Logo

कम्युनिष्ट आन्दोलनलाई ‘मार्केट इकोनोमी’ले पो गाँज्न थाल्यो कि भन्ने चिन्ता छ-लीलामणि पोखरेल


Published On : 4 June, 2019

वामपन्थी आन्दोलनको एउटा योद्धाका रूपमा आफूलाई फर्केर हेर्दा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको पछिल्लो निर्णयलाई कसरी लिनुभएको छ ?

जुन राजनीतिक पृष्ठभूमिबाट हामी हुर्कियौँ, त्यो हुर्काइ र आजको राजनीतिक स्थितिबीच धेरै ठूलो अन्तर छ, पहिलो कुरो त । हिजो पञ्चायतकालीन निरंकुशताभित्र भूमिगत राजनीतिक आन्दोलनको सुरुवात गरेका थियौँ । आज खुल्ला समाज छ, खुल्ला परिवेश छ । हिजो विचार स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता सम्भव थिएन । आज हामीले त्यो प्राप्त गरेका छौँ । तर, हिजो हामीले जे सोचेका हौँ, नेपालको सामाजिक परिवर्तनको आन्दोलन अर्थात् कम्युनिष्ट आन्दोलनको जे आदर्श सोचेर त्यसमा संलग्न भएका थियौँ, आजसम्म आइपुग्दा आदर्श प्राप्तिभन्दा पनि आदर्श स्खलन भएको महसुस भएको छ । हामीले त्यतिबेला धेरै राम्रा राम्रा आदर्शका कुरा सिक्ने गरेका थियौँ । कम्युनिष्ट आन्दोलनभित्र त्यो आदर्श, चरित्र निर्माणको सोच हुन्थ्यो, चिन्तत हुन्थ्यो । अहिले आउँदा धेरै स्खलित भएको महुसुस हुन्छ । फेरि पनि यही आन्दोलनभित्र पनि लामो कठिन संघर्ष गर्नुपर्छ र त्यो विचार, चिन्तन पद्धति, जीवन पद्धतिहरूलाई जे सोचेका थियौँ, त्यो रूपमा ढाल्नका लागि संघर्ष जरुरी छ भन्ने अनुभूति हुन्छ । हिजो अलगअलग समूहहरूमा अलग अलग कार्यप्रणाली, अलगअलग विश्वास, कतिपय राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलन अथवा क्रान्तिसम्बन्धी विश्वास पनि फरक ढंगका थिए । एउटै आन्दोलनभित्र पनि फरकफरक विश्वासबाट अगाडि बढेको अवस्था देखिन्थ्यो । त्यतिबेला अलि बढी सैद्धान्तिक शुद्धताको कुरा पनि हुन्थ्यो । आज सैद्धान्तिक शुद्धताको कुराभन्दा कताकता नेपाली कम्युनिष्ट आन्दोलनलाई ‘मार्केट इकोनोमी’ले पो गाँज्न थाल्यो कि भन्ने चिन्ता हुन थालिरहेको छ ।

लीलामणि पोखरेल, स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

आज सैद्धान्तिक शुद्धताको कुराभन्दा कताकता नेपाली कम्युनिष्ट आन्दोलनलाई ‘मार्केट इकोनोमी’ले पो गाँज्न थाल्यो कि भन्ने चिन्ता हुन थालिरहेको छ । म यतिबेला के महसुस गर्छु भने हामी विचारमा पनि कताकता स्खलित भएर आउँदै पो छौँ कि ? किनभने कम्युनिष्ट आन्दोलनलाई जसरी हेरिन्थ्यो, आज त्यो हेराइमा नै निकै ठूलो परिवर्तन भएको देख्छु ।

यो स्खलन नितान्त व्यक्तिगत आचरणमा रहेको खराबीले आयो वा हामीले अंगिकार गरेको राजनीतिक चिन्तन खराब भएर हो ?

