Logo
Logo

विवादितलाई उद्योगको जिम्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । क्रान्तिकारी स्वभावका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको मन्त्रालयले विगतमा भ्रष्टाचारमा मुछिएका र अकूत सम्पत्ति कमाएकाहरुलाई आकर्षक ठाउँमा सरुवा गरेको छ । मन्त्री यादवका पीएहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अनियमिततामा मुछिएर कारबाहीस्वरुप तानिएका उपसचिव विनोद खड्कालाई उद्योग विभागमा सरुवा गरेको छ ।

खड्का विभागको पनि आकर्षक मानिने एकलबिन्दु शाखाको प्रमुख भएका छन् । उनलाई विभागमा सरुवा गर्ने क्रममा विवाद हुँदा मन्त्री यादव कर्मचारी कुटपिटमै उत्रिएका थिए । एकलबिन्दु शाखाबाट उद्योग स्थापनाका लागि विदेशी लगानी स्वीकृत गर्नेदेखि लिएर विदेशीको भिसा सिफारिस गर्ने, भ्याटदर्तादेखि लिएर भविष्यमा फिर्ता लैजानसक्ने जस्ता काम हुनेछन् । यस्तो महत्वपूर्ण शाखामा बदनाम उपसचिवलाई प्रमुख बनाइएको छ । खड्काजस्तालाई एकलबिन्दु शाखाको प्रमुख बनाएपछि विदेशी लगानी गर्न चाहनेहरु पनि हच्किने त होइनन् भन्ने आशंका बढाएको छ । किनकि उनी घुस नदिएसम्म कलम नै नचोप्ने भनेर चिनिएका उपसचिव हुन् ।

खड्का को हुन् ?

रामेछापको बेथानका खड्का नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काका नाताले भाइ हुन् । उनी विगतमा उग्र कांग्रेस समर्थक कर्मचारीका रुपमा चिनिन्थे । कांग्रेस सरकारमा हुँदा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसी सरुवामा रकम कलमको मोलमोलाई गर्थे । स्वास्थ्य मन्त्रालयबाट आयुर्वेद विभागको कर्मचारी प्रशासनमा सरुवा भए । विभागको कर्मचारी प्रशासनमा रहँदा सरुवामा मोलमोलाइ गरी असुल्नुसम्म असुली गरे । उनी सरुवा हुने बेलामा ओएण्डएम सर्भे गरी विभागको कर्मचारी प्रशासन शाखामा उपसचिवको दरबन्दी कायम गरेका थिए ।

आयुर्वेद विभागबाट घुस खाने अड्डा भनेर चिनिएको कम्पनी रजिष्टार कार्यालयमा सरुवा भए । त्यहाँ २ बर्षसम्म घुसको रकम संकलन गरे । कम्पनी रजिष्टारबाट सरुवा हुनासाथ उपसचिवमा बढुवा भएका खड्का सर्लाहीको निमित्त प्रमुख जिल्ला अधिकारी भए । रामेछाप पुख्र्यौली थलो भए पनि खड्का बसाई सराई गरी सर्लाहीमा गएका थिए । उनी सर्लाहीमा निमित्त सीडीओपछि मकवानपुरको सहायक सीडीओ भए । मकवानपुरबाट काठमाडौंको सहायक सीडीओमा सरुवा मिलाए । काठमाडौं जिल्ला प्रशासन कार्यालय आकर्षक मानिन्छ । काठमाडौंको सहायक सीडीओ भएकै बेला आर्थिक लेनदेनमा मुछिएपछि उनलाई गृहमन्त्रालयले तानेको थियो । त्यसपछि उनी एकाएक नेकपाको सदस्यता लिएर उद्योग मन्त्री यादवका निजी सचिवमार्फत् भेटी चढाएर उद्योग विभागमा सरुवा भएका छन् । उद्योग मन्त्रालयमा सरुवाका लागि उनले मन्त्री मातृका यादव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई दबाब दिन नेकपाका ७ जना सांसदकै हुल लिएर जाने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्