Logo
Logo

‘डम्बर राष्ट्रिय संस्कृति पुरस्कार’ गुरुङलाई


- दृष्टि न्युज/संवाददाता


बागलुङ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा जगमान गुरुङलाई ‘डम्बर संस्कृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । संस्कृति संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले गुरुङलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि रु ७५ हजार छ ।

शनिबार यहाँ आयोजित पुरस्कार समर्पण समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुरुङलाई नगदसहित पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो । मन्दिरका संस्थापक अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा परिवारजन र मन्दिर व्यवस्थापनले स्थापना गरेको पुरस्कार कोषबाट पहिलोपटक गुरुङ पुरस्कृत हुनुभएको हो ।

पुरस्कार ग्रहणपछि गुरुङले कला, संस्कृति र सभ्यताले मुलुक समृद्ध हुने धारणा राख्नुभयो । ‘साहित्य, संस्कृतिको खोज अनुसन्धानमा प्रतिष्ठानले यहाँहरुलाई सघाउँछ’ उहाँले भन्नुभयो, “कार्यक्रम बनाएर आउनुस् ।” बागलुङसहित धवलागिरि क्षेत्रको एतिहासिक महत्व रहेपनि उचित प्रचार र प्रवद्र्धन हुन नसकेको उहाँको भनाइ छ ।

पुरस्कार प्रदान गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले धर्म, संस्कृतिले राष्ट्रियता बलियो हुने धारणा राख्नुभयो । कर्मकाण्डी पूजापाठले मात्रै धर्म नजोगिने भन्दै उहाँले धर्मलाई समाज र जीवनसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । “इतिहासको निरन्तर उत्खननले मात्र धर्म, संस्कारको विकास र रक्षा हुन्छ”, उहाँले भन्नुभयो ।

कला, संस्कृति र धार्मिक क्षेत्रका योगदान पु¥याएका व्यक्तिलाई हरेक दुई÷दुई वर्षमा पुरस्कार प्रदान गरिने मन्दिरका अध्यक्ष रमेशकुमार राजभण्डारीले बताउनुभयो । कोषमा स्व डम्बरबहादुरका परिवारजनको रु सात लाख र समितिले रु पाँच लाख जम्मा रहेको छ । स्व बुबा डम्बरबहादुरले मन्दिर स्थापनामा खेलेको भूमिकालाई चिरस्थायी बनाउन पुरस्कारको कोष स्थापना गरेको बुहारी सोनी श्रेष्ठले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्