राजनीतिक दर्शन, चिन्तन खराब होइन । कम्युनिष्ट आन्दोलनमा विभिन्न समयमा टुटफुटहरू हुने हुन्छन् । ती टुटफुटका मेजर कारण दुईवटा मानिन्छन् । एउटा, कम्युनिष्ट आन्दोलनको दार्शनिक पक्ष, त्यसको सैद्धान्तिक पक्ष र त्यसका वैचारिक पक्षसँग बेमेल हुनुको कारणले टुटफुट हुन्छ । अर्को, ‘पर्सनालिटी क्ल्यास’ अर्थात व्यक्तित्वको टकराव । व्यक्तिका स्वभाव, कार्यशैली, नेतृत्वप्रतिको लगाव, चाहना आदिका कारणले त्यहाँ टक्करहरू पैदा हुन्थे । यसमध्ये पहिलो कारणलाई अनिवार्य मानिन्थ्यो । किनभने सैद्धान्तिक विवाद आइसकेपछि एकैठाउँ बसेर काम गर्न सक्ने अवस्था आउँदैनथ्यो । सैद्धान्तिक विवाद नहुने तर, पार्टीभित्र सत्ताप्राप्तिको टकरावले विवाद हुने तर त्यसलाई सैद्धान्तिक लेपन गरिदिने पनि देखिन्थ्यो । त्यसले पनि पार्टीमा टुटफुटहरू हुन्थे । म यतिबेला के महसुस गर्छु भने हामी विचारमा पनि कताकता स्खलित भएर आउँदै पो छौँ कि ? किनभने कम्युनिष्ट आन्दोलनलाई जसरी हेरिन्थ्यो, आज त्यो हेराइमा नै निकै ठूलो परिवर्तन भएको देख्छु । यसको तात्पर्य, आन्दोलनलाई जडसुत्रीय ढंगले हेर्नुपर्छ भन्ने पक्षमा म छैन । माक्र्सवाद भनेको जडसुत्रवाद होइन । र, माक्र्सवाद व्यवहारवाद पनि होइन । जे अगाडि आउँछ, त्यही गर्नु माक्र्सवाद होइन । माक्र्सवादले नयाँ आयाम दिने हो । नयाँ परिस्थितिको सिर्जना गर्ने हो । त्यसकारण हामीले माक्र्सवादलाई नयाँ सिर्जनात्मक विज्ञान भनेका हौँ । जडसुत्रीय हिसावले हेरियो भने परिस्थितिमा आएको बदलावलाई ग्रहण गर्न नसक्ने, त्यसलाई माक्र्सवादी शैलीमा ढाल्न नसक्ने, जस्ताको तस्तै पक्रिने प्रवित्तिलाई जडसुत्रीय, जसले माक्र्सवादको सिर्जनात्मक पक्षलाई ग्रहण गर्दैन । अब अर्को पक्ष छ, विश्व परिवेश जसरी आइरहेको छ, त्यही नै माक्र्सवाद हो भनिदिने हो भने त्यो व्यवहारवाद हो । व्यवहारवादी चिन्तनले अति दक्षिणपन्थी दिशामा प्रयोग हुँदै रुपान्तरण हुँदै जान्छ । जडसुत्रवाद के हुन्छ भने कहिले काहीँ अतिवादमा, उग्रवामपन्थी दिशामा जान्छ । तर दुवैको सार सैद्धान्तिकरण गर्दा जडसुत्रवाद अथवा उग्रवामपन्थी दक्षिणपन्थको उद्गमस्थलका रुपमा निम्नपुँजीवादी वैचारिक धरातल भनिन्छ । एउटाले छिटो क्रान्तिको, शुद्धताको कुरा मात्र गर्छ, अर्कोले व्यवहारका नाममा सबैलाई समेटेर जानुपर्छ भनेर कहिल्यै पनि क्रान्तिको अवधारणा अगाडि सार्दैन । तर, दुवैको उद्गम र निष्कर्ष एउटै हुन जान्छ । त्यसैले हामीले माक्र्सवादलाई परिस्थितिले माग गरेअनुसारको सिर्जनात्मक ढंगले लागू गर्ने गर्नुपर्छ ।

तपाईंले ब्याख्या गरेको मान्यतालाई हेर्दा पार्टी एकतापछि हामी कतातिर जाँदैछौँ ?

