नयाँ पुस्ताका निम्ति अत्यन्त महत्वपूर्ण इतिहासको सन्दर्भ सामग्री जुट्न सक्छ । आफ्नै वृद्धावस्थाका चुनौतीको अभिलेख गरिदिँदा नयाँ पुस्ता आफ्नो भविष्यका निम्ति तयार भएर रहन सक्छ ।

यतिले पनि समाजमा योगदान गर्ने आफ्नो चाहना पुरा हुँदैन भने त्यो त झनै राम्रो– पराजयबोध र गलत सोँचबाट मुक्त भएर नयाँ पुस्तालाई सकारात्मक सन्देश दिन, मान्छे हुनुको गरिमा बुझाउँदै पृथ्वी ध्वस्त पार्ने आत्मकेन्द्रित पृथ्वीद्वेषी लोभनिर्देशित बाटोको सट्टा अहिलेभन्दा असल मानिस र अहिलेभन्दा स्वस्थ पृथ्वीको दिशामा बढ्न प्रोत्साहित गर्न, अनि त्यस्ता प्रयासमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी हुन हामीलाई के ले रोक्छ र ? साँच्चैको सामाजिक न्यायपूर्ण उन्नत लोकतन्त्र सहितको समृद्ध समाज बनाउने नयाँ पुस्ताको सपना र संघर्षमा आवाज मिसाउन हाम्रो पुस्तालाई कसले रोक्न सक्छ र ?

कुनै ‘नेता’, कुनै ‘पार्टी’, कुनै गुट–उपगुटको दास नभइकनै हाम्रो पुस्ताले धेरै गर्न सक्छ । बुढो भएको पराजित मानसिकताको बन्धनमा बाँधिएर हैन, आफ्नो समृद्ध अनुभवसँगै पाको हुँदै गएको सोँचलाई उपयोग गरेर बाँकि समय बाँचौ । नबिर्सौ – हाम्रो पुस्ता गज्जबको पुस्ता हो !

प्रतिक्रिया दिनुहोस्