Logo
Logo

प्रधानमन्त्रीको जेठ २५ देखि ३२ गतेसम्म युरोप भ्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी दिएका हुन । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस क्रममा प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्ने छन् । जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

जेठ २७ देखि २९ गतेसम्म बेलायतको भ्रमण गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा जेठ २८ गते उहाँले बेलायती प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्