अलि बढी व्यवहारवादतिर गएको अनुभूति भएको छ । हिजो हामीले निकै टुटफुट ग¥यौँ । कतिपय अवस्थामा सिद्धान्तका लेपन लगाएर पनि एउटा अति क्रान्तिकारी देखिने, अर्को अति दक्षिणपन्थी देखिने र एकअर्कालाई आरोपित गर्ने पनि हामीले ग¥यौँ । तर, परिस्थितिले हामी आफैँले अनुभूति गर्ने एउटा ठाउँमा ल्याइदियो । आन्दोलन भनेको त शुद्धताको आधारबाट हुने होइन रहेछ । एउटाको एउटै मात्र दृष्टिकोण कम्युनिष्ट आन्दोलनभित्र हुँदैन, फरक फरक दृष्टिकोण हुन्छन् । तिनीहरूको अन्तरघुलनबाट नयाँ चिज सिर्जना हुने हो । त्यो हो माक्र्सवादको सिर्जनात्मक रूप । त्यसकारण माक्र्सवादी आन्दोलनभित्र दक्षिणपन्थी अवसरवाद, वामपन्थी अवसरवाद, मध्यमपन्थी चिन्तन, क्रान्तिकारी सिर्जनात्मक माक्र्सवाद सबैका आयाम देखिन्छन् । यसरी सबैका आयाम देखिँदा कतिपय बेला त्यसलाई एउटा व्यवहारिक प्रयोगद्वारा अगाडि लैजाने आँट गर्नुपर्ने हुन्छ । जनयुद्धको पृष्ठभूमिबाट आएको नेकपा माओवादी र जनआन्दोलनको पृष्ठभूमिबाट आएको नेकपा एमाले दुईटालाई केले एकता गरायो त ? हामीले हेर्नुपर्छ । नेताको चाहनाले मात्रै हो कि ? कुनै शक्तिले दबाब दिएर हो कि ? वा कुनै मिसनले मात्रै हो कि ? भनेर यसको सैद्धान्तिक पक्ष केलाउनुपर्छ ।

तपाईको विचारमा दुई पार्टीबीच एकता के ले गरायो ?

सिर्जनात्मकताको निम्ती र अहिले हामीले तत्काल अभ्यास गरिरहेको राजनीतिक परिस्थितिले पनि दुईवटा राजनीतिक पार्टीलाई एकठाउँमा ल्याइदिएको हो । हामीले अभ्यास गरेको जुन राजनीतिक परिस्थिति छ, हामीले युद्ध ग¥यौँ, आन्दोलन ग¥यौँ, राजतन्त्रको अन्त्य ग¥यौँ, गणतन्त्रको स्थापना ग¥यौँ, नयाँ संविधान निर्माण ग¥यौँ, मात्रात्मक रूपले हामीले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन ल्यायौँ । तर, गुणात्मक रूपले वर्गीय सत्ता स्थापना गर्ने कुरामा हामी सफल हुन सकेनौँ । माओवादी जनयुद्धले पनि त्यो ‘क्लाइमेक्स’ प्राप्त गर्न सकेन । जसका काम केन्द्रीय राज्यसत्ता नै कब्जा गरेर नयाँ जनवादी राज्यसत्ता नै स्थापना गर्ने भन्ने हुन्थ्यो नि त्यो सम्भव भएन । संसदीय बाटोबाट रुपान्तरणको जुन कुरा गरियो, त्यो सम्भव थिएन । किनभने हाम्रा वरिपरि वर्गदुश्मनहरू छँदै थिए, अहिले पनि छन् । अन्तर्राष्ट्रिय शक्तिहरू छन् । घरेलु प्रतिक्रियावादी शक्तिहरू छन् । सामन्तवादका अवशेषहरू बाँकी छन् । आन्तरिक रूपमा प्रवेश गरेको दलाल पुँजीपति वर्ग छ । नोकरशाही पुँजीपति वर्ग छ । यसले कम्युनिष्ट आन्दोलनका विरुद्धमा लगातार षड्यन्त्र गरिरहन्छ । त्यसले गर्दा दुई फरक चिन्तन, फरक दृष्टिकोण, फरक कार्यशैली भएका राजनीतिक पार्टीहरूको एकताको तात्कालीक आवश्यकता महसुस हुन पुगेको हो । यसो हेर्दा यो ध्रुवीकरणलाई कतिपय कम्युनिष्ट आन्दोलनभित्रबाट टिप्पणी गर्दा यो दक्षिणपन्थीहरूको ध्रुवीकरण भनिएको होला, म त्यो मान्दछु । किनभने यतिबेलाको अभ्यास राइटिष्ट अभ्यास नै छ । ‘राइट डिभिएटेड’ अभ्यास छ । माक्र्सवाद भनेको सिधा रेखाको अभ्यास मात्र होइन । सधैँ सिधा सरल रेखाबाट मात्र जाँदैन । त्यो तल, माथि, दायाँ, बायाँ, बाङ्गो बाट पनि अगाडि जान्छ । यतिबेला हामीले अलिकति दक्षिणपन्थी दिशा नै पक्रिएका छौँ । तर, यही दिशालाई नै सर्वोपरी हो भनियो भने कम्युनिष्ट आन्दोलन एउटा चरणमा पुगेर दक्षिणपन्थी अवसरवादमा भासियो र सिद्धियो भन्ने बुझ्नुपर्छ । होइन, यो अहिलेको परिस्थितिमा कम्युनिष्ट आन्दोलनले लोकप्रियता प्राप्त गर्नुपर्नुपर्ने जनतामा आधार खडा गर्नका निम्तिी सरकार, सदन, सडक तिनवटै मोर्चालाई सम्हालेर अगाडि बढ्नका निम्ती यसलाई हामीले प्रयोग गरेका हौँ भन्ने हो भने फेरि यहीबाट सिर्जनात्मक ढंगले माक्र्सवादलाई अगाडि बढाएर जान सकिन्छ ।

अहिले नेकपा कतातिर जाने भन्ने अलमलमै देखिन्छ । किनभने वैचारिक बहस भएको देखिँदैन । यो बाटोले सही गन्तव्यमा पु¥याउँछ ?

तपाईंले सही प्रश्न उठाउनुभयो । हामीले वैचारिक बहस नगरेको कम्तीमा पाँच, सात वर्ष भयो । हिजो माओवादी शान्तिप्रक्रियामा आइसकेर सरकार, सदन, सडकको जुन नीति लियो, त्यो लिइसकेपछि पहिलो चरणमा जनविद्रोहलाई लक्ष्यमा राखेर अभ्यास ग¥यौ । अर्थात् जनविद्रोहको कार्यदिशा कार्यान्वयनमा लाग्यो । जनयुद्धको पृष्ठभूमि र त्यसको जगमा निर्माण भएको शक्ति जनविद्रोहद्वारा राज्यसत्ता कब्जा गर्न चाहन्थ्यो । तत्कालीन परिस्थितिमा शक्ति सन्तुलनको अवस्थाका कारण उसको त्यो नीति सफल हुने अवस्था रहेन । सम्भव नभएपछि नयाँ संविधान निर्माण गरेर जनतालाई आधार रूपले सार्वभौमसत्ता सम्पन्न बनाउने र त्यसबाट निर्माण भएको शक्तिलाई लिएर समाजवादी क्रान्ति गर्ने ठाउँमा पुग्यो । आर्थिक सामाजिक रूपले समग्र परिस्थितिमा आएको परिवर्तनले कार्यदिशा नै परिवर्तन गरेर समाजवादी क्रान्ति गर्ने भनेर नयाँ कार्यदिशा बनाउन ऊ बाध्य भयो । त्यसपछि भने त्यसको अभ्यास अलि बढी दक्षिणपन्थी पाटोबाट हुन थाल्यो । अहिले आइपुग्दा मैले सुरुमै भने जस्तो हाम्रा चिन्तन, कार्यशैली, व्यवहारमा दक्षिणपन्थता, हाम्रो स्खलन भइरहेको छ । यसबीचमा हामीले वैचारिक बहस नै गरेका छैनौँ । दुईपार्टीबीच एकता भइसकेपछि पनि बहस भएको छैन । पार्टी एकता किन आवश्यक भयो ? माक्र्सवादको विकासमा सन्दर्भमा यो के कति फलदायी भयो ? भनेर हामीले बहसै गरेका छैनौँ । हिजो फरक फरक राजनीतिक कार्यशैली, सोच, विचार, संगठनात्मक पद्धति, फरक फरक चिन्तनबाट आएका दुई पार्टी अहिले एकठाउँमा छौँ । यस्तो बेला वैचारिक बहसले घुलमिल गराउँछ । वैचारिक बहस नहुँदा तेलपानीको स्थिति बनाउँछ । अहिलेसम्म हेर्दा अन्तरघुलनको अवस्था छैन, तेलपानीको स्थिति देखिन्छ । यो स्थितिमा माओवादीको आन्दोलनभित्र रहेका कति उता गए होला, उताका कति यता आए होला, यो ध्रवीकरण विचारले गर्ने हो । वैचारिक कुरा सुरु भए भने ध्रुवीकरण हुन्छ । भर्खरभर्खर अहिले छुस्सछुस्स सुरु हुन थालेको छ । ईश्वर पोखरेलजीले केही दिनअघि उठाउनुभयो, बहुदलीय जनवादको विषय । केपीजीले पनि बहुदलीय जनवाद नै यतिबेलाको मूल राजनीतकि कार्यदिशा हो भन्नुभयो । ईश्वर पोखरेलले यतिबेला हामी कार्यदिशाविहीन भएका छौँ भन्नुभयो । जवाफमा प्रचण्डजीले किन कार्यदिशाविहीन हुने हामी नयाँ कार्यदिशा, नयाँ सोचका आधारमा आगाडि जाने हो । हिजोकै जडसुत्रीय सोचबाट अगाडि जान हुँदैन भनेर उत्तर दिनुभयो । यस्ता यस्तै छुस्सछुस्स कुरा सुन्न थालिएको छ । ल बहुदलीय जनवाद नै ठीक हो भने यसकारण ठीक हो भनेर बहस सुरु हुनुप¥यो नि । त्यो हुन सकेको छैन । हामी बहस पर्खिरहेका छौँ । पहिले सांगठनिक प्रक्रिया टुंग्याऔँ । त्यसपछि महाधिवेशनलाई लक्षित गरेर राजनीतिक बहस सुरु गरौँ भनेर हामी पर्खिएको हो । त्यसो नगर्दै हामीले बहस सुरु गर्ने हो भने त्यसले ‘पोजिसन’ लिन जान्छ । त्यसले पार्टी संघुलनको अवस्थामा आउन कठिनाइ बनाउँछ । तपाईंले भनेजस्तो ‘जबज’ मान्छन्, मान्दैनन्को सवाल होइन । यो सैद्धान्तिक बहसको विषय हो ।

जनयुद्धको पृष्ठभूमिबाट आएको नेकपा माओवादी र जनआन्दोलनको पृष्ठभूमिबाट आएको नेकपा एमाले दुईटालाई केले एकता गरायो त ? हामीले हेर्नुपर्छ । नेताको चाहनाले मात्रै हो कि ? कुनै शक्तिले दबाब दिएर हो कि ? वा कुनै मिसनले मात्रै हो कि ? भनेर यसको सैद्धान्तिक पक्ष केलाउनुपर्छ ।

नेकपाभित्रका पूर्व माओवादीहरुले ‘जबज’ मान्छन् त ?

माओवादी पृष्ठभूमि भएकाहरूले माओवाद आजको सैद्धान्तिक विकासको क्रममा आएको माक्र्सवाद भनेर मानेको हो । माक्र्सवाद, लेनिनवाद, माओवादी मार्गदर्शक सिद्धान्तका रूपमा मानेको हो । अब एमालेले माओवाद भन्ने दृष्टिकोण र पदावलिलाई अलि पहिले नै छाडिसकेको हो । त्यो चिनियाँ पृष्ठभूमिमा थियो, चिनियाँ भूमिमा मात्रै त्यो कार्यान्वयन भएको हो भन्ने एमालेको भनाइ थियो । माओवादीले त्यो चिनियाँ पृष्ठभूमिमा होइन, संसारभर नै त्यहाँको अन्तरविरोधमा विकसित भएका सिद्धान्तहरूलाई त्यहाँको अन्तरविरोधमा कसरी लागू गरिन्छ भनेर हेरिन्छ, त्यसैले तेस्रो विश्वको क्रान्तिको आधार भनेको चिनियाँ क्रान्तिको एउटा अभिन्न मोडलका रूपमा त्यो बुझिन्छ भनेर माओका योगदानहरू तेस्रो विश्वको क्रान्तिका मूल सैद्धान्तिक प्रस्तावनाहरू हुन् भनेर मानेको स्थिति हो । अहिले सबै स्थगित गरिएका छन् । त्यतिबेला माओवादीले २१औँ सताब्दीको जनवादको कुरा उठाएको थियो । त्यो स्थगित छ । उतापट्टी एमालेले जनताको बहुदलीय जनवाद नै आजको माक्र्सवाद हो भनेर उठाएको थियो । माक्र्सवादलाई जडसुत्रीय ढंगले हेर्न हुँदैन । त्यसकारण युद्धबाट मात्र होइन, जनताको मतबाट पनि समाजवादी राज्यसत्ता स्थापना गर्न सकिन्छ भनेर माक्र्सवादको विकासमा पुँजीपतिसँग पनि प्रतिस्पर्धी ढंगले अगाडि जान सकिन्छ र समाजवादी राज्यसत्ता स्थापना गर्न सकिन्छ भनेर जबजको प्रस्तावना थियो । अहिले त्यो पनि स्थगित गरिएको छ । अहिले जबजको दार्शनिक आधार के हो ? माओवादका दार्शनिक आधार के हो ? भनेर हामीले अहिले बहस नै गरेका छैनौँ । बहसले नयाँ चिजको निकास दिन्छ र त्यही नै यतिबेलाको ध्रुवीकरणको अपेक्षा हो ।

अहिले सुनिएको बहस पार्टीलाई कसरी वैचारिक रूपमा समृद्ध बनाउने भन्दा पनि आगामी एक वर्षभित्र गर्ने भनिएको महाधिवेशन कसरी आफ्नो पक्षमा पार्ने वा नेतृत्वमा कसरी पुग्ने भन्ने स्वार्थ केन्द्रित छ भनियो भने गलत हुन्छ ?

तपाईंले भनेकोमा केही अंश सत्यता छ । किनभने हामी हाम्रै आवश्यकताले यहाँ पुगेका हौँ । दुईवटै पार्टी आआफ्नै ढंगले हिँडेकै थिए । जनमत वामपन्थीहरूको पक्षमा बढी देखिने तर तात्कालीक परिस्थितिमा जनतालाई राहत दिने राज्यसत्ताको उपयोगको सम्बन्धनमा सधैँभरी वामपन्थी पछाडि हुने । किनभने वामपन्थीहरूबीच नै चुनावी प्रतिस्पर्धा हुन्थ्यो । यस्तोमा दक्षिणपन्थी नै अगाडि हुन्थे । राज्यसत्ताको नीति, नियम, योजना, कार्यक्रमहरू बनाउन दक्षिणपन्थीहरू सधैँ हावी भइरहेका हुन्थे किनभने हामी एकआपसमा द्वन्द्व गरेर लडिरहेका पनि हुन्थ्यौँ । हो, त्यो द्वन्द्व यतिबेलाका निम्ती स्थगन गरौँ र एकीकृत भएर जाऔँ भनेर आएको स्थिति हो । यसमा हरेक ढंगले शुद्धताको आधारमा खोज्ने हो भने त्यति उपयुक्त नहोला । किनभने, क्रान्तिकारी आन्दोलनमा कतिपय अवस्थामा शक्तिहरूबीचको समीकरण अलि बेग्लै ढंगले पनि गर्नुपर्ने स्थिति हुनेरहेछ । तर, वैचारिक बहस नभएसम्म पार्टी विकास हुँदैन, बलियो हुन सक्दैन । अहिले हाम्रा संगठनहरू देख्दा कहिले काँही लाज लागेर आउँछ । हाम्रा संगठनहरूमा वैचारिक कुरा हुनै छाडेका छन् । विचारको कुरै गर्न छाडियो, छलफलै हुन छाडियो । चुनावी रणनीतिका कुरा मात्रै हुन थालेका छन् । चुनावी रणनीति भनेको राजनीति भयो । राजनीतिबाट उनीहरू अर्थवादी भएका छन् । विकास निर्माण, त्यसबाट आउने कमिसन, ठेक्कापट्टाले हाम्रो सिंगो संगठनात्मक पद्धति, कार्यकर्ताको चिन्तनमा नै यति विकृति फैलाइदिएको छ, जुन चिन्तले हामीलाई फेरि क्रान्तिकारी बन्न सक्ने हो कि होइन भनेर समस्याको रूपमा खडा भएको छ । माथिदेखि तलसम्म भन्दैछु म । उसले विचारको कुरा गर्दैन । खाली, चुनावी ट्याक्टिसका बारेमा मात्र कुरा गर्छ । त्यो तात्कालीक राजनीति हो । त्यसबाट अगाडि बढिसकेपछि ऊ विकासको नारा मात्रै दिन्छ । विकासको मात्रै । आर्थिक विकास कुन वर्गलाई लक्षित गरेर गरिने हो भन्नेबारे ऊ बहसै गर्दैन । अलि पर पुगेपछि मात्र बल्ल वर्ग लक्षित कुरा आउँछ । त्यहाँ पुगेपछि आत्मसुरक्षा हेर्छ । आर्थिक उपार्जन गरेर जीवन सुरक्षा कसरी गर्ने भनेर सोच्न थाल्छ । त्यहाँभित्र उत्पादनमा लाग भन्ने नारा छ । त्यो नकारात्मक नारा होइन । क्रान्तिको तयारी गर्ने दौरानमा उत्पादनमा लागिएन भने क्रान्तिलाई बचाउन पनि सकिँदैन । अगाडि बढाउन पनि सकिँदैन । त्यसैले मूल कुरो राजनीति हो भनिएको हो । विकास र अर्थनीति मूल कुरो होइन, राजनीतिले नै सबै कमान्ड गर्छ भनिएको हो । अहिले गाउँ सहरमा जानुभयो, निर्वाचित निकाय हेर्नुभयो भने डरलाग्दो भएको छ । भयानक स्थिति छ । निर्वाचित निकायमा गइसकेपछि हाम्रै जनप्रतिनिधिहरू पनि सबैभन्दा पहिले गाडी किनिरहेका छन् । यही व्यवस्थामा कतिपयले आफ्नो पारिश्रमिकसमेत हालेर एम्बुलेन्स खरिद गरेका छन् र जनसेवा गरेका छन् । तर, अधिकांश त गाडी किन्ने, आफ्ना मान्छेलाई ठेक्कापट्टा दिलाउने, डोजर किन्ने, कसिशन खाने यो भयावह अवस्था छ । यसलाई अनुगमन र नियन्त्रण गर्न सकेनौँ र यही अवस्था रह्यो भने हामीलाई दक्षिणपन्थी भासमा पुग्नबाट कसैले रोक्न सक्दैन ।

ल बहुदलीय जनवाद नै ठीक हो भने यसकारण ठीक हो भनेर बहस सुरु हुनुप¥यो नि । त्यो हुन सकेको छैन । हामी बहस पर्खिरहेका छौँ । पहिलो संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि हामीले धरातल छोड्यो । हामीले जनता छाड्यौँ । हामी भ्रष्ट भयौँ । हामी सत्तामुखी भयौँँ जसका कारणले जनता र हाम्रो सम्बन्ध टाढियो, जनताले अर्को निर्वाचनमा हामीलाई दण्ड दियो । भोलि हामीलाई पनि पो दण्ड दिन्छन् कि भनेर अहिले नै सचेत हुनुपर्छ ।

संसारमै कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ । दक्षिणको हालैको लोकसभा निर्वाचनको परिणामले कम्युनिष्टको सफाया नै गर्दियो । यसप्रति यहाँहरू कति सचेत हुनुहुन्छ ?

दुःखका साथ भन्नुपर्छ हामी त्यति सचेत छौँ भन्ने लोगेको छैन । हामी दम्भी हुन थाल्यौँ कि । पहिलो संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि हामीले धरातल छोड्यो । हामीले जनता छाड्यौँ । हामी भ्रष्ट भयौँ । हामी सत्तामुखी भयौँँ जसका कारणले जनता र हाम्रो सम्बन्ध टाढियो, जनताले अर्को निर्वाचनमा हामीलाई दण्ड दियो । भोलि हामीलाई पनि पो दण्ड दिन्छन् कि भनेर अहिले नै सचेत हुनुपर्छ । यसको मतलत सरकार सञ्चालनमा केही हुँदै भएन, केही गरेकै छैन म भन्दिनँ । तर, बजेटको अघिल्लो दिन प्रकाशित आफ्नै वार्षिक प्रतिवेदन र सरकारको दावीबीच फरक देखियो त । त्यसले नियमित सरकारले जे गथ्र्यो, त्यही भइरहेको छ भन्दियो । छलाङ मार्दैछौँ भनेर हामीले दावी गरेका होइनौँ ? खै त छलाङ मारेको ? हामीले नै तयार पारेको प्रतिवेदनले त्यो भनेन । त्यसैले जनताले के भनिरहेका छन् ? हामी कुन अवस्थामा पुग्दैछौँ भन्ने कुरामा सचेत हुनैपर्दछ । त्यो गर्न सकेनौँ भने हामी अचनाक धरासायी भएको महसुस हुन्छ । र, त्यतिबेला सम्हाल्न समय हुँदैन ।

अधिकांश त गाडी किन्ने, आफ्ना मान्छेलाई ठेक्कापट्टा दिलाउने, डोजर किन्ने, कसिशन खाने यो भयावह अवस्था छ । यसलाई अनुगमन र नियन्त्रण गर्न सकेनौँ र यही अवस्था रह्यो भने हामीलाई दक्षिणपन्थी भासमा पुग्नबाट कसैले रोक्न सक्दैन ।

एक वर्ष भयो पार्टी निर्माण भएन । कहाँ अड्कियो ? किन अड्कियो ? पार्टीका नेताहरूले सचिवालयका नेताहरू, मन्त्री भएकाले त राज्यको जिम्मेवारी निभाएका होलान्, त्यसबाहिर रहेकाहरूले खै त पार्टीको सांगठनिक जिम्मेवारी पूरा गरेको ? बल्लबल्ल प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष चुनिएका छन् । त्यो प्रदेशको एकसरो बैठक बसेको होला । तर, जिल्ला कमिटी खै त ? प्रदेशले गर्ने काम जिल्ला भित्र हो नि त ? जिल्ला कमिटी निर्माण भएका छैनन् । तलका गाउँ कमिटी, वाड कमिटी बनेका छैनन् । जसले आजको संरचनाअन्तर्गत सरकारलाई निर्देशन र नियन्त्रण गर्छ ती निकाय छैनन्, जसका कारण सरकारका गएका प्रतिनिधिहरू स्वेच्छाचारी बन्न पुगेका छन् । यो स्थिति हाम्रो दुईतिरको कार्यशैली थियो नि, पार्टी निर्माणको प्रश्न र सरकार, सडक र सदनको प्रश्न संघर्षको प्रश्न हो त्यहाँ चुकिरहेका छौँ । सरकारमा जाने बित्तिकै संघर्ष बन्द हुँदैन । तर, अहिले संघर्षबाट हामी निकै टाढा पुगेका छौँ । यो समस्या हाम्रो निम्ती असाध्यै जटिल समस्या बन्दैछ । मैले आजसम्म यसरी बोलेको थिइनँ । पहिलोेपटक तपाईँको माध्यमबाट बोल्दैछु ।

– प्रस्तुति : छविमरण अधिकारी

प्रतिक्रिया दिनुहोस्